नेपाली शैक्षिक जगत्मा यादव गिरी सुपरिचित नाम हो । उहाँ अंग्रेजी विषयको प्रखर अध्यापक, कुशल प्रधानाध्यापक तथा लोकप्रिय शिक्षाविद् हुनुहुन्छ । संघर्षमय पृष्ठभूमि र पृथक पहिचानका गिरीले विद्यालयमा अध्यापन थालेदेखि नै देश–विदेशका प्रतिष्पर्धात्मक विभिन्न सभा–सम्मेलनमा भाग लिई सर्वोत्कृष्ट स्थान अनि पदवी हासिल गर्दै मुलुककै नाम उच्च राख्नुभएको छ । अझ रोचक पक्ष त अमेरिकाको युयोर्कमा सन २०२३ जुलाई १६–१७ मा सम्पन्न एक सय २३ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा प्रस्तुत हुँदा सर्वोत्कृष्ट हुनुभएका गिरीलाई २०२४ अक्टोवर १७ मा अमेरिकाकै मेरिल्याण्ड स्टेट युनिर्भसिटीले विशेष कार्यक्रमको आयोजना गरी शिक्षा क्षेत्रमै उच्च मान प्रदान गरेको छ । आफ्नो विधा–पेशासँग सम्वन्धित तथा अन्य दर्जनौ संघ–संस्थामा आवद्ध उहाँ समाजसेवाको क्षेत्रमासमेत उत्तिकै सक्रिय रहनुभएको छ । प्रस्तुत छ– हाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय सचिवसमेत रहनुभएका गिरीसँग ओमप्रकाश राउतको संवादः

अहिले नेपालको शैक्षिक क्षेत्रमा जताततै आफ्नो चर्चा, मानसम्मान भइरहँदा कस्तो अनभूति भईरहेको छ ?
यो त मेरा लागि अत्यन्त गौरवको पक्ष हो । किनभने, म निकै मेहनत र निरन्तरको संघर्षले यस स्थानमा आइपुगेको हुँ । भलै यसमा मेरो पनि केही क्षमता त होला । यो त्यसैको प्रतिफल होजस्तो लाग्छ ।
कस्तो मेहनत–संघर्ष गर्नुभयो र ?
ती क्षण सम्झँदा अहिले पनि अनौठो खालको पीडा हुन्छ । सवैजसोको बाल्यकाल आफैंमा निश्चल हाँसो, निष्कपट व्यवहार, हर्ष–उल्लास हुनुपर्ने हो । तर, म त्यति भाग्यमानी वन्न सकिनँ । यद्यपि मलाई दुखःको अनुभूति हुन नदिन मेरा वुवा–आमाले हरपल प्रयास गर्नुभयो । मैले तीन कक्षासम्म जन्मस्थान दाङ जिल्लाको साबिक हापुर गाउँ पञ्चायत–९ (हाल घोराही नगरपालिका–१२) रतनपुरस्थित श्री हापुर माध्यमिक विद्यालय, बनफाँडेमा अध्ययन गरें । तत्पश्चात् सहरमा शिक्षा र स्वास्थ्यको राम्रो सुविधा पाइन्छ भन्ने विश्वासले त्यतातिरै बस्ने हाम्रो प्रयास सफल हुन सकेन । परिणाम त जीवन बचाउन आमा र दुइ बहिनीसहित म मामाघर पुगें । उता फूपुको घरमा बुवा । मामाघर बसेरै मैले कक्षा १० सम्मको अध्ययन पूरा गरें । त्यसपछि पनि संघर्षका दिन निरन्तर जारी नै रहे । म जन्मेदेखि यहाँसम्म आईपुग्दा शारीरिक तथा मानसिक थकानले सायदै विश्राम पाए ।

अध्यापनको व्यवसायिक गोरेटोचाहिँ कसरी कोर्नुभयो ?
त्यो त विद्यालय अध्ययन गर्दाबाटै शुरु भएको हो– ट्युशनबाट । हरेक बिहान मेरा लागि जीवनको पेचिलो शुरुवात बन्थ्यो । मेरो रफ्तार समयको गतिसँगै जिन्दगी चलाउन र बनाउनमा रह्यो । चलाउन यस अर्थमा कि मलगायत मबाट आश्रित परिवारको गाँस, बास, कपासको जोहो गनुैपर्ने जिम्मेवारी ममाथि थियो । बनाउन यस अर्थमा कि जीवन चलाउनेसँगै मेरो भविष्य बनाउने अर्थात् आफूलाई अझ परस्कृत, फराकिलो बनाउदै लैजानुपर्छ भन्ने समयले सिकाउँदै लगेको थियो । कक्षा १० पछि मेरो प्रवेश सहरमा नै भयो । जीवन चल्न र चलाउन म बिहानदेखि बेलुकासम्म ट्युशन पढाउँथे । जीवन बनाउनचाहिँ बचेको समयमा अध्ययन गर्थें । एसएलसी पूरा गरेपछि स्थानीय निजी विद्यालयमा अध्यापन थालें । अनि विद्यालय र अन्य शैक्षिक संघ–संस्थाहरूमा फराकिलो स्थान बनाउँदै जाँदा हाल यो अवस्थासम्म आईपुगेको हुँ ।
आफ्नै समकक्षीलाई ट्युशन पढाउन कसरी सम्भव भयो ?
उसो त समय र परिस्थितिले जिन्दगीका हरेक पक्ष निर्माण गर्छ । जीवनका हरेक पक्षहरूले जिन्दगी बनाउने र चलाउने हो । जीवनसँग खेल्दा सन्तुष्टि र खुशीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । म अध्ययन गरिरहँदा विषयगत छलफलमा वढि केन्द्रित हुन्थें । यही क्रममा विषयवस्तुलाई सहजसँग बुझाउने सिपले निखारता पायो । समकक्षीहरूबाट आउने प्रतिक्रिया मेरा लागि सुधारका आधारहरू बने । अन्ततः मेरा समकक्षीहरूले नै मेरो शिक्षणको मापन स्थापित गरिदिए । जति बेला म आफूमात्र अध्ययनमा होमिन्थें त्यतिबेला मेरो विषयगत सिप ग्रहणको जिम्मेवारी मेरोमामात्र निहित थियो । जव समकक्षीहरूमा समेत छलफल गर्ने, उनीहरूलाई सिकाउने परिवेश आयो तव थप जिम्मेवारीवोधको आभाष भयो । र त साथीहरूको विश्वास जोगाइराख्ने अभिभारा ममाथि थपियो । आफूमा निखारपन ल्याउन म थप मेहनत गर्न थालेकाले नै आफ्नै समकक्षीहरूलाई ट्युशन पढाउने कला–क्षमतामा विकास भएको हो ।

अध्ययन अनि अध्यापनमा तपाईंको मापदण्ड के हो ?
अध्ययन र अध्यापनको मुख्य मापदण्ड यसको सार्वजनिक योग्यता र कौशलमा निर्भर रहन्छ । शिक्षणमा गरेका कामहरूले कसरी प्रभावित गर्दछ र विषयवस्तुको अध्ययनको परिणाममा कसरी सहयोग पुर्याउँछ भन्ने महत्व राख्दछ । शिक्षाको पेशागत अनुभवले अध्ययन र अध्यापनको मापदण्ड निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अध्यापनको प्रक्रिया र शैलीमा पेशागत अनुभवले छात्र–छात्राहरूको शिक्षा प्राप्तिमा सहयोग पुर्याउँछ नै । यसैगरी शिक्षा प्रणाली र प्रविधि, पाठ्पुस्तक तथा अन्य शिक्षा संसाधनहरूको प्रयोगले समेत मापदण्ड निर्धारण गर्छ । विद्यार्थीहरूमा ज्ञानको गुणस्तर, विद्यार्थीको प्रगति, शिक्षकको प्रभाव, साक्षरता र संवाद, नैतिकता र उत्तरदायित्व वहन आदि मेरो अध्ययन अनि अध्यापनका मापदण्डहरू हुन् ।
शिक्षा क्षेत्रका विदेशीहरूसँग तपाईंको सम्पर्क–सम्वन्ध कसरी बन्यो र बढ्यो ?
आफ्नो पेशासँग जोडिएका क्षेत्रमा व्यापकता खोज्नु पेशागत धर्म हो । यसको व्यापकता र प्रयोगमा सु–सुचित हुन, विश्व वजारमा प्रयोगमा आएका शिक्षण शैलीमा परिचित हुन विदेशीहरूसँगको सम्पर्कबाटमात्र सम्भव हुन्छ । यही परिवेश र परिस्थितिले विदेशीहरूसँगको सम्पर्कमा रहन उत्प्रेरणा थप्यो । र त मलाई बाहिरी सम्पर्कको खोजीमा चनाखो बनायो । मेरो हुट्हुटी र चासोले वाहिरी सम्पर्क स्थापित हुन सफल गरायो । पहिलोपटक म मेरो पेपर प्रस्तुतिका लािग बंगलादेश पुगेको थिएँ । त्यसपछि श्रीलंका, स्विटजरल्याण्ड, जर्मनी, अमेरिकालगायत २० वटाभन्दा बढी देशहरूमा पेपर प्रस्तुति तथा किनोट स्पिकर भएर पुग्ने अवसर प्राप्त गरेको छु । यो भूमिकाले मेरो अन्तर्राष्ट्रिय छवी निर्माणमात्रै होइन, अध्ययन–अनुसन्धानको दायरा अझ फराकिलो बनायो । विभिन्न देशका शिक्षाविद्हरूसँग शैक्षिक सञ्जाल निर्माण गरी स्थापित गर्न पनि सघायो ।

विदेशको तुलनामा नेपालको वर्तमान शिक्षा प्रणाली कत्तिको ठीक छ ?
परिणाममुखी छैन । शिक्षा भनेको व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्याउने खालको हुनुपर्छ । शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । तर, विडम्वना हामीकहाँ त्यस्तो छैन । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पुर्याउने खालको शिक्षा हुनपर्छ । माध्यमिक तहसम्मको हाम्रो शिक्षा विद्यार्थीको व्यक्तित्व विकास गर्ने र सामाजिक, सांस्कृतिक चेतना उठाउने मात्रमा सीमित छ । उच्च माध्यमिक तहदेखि एउटा सीपको विकास गर्ने किसिमको बजारमुखी शिक्षा दिन खोजिरहेको देखिन्छ । तर, अहिले मूलतः उच्च शिक्षाको लागि तयारी गर्ने अर्थात् एउटा तहबाट माथिल्लो तहको विद्यार्थी तयार गर्ने काममात्रै भइरहेको छ । शिक्षा प्रणालीबाट बाहिर गएर उत्पादनशील क्रियाकलापमा सहभागी बन्ने, श्रम बजारमा वा आर्थिक उन्नतिमा टेवा पुर्याउने काम भइरहेको छैन । अहिलेको शिक्षा प्रणाली अनुसार नेपाली पढियो भने नेपालीको शिक्षक बन्ने, अङ्ग्रेजी पढियो भने अङ्ग्रेजीको शिक्षक बन्ने वा अर्थशास्त्र पढ्यो भने अर्थशास्त्रको शिक्षक बन्नेसम्ममा मात्र सीमित छ । नेपालमा सामाजिक र आर्थिक विकासलाई अगाडि बढाउने खालको शिक्षा छैन ।
नेपाली शैक्षिक उद्योगमा तपाईंले कस्तो भूमिका निर्वाह गर्नु भएको छ ?
नेपाली शैक्षिक उद्योगमा मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविधितै छ । यो मैलेमात्रै भनेको होइन कि यसक्षेत्रसँग सम्वन्धित र बाहिरका व्यक्तित्वहरूले पनि मूल्यांकन गर्नुभएकै छ । त्यसैले म र मजस्ता शिक्षाप्रेमीको योगदान अनि अर्थ नेपाली र विश्व शैक्षिक क्षेत्रमा अमूल्य छ, रहन्छ पनि । फेरि, मैले सामान्य ‘कखरा’ सिक्दैगरेकादेखि शैक्षिक क्षेत्र–उद्योगका राष्ट्रिय–अन्तर्राष्ट्रिय हस्तीहरूसँग पनि हातेमालो, काम गर्दैआएको छु । आफ्नो विधा–क्षेत्रबाट सक्दो सहयोग गर्दैआएको छु । साथीहरूबाट सुन्छु कि– यो क्षेत्रका लागि यावदको भूमिका–योगदान अतुलनिय छ । मैले शैक्षिक पेशा–क्षेत्रमार्फत जुन असल कर्म गरिरहेको छु पक्कै पनि यसले केही न केही सकारात्मक अंशहरू दिएको होला भन्ने लाग्छ । केही जिम्मेवारी बहन गर्न सकें हुँला जस्तो लाग्छ । तर, समाज र राष्ट्रले जति दिएको छ, त्यतिमात्रै दिन पनि मैले अझै धेरै गर्न बाँकी छ ।

अहिले महत्वपूर्ण कुन–कुन भूमिकामा हुनुहुन्छ ?
हाल म लिटल एञ्जल स्कुल, घोराहीमा प्रधानाध्यापक भएर कार्य गरिरहेको छु । घोराहीमा नै रहेको शान्ति निकेतन विद्यालयमा मेरो भूमिका अध्यक्षको रुपमा छ भने घोराहीकै सभ्यता पाठशालामा सल्लाहकार छु । यस्तै, डीएमआईटी नेपालको निर्देशक, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार, दाङ प्याब्सनमा वरिष्ठ सल्लाहकार रहेको छु । उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को केन्द्रीय सचिव हुँ ।
तपाईंको हालको अवस्था कस्तो छ ?
जन्मेदेखि अनवरतरुपमा संघर्षरत रहदै यहाँसम्म आइपुग्दा पीडा, हर्ष, रोदन, हाँसो अनि खुशीको अनुभूतिले जीवनमा धेरै सिपको सिकाई भयो । मेरो परिवार आर्थिक अवस्थामा त्यति सवल थिएन, न शैक्षिकरुपमा उन्नयन नै थियो । र पनि पढ्नु–पढाउनुपर्छ भन्ने मेरा अभिभावकमा रहेको सुझवुझले बाल्यकालको शिक्षा तथा उच्च शिक्षामा काहीँकतै असहज परिस्थितिको सामना गर्नु परेन । सम्भवतः त्यतिबेला मैले लिएको लक्ष्य र मलाई प्राप्त प्रेरणाले नै आज यहाँसम्म आईपुगेको छु । त्यति बेलाको आर्थिक असहजताले हाल कोल्टो फेरेको छ । आर्थिक संकटको सामना अहिले व्यहोर्नुपरेको छैन । अर्थको अभाव र शिक्षाको उज्यालेबाट वञ्चित मेरो परिवार अहिले आर्थिक अभावको खुड्किलो पार गर्दै शिक्षाको उज्यालो तापमा रमाइरहेका छ । यो भनेको ठूलो सौभाग्य र खुसी पनि हो ।
यो क्षेत्रमा लागेर प्राप्त अहिलेसम्मका उपलव्धिहरू के–के हुन् ?
म जहाँ छु यी सवै शैक्षिक क्षेत्रमा समर्पित भएर पाएका उपलव्धिहरू हुन् । पहिलो त देशले मलाई एउटा शिक्षाविद्को रुपमा स्विकारेको छ । अहिलेसम्म समाज–राष्ट्रहितमा जे–जति काम गरें, त्यही अनुपातमा सम्मान, पुरस्कार तथा अवार्ड पाएको छु । मलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले प्रदान गरेको ‘प्रेसिडेन्सियल अवार्ड–२०७५’, दाङ जिल्ला प्याब्सनले प्रदान गरेको ‘एक्सिलेन्सी अवार्ड–२०७८’, दुवईमा भएको इन्टरनेशनल इन्नोभेटिभ फ्युचर समिट एण्ड अवार्ड समारोहमा दिइएको ‘एक्सिलेन्सी एजुकेशन–२०२३’, १७ अक्टोबर २०२४ मा अमेरिकाको ‘मेरिल्याण्ड स्टेट युनिर्भसिटी’बाट ‘डक्टर अफ फिलोसोफी ईन एजुकेशन’मा ‘अनर्स विद्यावारिधि’बाट सम्मानित, दुवईमा सम्पन्न ‘२०औं वल्र्ड स्कुल समिट’मा ‘एक्सिलेन्स ईन एजुकेशनल लिडरसिप अवार्ड’, २०८१ पौष ७ गते आयोजित जिल्ला अधिवेशनमा १५ वर्षभन्दा बढी प्रधानाध्यापकमा निरन्तरता रहेकोमा दाङ प्याव्सनको सम्मान, २०८१ पुस २४ मा सम्पन्न ‘गुणस्तरिय विद्यालयका संवाहकः संस्थागत विद्यालयको संरक्षण र प्रवर्दनमा सरोकारवालाहरूको भूमिका’ विषयक ‘प्यानल डिस्कसन’मा सहजकर्ताको भूमिका, २०८१ पुस २४ मा आयोजित ‘३४औं प्याब्सन डे’को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा निर्णायक, ‘एपेक्स कम्प्युटर्स तथा प्याब्सन’को आयोजनामा सम्पन्न ‘मेधावी छात्रा प्रतियोगिता–२०८१’ मा निर्णायकलगायतका–राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मानहरू मेरा जीवनका उपलब्धिमुलक सम्पत्ति हुन्जस्तो लाग्छ ।
तपाईंको सफलताको सूत्र के हो ?
मेरो सफलताको मुख्य सूत्र भनेको काममा इमानदारिता, एकाग्रता, लगनशीलता र निरन्तरता हो । रुचिको विषयलाई परिपक्वता ल्याउने भनेकै यसैले हो । र त हाल मलाई सारा शिक्षाप्रेमीले चिन्छन्, माया, आदर–सम्मान गर्छन् । अहिले सारा शिक्षाप्रेमीको अपार माया पाएको छु । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...