बहुमत सरकारबाट अपेक्षा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बहुमत सरकारबाट अपेक्षा

मुलुकले अब बहुमतको सरकार पाएको छ । नयाँ संविधानअनुसार भएको निर्वाचनमा वामगठबन्धनलाई पाँच वटा प्रदेश तथा केन्द्रीय सरकारमा समेत स्पष्ट बहुमत प्राप्त भएको हुँदा विगतमा जस्तो ८÷९ महिने र आलोपालो गरेर बाँडीचुँडी सरकार चलाउने प्रचलनको अन्त हुँदैछ । विगतमा जस्तो एउटा पार्टीले अर्को पार्टीलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्ने दिन ५ वर्ष सम्मलाई टरेको भन्न सकिन्छ । त्यसैले प्रदेशदेखि केन्द्रीय सरकारसम्मको आर्थिक समृद्धिको कुराले सार्थकता पाउनुपर्छ ।

वागठबन्धनले निर्वाचनको समयमा आर्थिक उन्नती र समृद्धिको कुरा गरेर नेपाली जनताको मन जितेर पाएको बहुमतलाई समयमा नै प्रयोग गर्न सके मात्र राजनैतिक स्थायित्व प्राप्त हुन सक्छ । नव नियुक्त प्रधानमन्त्री के.पी शर्मा ओलीले जसरी हिजोका दिन नेपाली जनतामाझ धेरै कुरा गरेका छन्, घरघरमा ग्याँसको पाईप, पानी जहाज, रेलमार्ग, हवाई विकास, यातायात जस्ता कुराको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो अब उनैले पूरा गर्ने समय आएको छ ।

बेरोजगारीको विकराल समस्या, युवा पलायन जस्ता समस्या दिनप्रतिदिन बढ्दो छ । हजारौं युवा शक्ति विदेश पलायन हुन बाध्य छन् । ति युवाशक्तिलाई देश विकासको कार्यमा लगाउन सकेको खण्डमा एउटा बेरोजगारको समस्या हल हुने अर्कोतिर आफ्नै जनशक्तिबाट देश विकास हुने । वर्तमान अवस्थामा खाडी मुलुक र अन्य मुलुकमा गरेर वार्षिक ६० हजारको हाराहारीमा नेपाली युवाशक्ति पलायन भएको अवस्था छ । खाडी मुलुकमा गएका अधिकांश युवाहरु श्रम शोषणको शिकार भएका छन् । अति संवेदनशील र उच्च तापक्रमका कारणले दैनिक जस्तो खाडी मुलुकबाट युवाहरुको लास आउनेक्रम दैनिक जारी छ ।

त्यति हुँदाहुँदै पनि त्यही यूवहरुका विदेशी पैसाबाट आज मुलुकको आर्थिक क्षेत्रलाई ठूलो सहयोग पु¥याइरहेको भएतापनि युवा पलायन रोक्न स्वदेशमै रोजगारीको अवसर दिनु यो सरकारको दायित्व हो । आर्थिक समृद्धि र देश विकासको लागि स्वदेशकै स्रोत र जनशक्ति प्रयोग गर्न यो सरकार अगाडी बढ्नुपर्छ । जम्बोमन्त्री मण्डल बनाउने, देशको ढुकुटी सिध्याउने र भाषणमानै कार्यकर्ता समाप्त हुने अवस्थाको अन्त्य हुने अपेक्षा सरकारसँग गरिएको छ ।

संविधान निर्माण देखि तीन तहको निर्वाचन सम्मसँगै हातेमालो गर्दै हिँडेको राजनैतिक दलहरुसँग सहकार्य र सहमतिलाई पुनः स्थापित गरेर देश विकासमा भए गरेका निर्णय कार्यान्वयन गर्ने र कानुन विपरीत भएका निर्णयहरु छन् भने अवलोकन गरेर अगाडी बढ्नुपर्छ । राजनैतिक प्रतिशोधको आधारमा अघिल्लो सरकारले गरेको निर्णय गलत भएको भन्ने खालको सोंच नयाँ सरकारले राख्नु हुन्न ।

देश बनाउने कुरामा मान्यता प्राप्त सबै राजनैतिक दलहरुलाई सहकार्य र सहमतिमा ल्याउन सकेमा मुलुकको बृहत्तर विकास र आर्थिक उन्नतिको ढोका खुल्न सक्छ । त्यसैले निर्वाचनको बेलामा भएका तितामिठा कुरालाई सत्तामा पुगेपछि बिर्सेर देशको हितको लागि मात्र अघि बढ्न सक्ने हिम्मत सरकारले राख्न सक्नुपर्छ । त्यसैले संविधान निर्माणदेखि तीन तहको निर्वाचनको सफल कार्य गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सधै प्रतिक्षीको आखाँले नहेरी देश विकासको कार्यमा सहयोगी हातको रुपमा साथ लिएर अघि बढ्न जरुरी छ । अब सरकारको मुख्य ध्यान भनेको देश र जनताको समृद्धितिर मात्रै हुनुपर्छ न कि घोचपेच, आरोप प्रत्यारोप ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ फाल्गुन ७, ०६: ४९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ फाल्गुन ७, ०६: ४९

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ फाल्गुन ७, ०६: ४९

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...