कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार थापाको अध्यक्षतामा भदौ २१ र २२ गते बसेको बैठकले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई मुख्य एजेन्डा बनाएको छ। साथै बैठकले सरकारले सञ्चार क्षेत्रमा अपनाएको ‘विभेदकारी’ नीति खारेज गर्न माग गरेको छ ।

बैठकले भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय संकटको रूपमा लिएको छ । विभिन्न तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै कांग्रेसले विपद्को घडीमा देखिएको राष्ट्रिय एकतालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेको छ। पार्टीले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

कांग्रेसले सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकसहितका नागरिकहरूको तत्काल उद्धारका लागि बहु-प्राविधिक र समन्वित प्रयास आवश्यक रहेको औंल्याएको छ । उद्धार कार्यलाई व्यवस्थित बनाउन स्पष्ट कमाण्ड प्रणाली, विशेषज्ञ परिचालन र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गर्न सरकारसँग माग गरिएको छ । साथै बेपत्ता व्यक्तिहरूको एकीकृत अभिलेख राखी परिवारलाई नियमित सूचना दिनुपर्नेमा जोड दिइएको छ ।

राहत तथा पुनर्स्थापनातर्फ बैठकले अवरुद्ध सडक सञ्जाल तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएको छ । विशेषगरी पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग खुलाउन ‘आपतकालीन सडक पुनःस्थापना कार्यदल’ गठन गर्न माग गरिएको छ । साथै राहत सामग्री वितरणमा देखिएको अव्यवस्था हटाउन एकद्वार प्रणाली लागू गरी प्रभावितसम्म प्रभावकारी ढंगले सामग्री पुर्‍याउनुपर्ने उल्लेख गरिएको छ ।

कांग्रेसले बाढीपीडितलाई मनोसामाजिक परामर्श, दीर्घकालीन पुनर्वास र जीविकोपार्जनका विकल्प सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको छ । यसका लागि स्थानीय तहको नेतृत्वमा समन्वय संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

यसैबीच, बैठकले रसुवाको बाढीपछिको समग्र अवस्थाबारे अध्ययन गर्न केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सञ्चार क्षेत्रतर्फ कांग्रेसले सरकारी विज्ञापन वितरणमा असमानता, लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि परिवर्तन र राष्ट्रिय समाचार समितिको शुल्क वृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस स्वतन्त्रता कमजोर पार्ने कुनै पनि नीति स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारले यस्ता निर्णय तत्काल पुनरावलोकन गर्नुपर्ने माग गरेको छ ।

May be an image of ticket stub and text

May be an image of text

May be an image of text

May be an image of text

सम्बन्धित समाचार

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०८३ भाद्र २२, २१: १५

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०८३ भाद्र २२, २१: १५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०८३ भाद्र २२, २१: १५

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...