अष्ठोत्तर सहस्र चन्द्र दर्शन तथा चौरासी पूजा अवसरमा ‘विचार दीपक’को विशेषाङ्क विमोचन – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

अष्ठोत्तर सहस्र चन्द्र दर्शन तथा चौरासी पूजा अवसरमा ‘विचार दीपक’को विशेषाङ्क विमोचन

कास्की : विद्वत् शिरोमणि प्राध्यापक चतुर्भुज शर्मा पौडेल र उनकी धर्मपत्नी शान्तिदेवी पौडेलको अष्ठोत्तर सहस्र चन्द्र दर्शन तथा चौरासी पूजा अवसरमा ‘विचार दीपक’ पुस्तकको दोस्रो संस्करण ‘चौरासी पूजा विशेषाङ्क’का रूपमा विमोचन गरिएको छ।

वैदिक विधिअनुसार चौरासी पूजा सम्पन्न भएपछि आयोजित पुस्तक विमोचन समारोह सह–प्राध्यापक डा. विनिता पौडेल गुरागाईंको सभापतित्व तथा गलेश्वर धाम देवघाटका प्रमुख एवं नर्वादे स्वर आश्रमका अध्यक्ष महामण्डलेश्वर अनन्त सरस्वती आत्मानन्द गिरी महाराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि आत्मानन्द महाराजले वैदिक सनातन धर्म, चौरासी पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्व र जीवन दर्शनका विषयमा उपस्थित निम्तालुहरूलाई आशीर्वचन दिएका थिए। उनले चतुर्भुज शर्मा र म एउटै माटोमा हुर्किएको र उहाँ असल बेदान्त सदग भएको उल्लेख गरे।

विमोचित पुस्तकका प्रमुख व्यक्तित्व प्राध्यापक चतुर्भुज शर्मा पौडेलले ‘विचार दीपक’ प्रकाशन गर्ने इच्छा आफूले नेपाल आएदेखि नै राख्दै आएको भए पनि पारिवारिक साथ, सहयोग र समर्थनका कारण लामो समयपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले पुस्तकमार्फत आफूले अध्ययन, साधना र जीवनअनुभवबाट प्राप्त ज्ञान तथा विचारलाई पाठकसमक्ष पुर्‍याउने प्रयास गरेको बताए।

पुस्तकका सम्पादक आचार्य जगदीश पौडेलले ‘विचार दीपक’को पहिलो अंक कोभिड–१९ को महामारीका समयमा अनलाइनमार्फत प्रकाशन गरिएको जानकारी दिए। पहिलो अंकमा समेटिएका वेदान्तलगायतका विषयवस्तुलाई पाठकले रुचिपूर्वक अध्ययन गरेपछि यसपटक चौरासी पूजा विशेषांकका रूपमा पुस्तकको दोस्रो संस्करण प्रकाशन गरिएको उनले बताए।

कार्यक्रममा पौडेल वंश महासंघ नेपालका अध्यक्ष हरिराम पौडेलले पौडेल वंश महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा पौडेल समाजका अग्रज व्यक्तित्वका रूपमा प्राध्यापक चतुर्भुज शर्मा पौडेलको योगदान स्मरण गर्दै उहाँ र धर्मपत्नी शान्तिदेवी पौडेलको चौरासी पूजा अवसरमा ‘विचार दीपक’ प्रकाशन हुनु र विमोचन समारोहमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए।

कार्यक्रम सञ्चालन गर्दै सामाजिक व्यक्तित्व विमल सुवेदीले चौरासी पूजा तथा पुस्तक विमोचनको सन्दर्भलाई समेट्दै मुक्तक प्रस्तुत गरेका थिए—

“चौरासी वर्षको जीवन, अनुभवको अमूल्य धरोहर,
ज्ञान, साधना र संस्कारले सजिएको सुन्दर सफर।
आज पूजा मात्रै होइन, इतिहासका पाना खुल्दैछन्,
पुस्तक बनेर बोल्दैछ—एक जीवनको अमर स्वर।”

समारोहको समापन गर्दै कार्यक्रमकी सभापति सह–प्राध्यापक डा. विनिता पौडेल गुरागाईंले माता–पिताको सरलता, अनुशासन, माया र जीवनभर प्राप्त प्रेरणाले आफूहरूलाई जीवनको महत्त्व बुझ्न तथा निरन्तर संघर्षशील बन्न प्रेरित गरेको बताइन्। उनले माता–पिता केवल अभिभावक मात्र नभई जीवनका मार्गदर्शकसमेत रहेको उल्लेख गर्दै उनीहरूको आशीर्वाद सधैँ आफूहरूमाथि रहिरहोस् भन्ने कामनासहित कार्यक्रमको समापन गरिन्।

विमोचन समारोहपछि उपस्थित निम्तालुहरूलाई टीका तथा आशीर्वाद ग्रहण गराउँदै ‘विचार दीपक’ पुस्तकसमेत हस्तान्तरण गरिएको थियो। समारोहमा परिवारजन, विद्वत् व्यक्तित्व, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्राध्यापक चतुर्भुज शर्मा पौडेलको दीर्घ जीवनयात्रा, ज्ञान, साधना, वैदिक दर्शनप्रतिको समर्पण र विचारलाई समेटिएको ‘विचार दीपक’को दोस्रो संस्करण चौरासी पूजा विशेषाङ्कका रूपमा प्रकाशित हुनु आफैंमा एउटा स्मरणीय सांस्कृतिक तथा बौद्धिक उपलब्धिका रूपमा लिइएको छ।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ७, २०: ३२

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र ७, २०: ३२

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र ७, २०: ३२

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...