संक्रमणकालको अन्त्यका लागि प्रजातान्त्रिक खेलको नियम नै यथेष्ट – Naya Bikalpa
April 18, 2024, Thursday

संक्रमणकालको अन्त्यका लागि प्रजातान्त्रिक खेलको नियम नै यथेष्ट

हरिविनोद अधिकारी

१. नेपाली काँग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचन, पहिलो र दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेको छ । हालसम्मको मतगणनाको परिणामको रुपमा बाम गठबन्धनले अपेक्षित परिणाम प्राप्त गरेको छ र बहुमतको सरकार बनाउनका लागि दुई दलको संयोगले मात्र सम्भव भएको देखिएको छ ।
२.नेपाली काँग्रेस प्रत्यक्ष निर्वाचन भएका १६५ स्थानको प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएको छ । नेकपा एमालेले ८० स्थानमा सफलता प्राप्त गर्दा नेपाली काँग्रेसले मात्र २३स्थानमा जितेको छ जवकि बाम गठबन्धनको अर्को मुख्य दल नेकपा माओबादी केन्द्रले ३६स्थानमा विजय हासिल गरेको छ । पहिलो र दोस्रो दलका रुपमा बामगठबन्धनका मुख्य दलहरु नै देखिएका छन् ।
३.प्रत्यक्ष र समानुपातिकको सम्मिश्रणबाट नै संघीय तल्लो सदन र एक सदनात्मक प्रादेशिक सँसदको गठन हुने हुँदा ४० प्रतिशत समानुपातिक मतका आधारमा प्रतिनिधि सभा र प्रदेश सभामा साँसद संख्या मिलान गरी गणना गरेर मात्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नु पर्ने भएकाले स्वाभाविकरुपमा नै अन्तिम परिणामको प्रतीक्षा गरिएको छ ।
४. हालको समीक्षा संघीय सँसदमा केन्द्रित रहनेछ । यसपटकको निर्वाचनमा १ करोडभन्दा बढी नै मतदान भएको आँकडा देखिन्छ । निर्वाचन आयोगले प्रारम्भिक अवस्थामा १ करोड ५ लाख जत्ति मत खसेको र करिब ६७ प्रतिशत मतदान भएको मानेको थियो । निर्वाचन आयोगले प्रारम्भिक आँकडाको रुपमा गरेको आँकलनलाई सबै मतपत्र गणना भएपछि स्पष्ट संख्या दिनेछ ।
५.सदर मतको ३ प्रतिशत कटाएर र प्रत्यक्षरुपमा १ जना साँसद निर्वाचिन गर्ने दलमध्ये नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सबादी तथा लेनिनवादी(एमाले), नेपाली काँग्रेस(काँग्रेस), नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र, संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी मात्र राष्ट्रिय दलको रुपमा सँसदमा प्रतिनिधित्व गर्ने सम्भावना देखिएको छ । यदि बामगठबन्धन भएमा सँसदमा ४ओटा दलहरुको मात्र गणना हुनेछ । अरु दलहरुको गणना स्वतन्त्र हैसियतमा रहने हुन्छ । अरु दलहरुमा राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र भएता पनि उनीहरुको हैसियत सुविधा नपाउने दलमा गणना हुनेछ ।
६.कुरो अहिले राष्ट्रिय सभाको गठनमा अड्किएको छ । अहिलेको स्थानीय तहको संरचना , प्रादेशिक सँसदको संरचना र सँसदको संरचनालाई दृष्टिगत गर्दा माथिल्लो सदनमा राष्ट्रपतिबाट मनोनीतमध्ये कोही परेमा बाहेक नेपाली काँग्रेसको प्रतिनिधित्व नहुन पनि सक्छ । त्यसैले होला, एकल संक्रमणीय कि बहुमतको निर्वाचन प्रणाली भन्नेमा विवाद भएको छ । सँसद जीवित हुँदै देखिको बहसले अहिले विवादको रुप लिएको छ । अहिले सबैभन्दा ठूलो दलको रुपमा देखिएको एमालेका नेताहरु झन बहुमतीय प्रणालीमा नै जाने, प्रतिनिधि सभाको परिणामका आधारमा सरकार गठन गर्ने अनि राष्ट्रिय सभाको गठन गर्ने भनी अड्डी लिइरहेको अवस्थामा सरकार सँसदको निर्वाचन गर्ने आफ्नो दायित्व भएकाले पूर्ण सँसद दिएरमात्र विदा हुने विचार बाहिर ल्याएको छ । बाम गठबन्धनमध्येको एमालेचाहिँ छिटोभन्दा छिटो सरकार गठन गरेर आप्mनो अवस्था स्थिति मजबुत बनाई विपक्षीलाई तेजोबध गर्ने दाउमा छ भने सरकार बनाउने मतचाहिँ नभएको तर सम्भवतः दोस्रो ठूलो दलको रुपमा तल्लो सदनमा आउने देखिएको काँग्रेसले सबै निर्वाचन सफलताका साथ सम्पन्न गरेकोले बाँकी निर्वाचन पनि आफैँले सम्पन्न गर्न चाहेको बुझ्न सकिन्छ ।
७. किन काँग्रेसको यस्तो अवस्था भयो भनेर अब बिस्तारै समीक्षा पनि होला, बाम गठबन्धनको अवस्था र एमाले माओबादी केन्द्रको एकताको पनि अभ्यास अब बिस्तारै होला तर मुलुकमा देखिएको अन्यौल भने नहट्ने देखिएको छ । संक्रमणकाललाई गाली गलौजमा परिणत गरी राजनीतिक प्रक्रिया एकलौटी तरिकाले अघि बढ्ने अवस्था सृजना भएको छ ।
८. आपसको कटुतालाई ठूलो दलले वृद्धि गर्ने अनि समानुपातिकबाट देखिएको जनमानसको विश्वासका कारणले काँग्रेस पनि नहिच्किचाउने अवस्था देखिएको छ । मुलुक संक्रमणकालको मझधारमा नै रहेको बेलामा आपसमा देखिएको विवादले गर्दा यस्तो निर्वाचन गराउने सरकारलाई बहुमतको नजिक पुगेको दलले धन्यवाद सम्म दिन नसकेको यो अवस्था पक्कै आगामी दिनका लागि शुभ मानिने छैन ।
९.र अन्त्यमा, मुलुक संक्रमणकालबाट बाहिर आएको देखिँदैन । खासगरी जुनसुकै अवस्थामा पनि प्रजातान्त्रिक परिपाटीमा चल्ने सँस्थाको कमजोर दबाबले सत्तामा नराम्रो असर देखिने छ । त्यसलाई सत्तामा नजाँदै धम्कीका भाषा बोल्ने आगामी सरकारका सहयात्रीहरुको बोली र गराइले कस्तो रुप लिने हो भन्ने कुराले मुलुकको प्रजातन्त्रको गति र यतिको निरुपण हुनेछ । हामीले भन्ने के मात्र हो भने सबैले प्रजातान्त्रिक प्रक्रियालाई नछोडून् र खेलको नियमको पालना गरुन् ।

सम्बन्धित समाचार

समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
  • २०७४ पुष ४, ०९: ४९

१. नयाँ वर्ष फेरि सुरु भयो २०८१ । गयो २०८० साल नेपाली पात्रोमा । यस्ता धेरै पात्राका पानाहरु परिवर्तन हुँदै...

राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
  • २०७४ पुष ४, ०९: ४९

१.प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१गते जुन नयाँ गठबन्धनको पुनरावृत्तिगर्नु भएको छ, त्यसको पछिल्तिर जेसुकै कारणहरु भए पनि एउटा कारण दिइएको...

यो पनि नबिर्सौँ कि प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हो
यो पनि नबिर्सौँ कि प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हो
  • २०७४ पुष ४, ०९: ४९

१.पोहोर मंसिर ४ गते भएको निर्वाचन लगत्तै नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र कसले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा...