साउथ सुडानको जातिय द्धन्द्ध अन्त्यमा नेपाली सेनाको अहम् भूमिका – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

साउथ सुडानको जातिय द्धन्द्ध अन्त्यमा नेपाली सेनाको अहम् भूमिका

दामोदरप्रसाद दवाडी

जुबा (साउन सुडान) । झण्डै ६० वर्षदेखि नेपालबाट विश्वका विभिन्न देशहरुमा नेपाली सेना शान्ति स्थापना गर्नका लागि मिसनमा जाँदै आएका छन् । विश्वभरीनै वीर र अनुशासित नेपाली सेनाको उपाधी पाउन सफल भएको नेपाली सेनाले इतिहाँसबाट वर्तमान समयसम्म निरन्तर आफ्नो इमान्दारी र बहादूरी कायम राख्दै आएको छ ।

अनुशासित नेपाली सेना भएका कारण वार्षिक रुपमा झन्डै ४६०० को हाराहारीमा वर्तमान अवस्थामा पनि शान्ति सेना पठाउन नेपाली सेना सफल रहेको छ । हाल तेस्रो ठूलो संख्यामा नेपाली शान्ति सेना साउथ सुडानमा परिचालित छ । शान्ति स्थापनार्थ नेपाली सेनाको साउथ सुडानको जुबा र रुम्वेकमा गरी फौजी सेना १५०० को हाराहारीमा रहेको छ । यसका अलावा १५० जनाको डफ्फा सहित विषेश फोर्स भनेर जुबाकै दुरुपी वेस्टमा क्याम्प बनाउने कार्य गरिरहेको छ ।

फोर्स रिजर्भ बटालियनको नेतृत्व प्रमुख सेनानी युवधिरमान सिंह अधिकारीले गरीरहेका छन् । यो फोर्सले विषेश काम गर्ने हुँदा संयुक्त राष्ट्रसंघको मिसनमा फोर्सको निकै महत्व रहेको र नेपाली सेनाको इज्जत बढाउने काम भएको प्रमुख सेनानी अधिकारी बताउँछन् । जुबादेखि १९ कि.मि अगाडी रहेको संयुक्त राष्ट्र संघको मुख्य क्याम्पमा ८५० जनाको डफ्फा, होम अफ गोर्खाज स्थापना गरेर नेपाली सेना कार्यरत छन् ।

यहाँस्थित पशुपति प्रसाद गणको गणपति प्रमुख सेनानी डिक बहादुर थापा १३ महिने कार्यकाल सकेर फर्केका कारण उनको ठाउँमा प्रमुख सेनानी उज्वल थापा आएका छन् । प्रमुख सेनानी डिक बहादुर थापा भन्छन् “संयुक्त राष्ट्र संघले दिएको विश्वासलाई आत्मसाथ गर्दै उनीहरुले दिएको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरी फर्कदा खुसी लागेको छ ।”

प्रमुख सेनानी डिक बहादुर थापाको पशुपति प्रसाद गणलाई सिद्धिबक्स गणले रिप्लेस गरेको हुँदा अब त्यहाँको नेतृत्व थापाले गर्ने भएका छन् । त्यसैगरी ७०० जनाको डफ्फा साउथ सुडानको जुबादेखि करिब ५०० किलो मिटर टाढा रुम्बेकमा रहेको छ । रुम्वेकमा रहेको रिपुमर्दन गणको गणपति प्रमुख सेनानी अञ्जन केसर खत्रीले सम्हालिरहेका छन् । यो क्षेत्र गाउँको बीचमा पर्ने भएकोले राजधानी जुबाभन्दा अलि फरक खालको रहेको छ ।

जातीय द्वन्द्व र साउथ सुडान

लामो समय स्वतन्त्रताको लडाई लड्दै आएका सुडानी जनता सन् २०११ मा साउथका जनताले छुट्टै देशको माग गरेका कारण जनमत संग्रहबाट साउथ सुडान भन्ने देशको स्थापना भएको हो । यो विश्वको सबैभन्दा कान्छो देश हो । ९८% जनताको मतदानबाट साउथ सुडान निर्माण भएपश्चात् यो १९३ औं राष्ट्रमा पर्दछ ।
जनमतसंग्रह पश्चात् राष्ट्रपति साल्भाकिर मायारदित र उपराष्ट्रपति रियक मचार निर्वाचित भई राजनैतिक गतिविधि अगाडि बढीरहेको थियो । तर, केही समयको अन्तरालपछि राष्ट्रपति साल्भाकिरले डिङका जातिको नेतृत्व गरे भने उपराष्ट्रपति रियक मचारले नुयर जातिको नेतृत्व लिएका कारण राष्ट्रपति र उपराष्ट्रपति बीच मन मुटाव सुरु भई दुवै जनाले आ–आफ्ना सेना निर्माण गरे । एउटै सत्तामा जातजातिको दुई सेना निर्माण तथा राष्ट्रपति उपराष्ट्रपतिका सेनाबीच झडप हुन थालेपछि द्धन्द्ध सुरु भएको हो । डिङका जातिबाट निर्माण भएको “एसपीएलए” र नुयर जातिबाट निर्माण भएको “एसपीएलए.आई” सेनाबीच पुख्र्यौउली झगडा सुरु भएको हो । राष्ट्रपति साल्भाकिरको सेना डिङका जातिको बाहुल्यता भएका कारण उपराष्ट्रपति रियक मचारलाई राष्ट्रपति साल्भाकिरले देशद्रोहीको आरोप लगाउँदै बर्खास्त गरेपछि साउथ सुडानमा गृहयुद्वले उग्ररुप लिएको थियो ।

उपराष्ट्रपति नुयर जातिको प्रतिनिधित्व गरिरहेका हुनाले उनका सेना “एसपीएलए.आई” युद्वमा होमिए । तत् पश्चात डिङका जातिको बाहुल्यता भएको कारण नुयर जातिको हार हुँदै गयो र उपराष्ट्रपतिको निवास नै रणभूमिमा परिणत भयो । उपराष्ट्रपति मचार भागेर ज्यान जोगाए । अहिले मचार युगान्डामा शरणार्थी भएर बसेका छन् । यसरी दुई समूह बीचको द्धन्द्ध पुख्र्यौली रिसिइवीका कारण भएको हो ।

हाल नुयर जातिको धेरै गतिविधि नभए पनि वेला वेलामा हुने आंतकमा निकै व्यक्तिहरुको ज्यान जाने गरेको छ । दुवै जातिबीच मारकाट हुँदा मर्नु र मार्नु यहाँको जनतालाई नौलो नै हुँदैन । तर सोझासिधा जनता भने निकै आतंकित छन् । मर्ने र मार्ने क्रम रहिरहेको बेला सुडानी जनताको सुरक्षाको लागि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा यूएन मिसन स्थापना गरी २०१३ देखि सुरु भएको गृहयुद्व रोक्न अहिले पनि साउथ सुडानमा १९ राष्ट्रका फौजीसेना र २२ राष्ट्रका सुरक्षा प्रतिनिधि संलग्न रहँदै आएका छन् ।

अन्य देशका भलुन्टर प्रतिनिधिहरु पनि साउथ सुडान पुगेका छन् । संयुक्त राष्ट्रसंघ र साउथ सुडानबीच भएको संझौता पनि बीच बीचमा डिङका समूहका सेनाले उल्लङ्घन गर्ने हुँदा सयौं व्यक्तिको ज्यान गईरहेको छ । डिङका जातिले नुयर जातिलाई मार्ने र मर्ने काम जारी नै छ । नुयरले भेट्टाएमा डिङका जातिलाई मारेर छाड्छ भने डिङका जातिको बाहुल्यता भएको स्थानमा नुयर जातिहरुको वस्ती नै उठिवास लागेको छ । संयुक्त राष्ट्रसंघले स्थापना गरेको यूएन मिसनले हाल दूवै पक्षबीच सहमति कायम गराउने प्रयास गरीरहेको हुँदा साउथ सुडानका सरकारी पक्ष यूएन मिसनसँग बढी आक्रोसित देखिन्छन् ।

सानोतिनो समस्यालाई पनि ठूलो बनाएर मिसनमाथि आइलाग्ने हुँदा यूएन मिसनले निकै अपहेलित रुपमा रुपमा कार्य गरी रहनु परेको छ । त्यसैले साउथ सुडानमा रहेका यूएन मिसनका सेना लगायत अन्य निकै बुद्धिमतापूर्वक जनताको रक्षात्मक कार्यमा लागि परेका छन् । यसमा सबैभन्दा बढी नेपाली सेनको भूमिका रहेको छ । नेपाली सेना अनमिसका अन्य फौजीसेनासँग हातेमालो गर्दै साउथ सुडानी जनतासँग आत्मीयता बढाउन लागि परेको छ ।

नेपाली सेनाले वर्तमान अवस्थामा सुडानी जनतालाई सुरक्षा दिनु, गाईगोरु चोरी गर्नबाट बचाउनु, बन्दुके नीतिलाई न्यून गराउनु, पुरानो रिसिइवी साधेर बस्ने व्यक्तिलाई सम्झाउन सक्नु, राज्यको सिमा विवादलाई न्यूनीकरण गर्न पहल गर्नु, सुख्खायाममा पानीको चरम अभाव हुन नदिनु लगायत कार्यमा तल्लीन भएको हुँदा संयुक्त राष्ट्र संघको टाउको हलुंगो बनाउने काम गर्दै आएको छ ।

साउथ सुडानको राजधानी जुबामा पनि नेपाली सेनाका कमाण्डरहरुको अन्यको भन्दा फरक स्वभाव भएका कारण नेपाली सेनासँग केही मात्रामा सुडानी सेना नरम रहेको पाइन्छ । राजनैतिक अस्थिरताका कारण खाद्य वस्तुको अभाव, इन्धनको अभाव, जनजीवन अस्तव्यस्त, मानवीय व्यवहार दयनीय रहेका कारण साउथ सुडान जाने जो कोहीलाई पनि हैरानी नहुने कुरै भएन ।

कुनै पनि देशको नौलो मान्छे साउथ सुडान पुग्दा त्यहाँको व्यवहारप्रति अच्चमित हुनु स्वभाविक हो । साउथ सुडानमा फोटो खिच्नु भनेको अति दुर्लभ काम हो । सरकारी सेनाले फोटो खिचेको थाहा पाएमा मोबाइल तथा क्यामरा धुलो पारेर लातले हान्ने गर्दछ । गाउँ गाउँमा खानाको अभाव भएका कारण खाद्यान्न पु¥याउने काम निकै जटिल छ । विश्व खाद्य कार्यक्रमले सक्दो मात्रामा खाद्यान्न उपलब्ध गराउँदा पनि खाद्यान्न बाड्ने कार्य निकै जटिल रहेको छ । खाना नपाएमा यूएनमाथि नै ढुंगामुढा गर्ने कार्य गर्छन् सुडानी जनता ।

निकै लामो समय स्वतन्त्रताको लागि लागिरहेका जनता पुन गृहयुद्वमा फसेपछि भौगोलिक अवस्थाको स्थिति निकै दयनीय छ । राजधानी लगायत अन्य हाईंवे सम्पूर्ण रुपमा क्षतविक्षत छन् । उर्वरा खेतीयोग्य जमिनमा पनि घाँस र रुख उम्रेर जंगलमा परिणत भएको छ । खेती गर्ने कार्य सुडानी जनतालाई थाहै छैन । जंगलका घाँस गाईगोरुलाई खुवाएर पशु पाल्ने बाहेक उनीहरुलाई अन्य कार्यनै थाहा नभएको सुडानी जनता बताउँछन् । राजनीतिक अस्थिरताका कारण देशमा भएका प्राकृतिक सम्पदा हिरा, सुनखानी, विश्वको चर्चित लामो नदी लगायतको सदुपयोग हुन सकेको छैन । साउथ सुडानमै रहेको पेट्रोल खानीबाट उत्पादन भएको प्रशोधन नहुँदा नजिकैको देश सुडानबाट प्रशोधन भएर आउने गर्दछ । द्धन्द्धको चपेटामा परेका कारण यहाँका प्राकृतिक स्रोतको अन्य ठूला मुलुकहरुद्धारा दूरुपयोग समेत हुने गरेको छ ।

शान्ति स्थापनामा नेपाली सेनाको भूमिका

साउथ सुडानमा विगत पाँच महिनादेखि हाई रेडिनेस फोर्सको कमान्ड सुरु भएको छ । हाई रेडिनेस फोर्सको कमाण्ड लेफ्टिननेन्ट कर्णेल युवधिरमान सिंह अधिकारीले गरिरहेको छन् । युनाईटेड नेशन्स मिसन इन साउथ सुडान (अनमिस)मा यो विषेश फोर्स हो । यो फोर्सले विषेश गरी वन्दोवस्तीका सरसामग्री लगायत ठूला हतियार सहित सुडानको कुनै पनि भागमा विषेश कार्य गर्न सक्ने फोर्सको रुपमा संयुक्त राष्ट्रसंघको मिसनले विश्वास गरेको फोर्स हो यो ।

यो फौज यूएनले विश्वास गरेको कुरा फोर्स हेडक्वाटर्रमा पब्लिक इन्र्फमेसन अफिसर लेफ्टनीनेन्ट कर्णेल जेरार्ड बताउँछन् । उनी भन्छन्, “यहाँ मात्र हैन सुडानको मिसनमा नेपाली सेनाको भरोसा बढी रहेको र सबैले विश्वास गरेको हामीले महसुस गरेका छौं ।” नेपाली सेनालाई अफ्ठ्यारो स्थानमा पठाउँदा पनि सफल भएको उनी बताउँछन् ।

“कुनैपनि काम फत्ते गरेर आउँछ नेपाली सेना” उनले भने । नेपाली सेनाले अनमिस र सुडानी जनताको मन जित्न सफल रहेको उनी बताउँछन् ।” हाल साउथ सुडानको निकै दुर्गम स्थानमा पनि नेपाली सेनाको उपस्थिती रहेको छ । राजधानी जुबामा मात्र हैन नेपाली सेना साउथ सुडानको रुम्वेक भन्ने स्थानमा पनि निकै प्रंशसनीय बन्न पुगेको छ ।

यहाँ ७०० जनाको फौज तैनाथ छ । ५०० को हाराहारीमा रुम्वेकमा र रुम्वेकदेखि २०० किलो मिटर टाढा अवेक भन्ने स्थानमा १८० जनाको डफ्फाले सुडानी जनतालाई सुरक्षा दिई रहेको छ । रुम्वेकमा रहेको रिपुमर्दनी बटालियनको कमाण्डिङ्ग प्रमुख सेनानी अञ्जन केसर खत्रीले गरीरहेका छन् । रुम्वेक लगायत जुबा अन्तर्राष्ट्रिय विमान स्थलसँगै टङ्गपिङ्ग, वोर लगायत अन्य स्थानहरुमा पनि नेपाली सेनाको टोली खटेर कार्य गरिरहेको छ ।

नेपाली सेनाको मुख्य कार्य भनेकै अनमिसको लागि आएको मुख्य सामग्रीको सुरक्षा दिनु, दुर्गम स्थानमा सुरक्षा दिएर पेट्रोल, डिजेल, हेभी इक्वटमेन्ट लगायत बन्दोवस्तीका सामान सुरक्षित अवतरण गराउनु, सुडानी जनता र अनमिसको बीच सुमधुर सम्बन्ध बनाउनु, लडाई, भैm–झगडाबाट मानविय क्षति हुने हुँदा क्षती रोक्नु लगायत नेपाली सेनाको मुख्य दायित्व हो ।

साउथ सुडानको गृहयुद्वमा जस्तोसुकै अफ्ठ्यारो कार्यको लागि पनि नेपाली सेना तम्तयार हुनुले वीर नेपालीको मान र प्रतिष्ठा दुवै बढेको पाइन्छ । द्धन्द्धग्रस्त क्षेत्रमा आफ्नो ज्यान जोखिममा राखेर शान्ति स्थापना र समन्वय गर्ने नेपाली सेनाको कार्यले सबै नेपालीको गौरव बढाएको छ । साउथ सुडान मात्र होइन हाइटी, लेवनान, कंगो, अफगानिस्तान लगायतका द्धन्द्ध ग्रस्त देशहरुमा नेपाली सेनाले शान्ति स्थापना गर्न अह््म भूमिका निर्वाह गर्दै आएको हो ।
(थप सामग्री अर्काे अंकमा)

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ कार्तिक २८, १०: २५

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ कार्तिक २८, १०: २५

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ कार्तिक २८, १०: २५

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...