बागमतीको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री बानियाँले भने– बजेट जनमुखी र पारदर्शी हुन्छ – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

बागमतीको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री बानियाँले भने– बजेट जनमुखी र पारदर्शी हुन्छ

मकवानपुर : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू अस्वीकृत भएपछि हिजो मंगलबार सरकारको प्रस्तावित नीति तथा कार्यक्रम पारित भएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म विस्तृत छलफल भएको थियो। छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले आगामी असार १ गते प्रस्तुत हुने बजेट नीति तथा कार्यक्रमकै मार्गदर्शनअनुसार तयार गरिने बताए।

उनले आगामी बजेट समानुपातिक, निष्पक्ष, पारदर्शी तथा जनमुखी हुने दाबी गर्दै प्रदेशका सबै क्षेत्र र समुदायलाई समेट्ने गरी स्रोत–साधनको वितरण गरिने स्पष्ट पारे। प्रदेश सरकारको विकास दृष्टिकोणलाई कार्यान्वयनमा लैजान नीति तथा कार्यक्रम महत्वपूर्ण आधार बन्ने उनको भनाइ थियो।

यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसमाथिको छलफल सोमबारदेखि सुरु भएको थियो।

नीति तथा कार्यक्रममाथि नेकपा (एमाले)का सचेतक रत्नप्रसाद ढकाल, सांसद युवराज चौलागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी घिमिरे तथा नेकपाकी सांसद सुष्मा भुजेलले संशोधन प्रस्ताव दर्ता गरेका थिए। उनीहरूले नीति तथा कार्यक्रमका केही विषय थप परिमार्जन गर्नुपर्ने धारणा राख्दै छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए। तर ती सबै प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भए।

छलफलका क्रममा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रमका केही शीर्षक तथा प्राथमिकतामाथि प्रश्न उठाएका थिए। साथै आगामी बजेट निर्माण गर्दा नीति तथा कार्यक्रममा उल्लेख गरिएका प्रतिबद्धता र प्राथमिकतालाई आधार बनाउन सुझाव दिएका थिए।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। दुई दिनसम्म चलेको छलफलमा दर्जनौं सांसद सहभागी भएका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै अब प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम रूप दिने भएको छ। सरकारले प्रस्तुत गर्ने बजेटमार्फत विकास, पूर्वाधार, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रम कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ।

प्रदेशसभा उपसभामुख अप्सरा चापागाईँले बैठकको कार्यसूची सम्पन्न भएपछि अर्को बैठक जेठ ३१ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरेकी छन्।

सम्बन्धित समाचार

कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
कांग्रेसका सांसददेखि वडासदस्य समेतलाई सदस्यता अद्यावधिक अनिवार्य गर्न तल्लो तहसम्म सर्कुलर
  • २०८३ जेष्ठ २०, १६: १५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...

व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
व्यवसायी भट्ट र अग्रवाललाई आठौं पटक म्याद थप
  • २०८३ जेष्ठ २०, १६: १५

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८३ जेष्ठ २०, १६: १५

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...