भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति कांग्रेस क्षेत्र नं. १ भक्तपुरद्वारा दीप प्रज्वलन, सरकारलाई सक्रिय भएर उद्धार र राहतमा जुट्न बानियाँको आग्रह – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति कांग्रेस क्षेत्र नं. १ भक्तपुरद्वारा दीप प्रज्वलन, सरकारलाई सक्रिय भएर उद्धार र राहतमा जुट्न बानियाँको आग्रह

काठमाडौं : भोटेकोशी बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १ भक्तपुरले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

सोमबार चाँगुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धार र फिर्तीको कामनासमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधन तथा पूर्वाधारको क्षति पुर्‍याएको बताए । उनले चीनको सीमावर्ती क्षेत्रदेखि नेपालको रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म विपद्को गम्भीर असर परेको उल्लेख गरे ।

बानियाँले विपद्का कारण कतिपय परिवारले आमाबुवा गुमाएको, कतिपयले छोराछोरी गुमाएको र कतिपय परिवारका सदस्य नै बेपत्ता भएको बताए । स्थानीय नागरिकसँगै विभिन्न जिल्लाबाट आएका नेपाली पर्यटक, विदेशी पर्यटक तथा कामको सिलसिलामा आवतजावत गरिरहेका व्यक्तिहरू समेत विपद्मा परेको उनले बताए ।

‘यो अत्यन्तै पीडादायी र संवेदनशील अवस्था हो,’ उनले भने, ‘कसैले परिवारका सदस्य गुमाउनुभएको छ, कसैले घाइते हुनुभएको छ भने कतिपयले अहिलेसम्म आफ्ना आफन्तको शवसमेत पाउनुभएको छैन ।’

बानियाँले विपद्को यस घडीमा सरकारसँगै नेपाली कांग्रेस पनि प्रभावित नागरिकको साथमा रहेको बताए । उनका अनुसार नेपाली कांग्रेसले हालै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ । त्यसमध्ये बागमती प्रदेश नेपाली कांग्रेस र बागमती प्रदेश संसदीय दलका तर्फबाट १० लाख ६६ हजार रुपैयाँ सहयोग गरिएको उनले जानकारी दिए ।

उनले आफू र पार्टी सभापति गगनकुमार थापा रसुवा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको पनि बताए । स्थलगत अवस्थाले आफूहरूलाई निकै दुःखी बनाएको भन्दै उनले विपद् प्रभावित क्षेत्रमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका विषयमा सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए ।

‘हामीले राज्यले के गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनुका साथै पार्टीको तर्फबाट गर्न सक्ने मानवीय सहयोग पनि अघि बढाइरहेका छौँ,’ उनले भने ।

जलवायु परिवर्तनलाई मूल कारण मान्नुपर्ने

बानियाँले हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को प्रमुख कारण जलवायु परिवर्तन रहेको बताए । हिमताल फुट्ने, हिमनदी पग्लिने तथा हिमाली क्षेत्रमा पानीको बहावमा आउने असामान्य परिवर्तनले नेपालजस्ता मुलुकलाई ठूलो जोखिममा पारेको उनको भनाइ थियो ।

नेपालले वातावरण र पर्यावरणमा प्रतिकूल असर पार्ने गरी ठूलो मात्रामा कार्बन उत्सर्जन नगरे पनि जलवायु परिवर्तनको असर भने सबैभन्दा बढी भोग्नुपरेको उनले बताए । विकसित तथा ठूला शक्ति राष्ट्रहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले ठूलो मानवीय तथा पूर्वाधार क्षति बेहोर्नुपरेको उनको भनाइ थियो ।

उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री आगामी अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने क्रममा नेपालले जलवायु परिवर्तन र हिमताल फुट्ने जोखिमका कारण बेहोर्नुपरेको क्षतिबारे सशक्त रूपमा कुरा राख्नुपर्ने उनले बताए ।

यस विषयमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिनेसमेत उनले बताए । पार्टीको कार्यसम्पादन समितिको बैठकबाट समेत सरकारलाई यस विषयमा गम्भीरतापूर्वक आवाज उठाउन आग्रह गरिने उनले जानकारी दिए ।

विपद्‍मा परेका परिवारलाई तत्काल सहयोग आवश्यक

बानियाँले विपद्का कारण क्षणभरमै आर्थिक तथा सामाजिक रूपमा ठूलो क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता रहेको बताए ।

‘हिजोसम्म करोडपति र अर्बपति रहेका मानिस आज सडकमा आउनुपर्ने अवस्था बनेको छ,’ उनले भने, ‘परिवार गुमेको छ, बस्ने बास छैन, खाने गासको समेत समस्या छ । कतिपय मानिस विभिन्न स्थानमा आश्रय लिएर भोजन गरिरहेका छन् । यस्तो अवस्थामा तत्काल मानवीय सहयोग आवश्यक छ ।’

उनले बागमती प्रदेश संसदीय दल र नेपाली कांग्रेसको तर्फबाट प्रभावित क्षेत्रमा भोजनलगायत मानवीय सहयोग पुर्‍याउन टोली परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

विपद् प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसले छुट्टै समिति बनाएर काम गर्ने तयारी गरेको पनि उनले बताए । त्यसका लागि सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा जनप्रतिनिधिलाई समेटेर तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालीन कामको पहिचान गरिने उनको भनाइ थियो ।

उनका अनुसार प्रभावित क्षेत्रमा पार्टीका सम्बन्धित नेता तथा प्रतिनिधिहरूलाई परिचालन गरी स्थानीय अवस्थाको अध्ययन र आवश्यक सहयोगको समन्वय गरिनेछ ।

बालबालिका र महिलाको सुरक्षामा ध्यान दिन आग्रह

बानियाँले विपद् प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिका तथा एकल महिला र पुरुषको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा १०–१२ वर्षका बालबालिकादेखि किशोरकिशोरीसम्म अभिभावकविहीन अवस्थामा एउटै स्थानमा बस्नुपर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा बालबालिका, महिला तथा अन्य संवेदनशील समूहको छुट्टाछुट्टै पहिचान गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

‘विपद्का बेला मानिसहरू विक्षिप्त मनस्थितिमा हुन्छन् । परिवारका सदस्य गुमाएका हुन्छन् । यस्तो अवस्थामा बालबालिका र महिलाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘बालबालिका, महिला, एकल महिला र एकल पुरुषलगायतलाई आवश्यकताअनुसार छुट्टाछुट्टै सुरक्षित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छौँ ।’

उनले विपद्को अवस्थामा अर्को कुनै अप्रिय घटना हुन नदिन प्रभावितको बसोबास, सुरक्षा र निगरानीको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

अस्थायी आवास व्यवस्थित गर्नुपर्ने

बाढी तथा पहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासका लागि बनाइएका अस्थायी संरचना पनि व्यवस्थित र सुरक्षित हुनुपर्ने बानियाँले बताए ।

विपद् प्रभावित नागरिकलाई तत्काल बस्ने व्यवस्था भए पनि त्यस्ता संरचनाको अवस्था, सुरक्षा र आधारभूत आवश्यकताबारे नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ थियो । प्रभावित नागरिकलाई अस्थायी आश्रयसँगै खाना, स्वास्थ्य उपचार, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

बानियाँले बागमती प्रदेश सरकारले यसअघि विपन्न तथा गरिब परिवारका लागि घर निर्माण गर्ने योजना अघि सारेको स्मरण गर्दै अहिले विपद्मा घरबारविहीन बनेका परिवारलाई समेत पुनःस्थापनाको योजनामा समेट्नुपर्ने बताए ।

सरकारलाई सक्रिय भएर उद्धार र राहतमा जुट्न आग्रह

बानियाँले अझै पनि कतिपय व्यक्ति बेपत्ता रहेको र केही व्यक्ति सुरुङलगायत जोखिमपूर्ण स्थानमा फसेको हुनसक्ने भन्दै खोज, उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग आग्रह गरे ।

बेपत्ता व्यक्तिको खोजीमा आधुनिक प्रविधि तथा उपलब्ध सबै साधनस्रोतको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । घाइतेको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने तथा विस्थापितलाई सुरक्षित स्थानमा राखेर आवश्यक राहत उपलब्ध गराउनुपर्ने उनले बताए ।

‘यो शोकको घडीमा हामी सबै प्रभावित परिवारको साथमा छौँ,’ उनले भने, ‘सरकारले उद्धार र राहतको कामलाई अझ सक्रिय र प्रभावकारी बनाउनुपर्छ । बेपत्ता भएकाहरूको खोजी तीव्र बनाउनुपर्छ । हामी सरकारको साथमा छौँ र मानवीय संवेदनाका हिसाबले प्रभावित नागरिकसँगै छौँ ।’

कार्यक्रममा भोटेकोसी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । साथै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् र बेपत्ताको सकुशल उद्धार होस् भन्ने प्रार्थना गरिएको थियो ।

सम्बन्धित समाचार

Mostbet KZ: Заманауи Ойыншыға Арналған Quick‑Hit Gaming
  • २०८३ भाद्र २२, १९: ४९

Бүгінгі жарыс қарқыны әлемінде, mostbet qazaqstan тез әсер алуды қалайтындар үшін өз орнын тапты — марафондық еңбектенусіз. Платформаның дизайны пайдаланушыларды...

Payid Casino Review: Quick‑Hit Slots and Rapid Wins for Mobile Gamers
  • २०८३ भाद्र २२, १९: ४९

1. The Payid Casino Experience in Minutes Payid Casino offers a crisp, streamlined interface that feels almost like a mobile...

Joo Casino Quick‑Hit Slots: Play More, Win Faster
  • २०८३ भाद्र २२, १९: ४९

When the lights flicker on a new gaming session, the urge to hit a big win and move on is...