
काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ । आइतबार सार्वजनिक गरिएको निर्देशनमा निर्वाचन प्रचारप्रसार, खर्च व्यवस्थापन, सभा–जुलुस, सञ्चार माध्यम प्रयोग, सामाजिक सञ्जाल गतिविधि तथा मतदान र मतगणनासम्बन्धी आचारसंहिता कडाइका साथ पालना गर्न भनिएको छ ।
आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो तथा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न पाउनेछन् । मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।
निर्देशनअनुसार निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नपाइनेछ । त्यस्तै विभिन्न क्लब, सामाजिक तथा धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था र आश्रमहरूलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न पनि रोक लगाइएको छ ।
आयोगले मतदातालाई लोभ, लालच वा आर्थिक प्रलोभन देखाउने, भोजभतेर आयोजना गर्ने, उपहार वा इनाम वितरण गर्ने, धाकधम्की तथा डरत्रास देखाउने, सामाजिक बहिष्कार गर्ने, धर्म भकाउने वा साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि गर्न नहुने स्पष्ट पारेको छ ।
त्यसैगरी जुलुस, आमसभा, कोणसभा, भेला तथा प्रचारप्रसार कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कार्यक्रम गर्न नपाइने र कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थानबारे जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
खर्च व्यवस्थापनका सन्दर्भमा उम्मेदवारले बैंक तथा वित्तीय संस्थामार्फत मात्र खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त गर्दा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने तथा निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी–खर्च विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।
आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन र निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । निर्देशन उल्लंघन भएको पाइएमा सम्बन्धित निकायमा उजुरी दिन सकिने व्यवस्था समेत गरिएको छ ।
झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...
सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...