
काठमाडौं : भोटेकोशी बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १ भक्तपुरले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
सोमबार चाँगुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धार र फिर्तीको कामनासमेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधन तथा पूर्वाधारको क्षति पुर्याएको बताए । उनले चीनको सीमावर्ती क्षेत्रदेखि नेपालको रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म विपद्को गम्भीर असर परेको उल्लेख गरे ।

बानियाँले विपद्का कारण कतिपय परिवारले आमाबुवा गुमाएको, कतिपयले छोराछोरी गुमाएको र कतिपय परिवारका सदस्य नै बेपत्ता भएको बताए । स्थानीय नागरिकसँगै विभिन्न जिल्लाबाट आएका नेपाली पर्यटक, विदेशी पर्यटक तथा कामको सिलसिलामा आवतजावत गरिरहेका व्यक्तिहरू समेत विपद्मा परेको उनले बताए ।
‘यो अत्यन्तै पीडादायी र संवेदनशील अवस्था हो,’ उनले भने, ‘कसैले परिवारका सदस्य गुमाउनुभएको छ, कसैले घाइते हुनुभएको छ भने कतिपयले अहिलेसम्म आफ्ना आफन्तको शवसमेत पाउनुभएको छैन ।’

बानियाँले विपद्को यस घडीमा सरकारसँगै नेपाली कांग्रेस पनि प्रभावित नागरिकको साथमा रहेको बताए । उनका अनुसार नेपाली कांग्रेसले हालै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ । त्यसमध्ये बागमती प्रदेश नेपाली कांग्रेस र बागमती प्रदेश संसदीय दलका तर्फबाट १० लाख ६६ हजार रुपैयाँ सहयोग गरिएको उनले जानकारी दिए ।

उनले आफू र पार्टी सभापति गगनकुमार थापा रसुवा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको पनि बताए । स्थलगत अवस्थाले आफूहरूलाई निकै दुःखी बनाएको भन्दै उनले विपद् प्रभावित क्षेत्रमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका विषयमा सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए ।
‘हामीले राज्यले के गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनुका साथै पार्टीको तर्फबाट गर्न सक्ने मानवीय सहयोग पनि अघि बढाइरहेका छौँ,’ उनले भने ।
जलवायु परिवर्तनलाई मूल कारण मान्नुपर्ने
बानियाँले हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को प्रमुख कारण जलवायु परिवर्तन रहेको बताए । हिमताल फुट्ने, हिमनदी पग्लिने तथा हिमाली क्षेत्रमा पानीको बहावमा आउने असामान्य परिवर्तनले नेपालजस्ता मुलुकलाई ठूलो जोखिममा पारेको उनको भनाइ थियो ।
नेपालले वातावरण र पर्यावरणमा प्रतिकूल असर पार्ने गरी ठूलो मात्रामा कार्बन उत्सर्जन नगरे पनि जलवायु परिवर्तनको असर भने सबैभन्दा बढी भोग्नुपरेको उनले बताए । विकसित तथा ठूला शक्ति राष्ट्रहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले ठूलो मानवीय तथा पूर्वाधार क्षति बेहोर्नुपरेको उनको भनाइ थियो ।

उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री आगामी अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने क्रममा नेपालले जलवायु परिवर्तन र हिमताल फुट्ने जोखिमका कारण बेहोर्नुपरेको क्षतिबारे सशक्त रूपमा कुरा राख्नुपर्ने उनले बताए ।
यस विषयमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिनेसमेत उनले बताए । पार्टीको कार्यसम्पादन समितिको बैठकबाट समेत सरकारलाई यस विषयमा गम्भीरतापूर्वक आवाज उठाउन आग्रह गरिने उनले जानकारी दिए ।
विपद्मा परेका परिवारलाई तत्काल सहयोग आवश्यक
बानियाँले विपद्का कारण क्षणभरमै आर्थिक तथा सामाजिक रूपमा ठूलो क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता रहेको बताए ।
‘हिजोसम्म करोडपति र अर्बपति रहेका मानिस आज सडकमा आउनुपर्ने अवस्था बनेको छ,’ उनले भने, ‘परिवार गुमेको छ, बस्ने बास छैन, खाने गासको समेत समस्या छ । कतिपय मानिस विभिन्न स्थानमा आश्रय लिएर भोजन गरिरहेका छन् । यस्तो अवस्थामा तत्काल मानवीय सहयोग आवश्यक छ ।’
उनले बागमती प्रदेश संसदीय दल र नेपाली कांग्रेसको तर्फबाट प्रभावित क्षेत्रमा भोजनलगायत मानवीय सहयोग पुर्याउन टोली परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

विपद् प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसले छुट्टै समिति बनाएर काम गर्ने तयारी गरेको पनि उनले बताए । त्यसका लागि सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा जनप्रतिनिधिलाई समेटेर तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालीन कामको पहिचान गरिने उनको भनाइ थियो ।
उनका अनुसार प्रभावित क्षेत्रमा पार्टीका सम्बन्धित नेता तथा प्रतिनिधिहरूलाई परिचालन गरी स्थानीय अवस्थाको अध्ययन र आवश्यक सहयोगको समन्वय गरिनेछ ।
बालबालिका र महिलाको सुरक्षामा ध्यान दिन आग्रह
बानियाँले विपद् प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिका तथा एकल महिला र पुरुषको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार प्रभावित क्षेत्रमा १०–१२ वर्षका बालबालिकादेखि किशोरकिशोरीसम्म अभिभावकविहीन अवस्थामा एउटै स्थानमा बस्नुपर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा बालबालिका, महिला तथा अन्य संवेदनशील समूहको छुट्टाछुट्टै पहिचान गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

‘विपद्का बेला मानिसहरू विक्षिप्त मनस्थितिमा हुन्छन् । परिवारका सदस्य गुमाएका हुन्छन् । यस्तो अवस्थामा बालबालिका र महिलाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘बालबालिका, महिला, एकल महिला र एकल पुरुषलगायतलाई आवश्यकताअनुसार छुट्टाछुट्टै सुरक्षित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छौँ ।’
उनले विपद्को अवस्थामा अर्को कुनै अप्रिय घटना हुन नदिन प्रभावितको बसोबास, सुरक्षा र निगरानीको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

अस्थायी आवास व्यवस्थित गर्नुपर्ने
बाढी तथा पहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासका लागि बनाइएका अस्थायी संरचना पनि व्यवस्थित र सुरक्षित हुनुपर्ने बानियाँले बताए ।
विपद् प्रभावित नागरिकलाई तत्काल बस्ने व्यवस्था भए पनि त्यस्ता संरचनाको अवस्था, सुरक्षा र आधारभूत आवश्यकताबारे नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ थियो । प्रभावित नागरिकलाई अस्थायी आश्रयसँगै खाना, स्वास्थ्य उपचार, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

बानियाँले बागमती प्रदेश सरकारले यसअघि विपन्न तथा गरिब परिवारका लागि घर निर्माण गर्ने योजना अघि सारेको स्मरण गर्दै अहिले विपद्मा घरबारविहीन बनेका परिवारलाई समेत पुनःस्थापनाको योजनामा समेट्नुपर्ने बताए ।
सरकारलाई सक्रिय भएर उद्धार र राहतमा जुट्न आग्रह
बानियाँले अझै पनि कतिपय व्यक्ति बेपत्ता रहेको र केही व्यक्ति सुरुङलगायत जोखिमपूर्ण स्थानमा फसेको हुनसक्ने भन्दै खोज, उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग आग्रह गरे ।
बेपत्ता व्यक्तिको खोजीमा आधुनिक प्रविधि तथा उपलब्ध सबै साधनस्रोतको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । घाइतेको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने तथा विस्थापितलाई सुरक्षित स्थानमा राखेर आवश्यक राहत उपलब्ध गराउनुपर्ने उनले बताए ।

‘यो शोकको घडीमा हामी सबै प्रभावित परिवारको साथमा छौँ,’ उनले भने, ‘सरकारले उद्धार र राहतको कामलाई अझ सक्रिय र प्रभावकारी बनाउनुपर्छ । बेपत्ता भएकाहरूको खोजी तीव्र बनाउनुपर्छ । हामी सरकारको साथमा छौँ र मानवीय संवेदनाका हिसाबले प्रभावित नागरिकसँगै छौँ ।’
कार्यक्रममा भोटेकोसी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । साथै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् र बेपत्ताको सकुशल उद्धार होस् भन्ने प्रार्थना गरिएको थियो ।
Casinova im Check: Spielauswahl, Boni, Zahlungen und Schwächen für deutsche Spieler mit Blick auf OASIS, LUGAS und Auszahlungen.
Reseña completa de CoinCasino España: licencia, seguridad, juegos y experiencia real. Análisis veterano de un cripto casino con luces y...
Der er en særlig type spiller, der ikke har tid til langsomme opbygninger eller trukne fortællinger. De vil logge ind,...