
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको पार्टी कार्य सम्पादन समितिको बैठकमा उनले महाधिवेशनलाई अलमल्याउने प्रयास नगर्नु पर्ने धारणा राखेकी हुन् ।
सहमहामन्त्री संग्रौलाले यसलाई पार्टीको वैधानिकता, लोकतान्त्रिक अभ्यास र भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा उल्लेख गरिन् । विधानले तोकेको समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्न नसक्दा पार्टीको वैधानिकता र राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी उनले दिइन् । वडा, पालिका, प्रदेशदेखि केन्द्रीय तहसम्मका आवश्यक प्रक्रिया समयमै सम्पन्न गर्नुपर्ने र यससम्बन्धी कुनै अन्योल भए तत्काल स्पष्ट पारिनुपर्ने उनको भनाइ थियो ।
‘विचारमा बहस गरौँ, नेतृत्वमा प्रतिस्पर्धा गरौँ, तर पार्टीलाई कमजोर बनाउने काम नगरौँ’ संग्रौलाले भनिन् । महाधिवेशन नै पार्टीभित्रको असन्तुष्टि र मतभिन्नता समाधान गर्ने सबैभन्दा लोकतान्त्रिक माध्यम रहेको र यसबाट कार्यकर्ताले आफ्नो नेतृत्व रोज्न पाउने वातावरण बन्नुपर्ने उनको धारणा छ ।
सबै पक्षसँग संवाद गरी सहमतिको वातावरण निर्माण गर्न र कसैलाई बहिष्करण नगरी सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्न उनको सुझाव थियो ।
देशभरका कार्यकर्ता अहिले पार्टीभित्रको विवाद लम्बिएको हेर्न नचाहेको र उनीहरूले नेतृत्वबीचको झगडा होइन, पार्टीको सुदृढ भविष्य चाहेको भन्दै कार्यकर्ताको भावना नेतृत्वले गम्भीरतापूर्वक बुझ्नुपर्ने उनले औँल्याइन् ।
पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका सदस्य बाहेक अन्य सबैको हकमा १५औँ महाधिवेशनका लागि नवीकरण गरिएको र नवीकरण गरे पनि विवरण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरिएको नेतृत्वलाई धन्यवाद दिइन् ।
डा. संग्रौलाले पार्टी बलियो भयो भने मात्रै जनताको पक्षमा प्रभावकारी रूपमा उभिन सक्ने उल्लेख गरिन् । उनले भनिन्, ‘सबै मतभेद संवादबाट समाधान गर्दै, विधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गरौँ र पार्टीलाई थप विभाजन होइन, नयाँ ऊर्जा, नयाँ विश्वास र एकताका साथ अगाडि बढाऔँ ।’
यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको आन्तरिक संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक सङ्गठनहरूलाई थप परिचालन गरी राहत, उद्धार र पुनर्निर्माणमा सघाउने र सरकारलाई समेत उपयुक्त सुझाव दिने निर्णय बैठकले गरेको छ ।
यस्तै, डा. संग्रौलाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरिन् ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...