प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाइ हुने – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाइ हुने

काठमाडौं : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा एउटा मात्र उजुरी परेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त उजुरी औपचारिक रूपमा खोलेको हो।

समिति सभापति वोधनारायण श्रेष्ठका अनुसार प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका कार्कीविरुद्ध मात्रै उजुरी परेको हो भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी दर्ता भएको छैन। संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी आह्वान गरिएको थियो।

समितिमा सुनुवाइ प्रक्रियासम्बन्धी एक सुझाव पनि प्राप्त भएको जानकारी दिँदै सभापति श्रेष्ठले उक्त सुझावको सान्दर्भिकता नरहेको स्पष्ट पारे। ललितपुरका उज्वलकृष्ण श्रेष्ठले बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न प्रस्ताव गरेका थिए। तर, आवश्यक संख्या अनुसार मात्रै नाम सिफारिस भएको अवस्थामा यस्तो प्रस्ताव उपयुक्त नहुने उनको भनाइ छ।

कार्कीविरुद्ध परेको उजुरी पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले दर्ता गराएका हुन्। उनले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गरेका छन्। उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको पनि समितिले जनाएको छ।

संसदीय सुनुवाइ समितिले कार्यविधि, २०८३ को दफा १६ अनुसार उजुरी खोल्ने प्रस्ताव अनुमोदन गर्दै सदस्यहरूलाई वितरण गरेको छ। अब उक्त उजुरीमाथि समितिमा छलफल हुनेछ र आवश्यक परे उजुरीकर्तालाई पनि उपस्थित गराइनेछ। साथै, प्रस्तावित व्यक्तिहरूसँग समेत प्रत्यक्ष छलफल गरिनेछ।

तीनै प्रस्तावित पदाधिकारीको सुनुवाइका लागि समितिले साउन १२ र १३ गते समय तोकेको छ। कार्यतालिका अनुसार साउन १२ गते प्रस्तावित दुई आयुक्त र १३ गते प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ गरिनेछ।

यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०८३ श्रावण ५, १२: २७

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०८३ श्रावण ५, १२: २७

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ श्रावण ५, १२: २७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...