सन्तान्नब्बेको शहीद प्रसङ्ग – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सन्तान्नब्बेको शहीद प्रसङ्ग

वि.सं. १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा नेपाल नागरिक अधिकार समिति, गठन भयो । यस संगठनमा गंगालाल श्रेष्ठ, केदारमान व्यथित, मुरलीधर भट्टराई लगायत करीब दुई दर्जन व्यक्ति संलग्न थिए । एक वर्षपछि यस संङ्गठनलाई राणा सरकारले ध्वस्त पारिदियो ।

वि.सं १९९३ जेठ २० का दिन टंकप्रसादआचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मा, दशरथ चन्द, जीवराज शर्मा, समेत पाँजना मिलेर ‘नेपाल प्रजा परिषद्’ नामबाट संङ्ग्गठन स्थापना गरे ।
पछि प्रजापरिषद्मा गंगालाल श्रेष्ठ, चूडामणि शर्मा, गणेशमान सिंह, बदबादुर पाण्डे, चन्द्रमान सैजु, हरिप्रसाद श्रेष्ठ, रामजी जोशी, मुकुन्दनाथ रिमाल, पुष्करनाथ उप्रेती लगायतका व्यक्तिहरु सक्रिय भएर काम गर्न थाले । राजा त्रिभुवनको समेत समर्थन रहेको यस संङ्गठनको मुख्य उद्देश्य राणहरुको पारिवारिक निरङ्कुश सत्ता समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने थियो ।

प्रजा परिषद्द्वारा विभिन्न पर्चा पम्लेटहरु छर्ने र ठाउँठाउँमा टाँस्ने कार्यहरु भएका थिए । प्रवचन र विभिन्न तालिमहरु गराउने कार्य हुँदै गए । प्रजापरिषद्का क्रियाकलापबाट सरकार अझ सशङ्कित हुँदै गयो । जनचासो र जनसहयोग पनि बढ्दै गयो । फलतः राण सरकारले धरपकड, दमन एवं विभिन्न र अत्याचार सुरु ग¥यो । प्रजा परिषद्सँग सम्बद्ध अधिकाङ्शलाई पक्राउ गरेर कठोर यातनाका साथ जेल हालियो । यस काण्डमा राजा त्रिभुवन समेतको बयान लिइएको थियो ।

वि.सं. १९९७ माघ ६ का दिन सिंहदरबारमा एउटा छुट्टै अदालत बसाएर प्रजापरिषद्सँग सम्बद्धहरुको बारेमा फैसला गराइयो । जसअनुसार शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द्र, गंगालाल र पूर्ण नारायण प्रधानलाई अंश सर्वस्वसहित ज्यानको सजाय भयो । त्यसैगरी टंकप्रसाद आचार्य र रामहरी शर्मालाई अंश सर्वस्वसहित चारपाटा मुडी आजीवन जेल सजाय सुनाइयो । त्यस्तै गणेशमान सिंह, चूडामणि शर्मा, गोविन्दप्रसाद उपाध्याय, चन्द्रमान सैजु, फत्तेबहादुर सिंह, चिनियालाल सिंह, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डे, हरिकृष्ण श्रेष्ठ, मुरली पण्डितलाई अंश सर्वस्वासहित आजीवन कैद सजाय गरियो ।

सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, जीवनराज शर्मा, धर्मरत्न यमी, र चन्द्रमान मास्केलाई अंश सहित १८ वर्ष कैद सजाय भयो । ध्रुवनाथ दवाडी, गणेशमान पन्त, मरीचमान नकर्मी एवं रामदास खत्री १२ वर्षे कैदमा पेर । पूर्णबहादुर एम.ए. चित्तधर हृदय, फणीन्द्रराज हमालहरु चाँहि ६ वर्षे जेल सजायमा परेथे । यस बाहेक अन्य दर्जनौं व्यक्तिहरुले विभिन्न जरीवाना, अदालतको तारिख र बयान आदि बेहोर्नु परेको थियो ।

चार जनालाई फाँसी
नेपाल नागरिक अधिकार समितिका अध्यक्ष रहेका शुक्रराज शास्त्रीलाई इन्द्रचोकमा कथा प्रवचन गर्दागर्दै १९९५ मङ्सिर १३ गते पक्रिएर जेल हालिएको थियो । प्रजा परिषद्सँग सम्बन्ध नभएका यिनको के अपराध थियो भन्ने फैसला नगरीकनै वि.सं १९९७ माघ १० गते मध्य रातमा टेकु पचली पु¥याइयो । शुक्रराजसँग उनको आफ्नो अन्तिम इच्छा के छ भनेर सोधियो । शास्त्रीले “स्नान गरेको आफ्नो फाँसी आफैँ लगाउने” इच्छा व्यक्त गरेपछि शास्त्रीले बाग्मतीमा स्नान गरे । अनि गीता पाठ गर्दै आफ्नो घाँटीमा आफँैले डोरी लगाएका थिए ।

“नव युवकलाई भड्काएर मुलुकमा विद्रोह फैलाउनेलाई यस्तो सजाय भयो” भन्ने वाक्य लेखिएको कागज उनको छातीमा राखिएको थियो । रुखमा तुर्लुङ्ग झुण्ड्याइएको शुक्रराजको शरीरलाई बडो पीडा वेदनाका साथ बाटो हिँड्नेहरुले हेर्दै हिँड्थे । भोटिपल्ट दिउँसोतिर शास्त्रीका परिवारहरु पुगे । पचासी वर्षका पिता माधव राज जोशीले छोराको शवलाई तीनपटक प्रदक्षिणा गरेर कराउँदै भने—“स्यावास वेटा, तुम धन्य हो, तुमने अपने पिता, माताके साथ देशका ही गौरव बढाया है । तुम सपूत हो ।”

दुई दिनसम्म अमानवीय प्रदर्शन पछि तेस्रो दिन मात्र शास्त्रीको सद्गति भएको थियो । माघ १३ गते राति दस बजेतिर धर्मभक्तलाई सिफल पु¥याइयो । दुवै हात पछाडि फर्काएर बाँधिएका धर्मभक्तलाई नरसमसेरले अन्तिम इच्छा सोध्दा उनले जवाफ दिए—“राणशासनको छिट्टै अन्त्य भएर जनताले सुखशान्ति पाउन् भन्ने इच्छा छ” धर्मभक्तको यस्तो भनाइबाट रिसले मुर्मुरिएका नरसमसेरले हतारहतार फाँसीमा झुण्डयाउने आदेश दिए ।

रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरी अर्को हाँगामा झुण्ड्याइयो । धर्मभक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो ।
यसरी हाँगा भाँचिएर दुइ पल्टसम्म फाँँसीबाट बँचेका धर्मभक्तको गाला नरसमसेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरुलाई पिट्न लगाए । धेरै बेरको पिटाईपछि उनी बेहोस भए । अनि बेहोस भएकै बेला फेरी डोरीले घाँटी कसेर उनलाई रुखमा झुण्डयाइयो ।
कुस्ती र पहलमानीमा कहलिएका धर्मभक्तलाई यस्तो जघन्य र निर्मम यातना दिएर मारिएको थियो । “संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो ।” भन्ने लेखेर धर्मभक्तको छातीमा टाँसिएको थियो ।

अर्को दिन बेलुकीसम्म रुखमा झुण्डिएको वीर धर्मभक्तको शव हटाइएन । उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरु कोही आफन्त शव बुझ्न आएनन् । चौविस घण्टापछि सरकारले नै उनको सद्गत ग¥यो । माघ १४ गते मध्यरातमा दशरथ चन्द र गंगालाललाई शोभा भगवतीछेउ विष्णुमती किनारमा पु¥याइयो । गंगालालकी पत्नी हसिनादेवीले दुई दिन अघि छोरो जन्माएको खबर गंगालालले फाँसी दिन लैजाने क्रममा मात्र पाएका थिए । उनलाई प्याफलको आफ्नो घरछेउ पु¥याइएका बेला— “हसिना, हसिना भनेर तीन चारपल्ट बोलाएका थिए । यसरी पत्नीको नाम पुकार्दै शोभा भगवतीतिर गंगालाल लागेको कुरा आज पनि चर्चित छ ।

दशरथ चन्द र गंगालाल दुवैलाई अन्तिम इच्छा सोधियो । गंगालालले “नुहाएर केहीबेर पाठ गर्ने इच्छा” व्यक्त गरेका थिए । अनि दशरथ चन्दले “राणा शासनको छिटै अन्त्य होस्” भनेका थिए । त्यसपछि दुवैलाई खम्बामा बाँधियो । नरसमसेरले गंगालाललाई ‘माफी मागेमा अझै पनि बाँच्न सक्छस्’ भनेपछि उनले जवाफ दिएको प्रसङ्ग आज पनि प्रसिद्ध छ ।“माफी त तिमीहरुले जनतामाथि गरेका अत्याचार र अन्यायका लागि हामीसँग माग्नुपर्छ, हामीले तिमीहरुसँग किन माफी माग्ने ।”

दुईतिरका दुई खम्बामा बाँधिएका यी दुई सपूत वीरताका साथ मृत्यु वरण गर्न पर्खिरहेका बेला दशरथ चन्द्रका घुँडामा गोली हानियो । दशरथ छटपटाएको कारुणिक दृश्य देखेर गंगालालले भनेका थिए— “एई सक्छस् भने— एकै गोली हानेर मार ।” नरसमसेर आफैँले मुर्मुरिँदै गंगालालका तिघ्रामा गोली हाने । दशरथचन्द्रलाई पनि तिघ्रामा र पेटमा गोली हानेर छटपटाउन र थप पीडा दिन केहीबेर राखियो । गंगालाललाई पनि तिघ्रामा र पेटमा तीन्वटा भने नमार्ने तँलाई—भन्दै नरसमसेर कुर्लिदै थियो ।

गंगालाललाई अन्तिम गोली हान्ने बेलामा पोडेले पनि मानेन । छटपटी र पीडामा पनि राणशासन अन्त्य होस् भनिरहेका गंगालाललाई मार्ने हिम्मत पोडेमा पनि भएन । पोडेले नमानेपछि नरसमशेर आफँैले गंगालाललाई छातीमाथि गोली चलाएर मारेको क्रुर कथा चर्चित छ ।
“सीधासादा रैती भड्काएर श्री ३ को गाथगादी ताक्नेलाई यस्तो सजाय भयो ।” भनेर लेखिएको कागज यी दुवै वीर पुत्रहरुका छातीमा टाँसिएको थियो ।

माघ १५ गते दिनभरी ती दुई वीर शहीदका शव त्यहीँ प्रदर्शनीमा राखियो । अर्को दिन १६ गते मात्र उनीहरुको सद्गति भयो । यसरी चार अमर शहीद— शुक्रराज शास्त्री, मर्धभक्त, दशरथ चन्द र गंगालालको अद्धितीय र उदाहरणीय साहस र बलिदानको कथा आज पनि प्रख्यात छ । यही बलिदानको प्रेरणा र उत्साहको जगमा २००७ को क्रान्तिद्वारा प्रजातन्त्र स्थापना हुँदै आज हामी यहाँसम्म आइपुगेका छौं भन्ने कुरा सबैले बिर्सनुहुन्न ।

सन्तानब्बे काण्डपछि
१९९७ को माघ महिनामा नरबली गरेर ता्तकालीन श्री ३ जुद्धसमसेरले आफ्नै टाउकामा भस्मासुर हात राखेथे । यी चारजना शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालको शहादतले मुलुकमा ठूलो कंपन ल्यायो । अनि जुद्ध समसेरको कायरतापूर्ण र अमानवीय चरित्रको पनि उद्घाटन भयो ।

यी चार वीर पुरुषको शहादत विवरण पढ्दा अनि तात्कालीन शासनको अमानवीय चरित्रबारे दृष्टिगत गर्दा आज पनि जोसुकैको आङ ढक्क फुल्छ । मुटु काप्ँछ । यस मुलुकको परिवर्तनको पूर्व सन्ध्याको अवस्था कस्ते थियो भन्ने कुरा अध्ययन गर्ने जो कोहीमा पनि भयावह कम्पन हुनसक्छ ।
सन्तानब्बे सालको यति ठूलो विभत्सकाण्ड गराएर सम्पूर्ण जनतामा आतंक सिर्जना गर्न खोज्ने राणा सरकार यसपछि क्रमशः कमजोर हुँदै गयो । तात्कालीन युवाहरुमा राणाविरोधी धारणा झन् बढ्दै गयो । राजनीतिक चेतना झन जागृत हुँदै गयो ।

दार्जिलिङमा वकालत
विश्वेश्वरप्रसाद कोइरालाले वनारस हिन्दू विद्यालयबाट बि.ए र कलकत्ता विश्वविद्यालयबाट एल.एल.बी गरिसकेपछि वि.सं १९९५ मा दार्जीलिङमा बसेर वकालत गर्न थाले । दार्जीलिङ त्यतिबेला नेपाली भाषासाहित्यको मुख्य केन्द्र बनेको थियो । सूर्यबिक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, केन्द्र सुन्दास, शिवकुमार राई आदिको सक्रियतामा भाष–साहित्यको विकास भइरहेको थियो ।

बी.पी कोइरालाले दार्जीलिङ बसेका बेला राजनीतिसँगै साहित्यतर्फ पनि सक्रिय योगदान दिन थाले । हंस, विशाल भारत जस्त हिन्दी पत्रिका र शारदा नेपाली पत्रिकाका माध्यमबाट कथा क्षेत्रमा नाम चलाइसकेको विपीले दार्जीलिङ रहँदा आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहे । दार्जिलिङबाटै उनको पहिले कृति ‘दोषी चस्मा’ कथा संङ्ग्रह छापिएको थियो ।

सन्तानब्बे काण्डको भत्र्सना
वि.सं १९९७ को प्रजा परिषद् काण्डमा राणाहरुका बारेमा सामान्य विरोध गरेकै कारण चारजनालाई फाँसी र अन्य दर्जनौंलाई विभिन्न प्रकारका सजाय भएको खबरले बी.पी. लाई आहत तुल्याएको थियो । त्यसैकारण बी.पी.को सक्रियतामा सुर्यबिक्रम ज्ञवाली, धरणीधर कोइराला, हरिप्रसाद प्रधान, रुपनारायण सिंह, महानन्द सापकोटा आदिलाई भेला गरी एउटा गोष्ठी आयोजना गरेका थिए ।

जुन सभाले नेपालका यी शहीदहरुप्रति श्रद्धाञ्जली दिएर राणा सरकारको भत्र्सना गरेको थियो । त्यसैबेला बी.पी.ले नेपालकोे राणा सरकारको समाप्त पार्न एउटा सशक्त सङ्गठन गर्नुेपर्नेबारे छलफल गरेका थिए । त्यहाँबाट क्रमशः विस्तारित हुँदै गएर पछि नेपाली राष्ट्रिय कांङ्ग्रेसको स्थापना गरिएको थियो ।

अङ्ग्रेज भारत छोड आन्दोलन
महात्मा गान्धीले “अङ्ग्रेज भारत छोड” भारतीयहरु हो— “गर या मर” को उद्घोष सहित सन् १९४२ अगस्टमा आन्दोलन प्रारम्भ गरेका थिए । यसपछि भारतभरि आन्दोलन चर्कियो । धरपक्कड सुरु भयो । महात्मा गान्धी, नेहरु आदि हजारौं नेता कार्यकर्ताहरु पक्राउ परे । केही महिनापछि हजारीबाग जेलबाट भागेका जयप्रकाश नारायण, डा. राम मनोहर लोहिया लगायतका दर्जनौं व्यक्तिहरु पक्राउबाट सुरक्षित हुन नेपालको सप्तरी आइपुगेका थिए ।

यी भारतीय नेताहरुले केही दिन स्थानीय प्रजातन्त्रवादी युवाहरुका बीच रहेर सक्रिय कार्यक्रम संचालन गरेका थिए । यसैबीच २००० जेठमा जयप्रकाश, लोहिया लगायतका सातजना पक्राउ परे । हनुमान नगर क्याम्पमा थुनिएका यी नेताहरुलाई सप्तरी वासीहरुले क्याम्प तोडेर छुटाएका थिए । यस घटनाको केही दिनभित्रै सप्तरी जिल्लाभरी नै राणा सरकारले आतंक मच्चाएर करीब १५० व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । सप्तरी काण्डबाट प्रसिद्ध यस आन्दोलनका प्रमुख नेता थिए— रामेश्वरप्रसाद सिंह । उनको नेतृत्वमा यति ठूलो घटना भएको थियो । यस घटनालाई सप्तरी काण्ड भनेर बुझिन्छ ।

गणेशमानको जेलब्रेक
‘प्रजा परिषद्’ काण्ड—१९९७ कार्तिकमा पक्राउ परेर अंश सर्वस्वसहित आजीवन कारावास सजाय पाएका गणेशमान सिंह २००१ आषाढ ७ गते जेलबाट भाग्न सफल भए । जेलबाट उम्किएपछि विभिन्न कस्टहरु झेल्दै भारत पुगेर निर्वासित भए पनि नेपालको राणातन्त्र विरुद्ध संङ्गठन गर्दै थिए । फलतः नेपाली राष्ट्रिय काङ्ग्रेस गठन हुँदा गणेशमान सिंह सक्रिय भएर लागेका थिए ।

चन्द्र समसेरको बक्रदृष्टिका कारण विं. सं १९७४ देखि निर्वासित कृष्णप्रसाद कोइराला र उनको करीब पचास जनाको परीवार भारतको बनारस, कलकत्ता र अन्य विभिन्न स्थानमा शरणार्थी रुपमा घुम्दै पछि विहारको टेढी दीपनगरमा बस्न थालेको थियो । “वासुदेव बर्मा र अरु केही जनाको सहयोग पाएर भागलपुरको टेढी भन्ने ठाउँमा पिताजीले अलिकति जमीन किन्नुभयो । म ती वासुदेव बर्माबाट पनि बडो प्रभावित भएको छु ।”

एउटा सम्पन्न परिवारले यसरी निर्वासित जीवन बिताउनुपर्दा बडो ठूलो सङ्कट भोग्नुपरेको कुरा बी.पी.ले चर्चा गर्नुभएको छ । ठूलाठूला माटोका भाँडामा चना भिजाएर त्यही चना र सक्खरका डल्ल बाँडीचुँडी खाएर बेलुकाको छाक टार्नुपथ्र्यो । यस्तो कष्टपूर्ण जीवन बिताउँदा पनि परिवारमा सुख र खुसीको वातावरण बनाइएको हुन्थ्यो ।

बी.पी.को राजनीतिक यात्रा
बी.पी. केही वर्ष त्यही गाउँको स्कूलमा पढेपछि बनारस गएर पढ्ने विचार गरे । तर बनारससम्म जाने पनि पैसा थिए । सानी आमा (सुशील कोइरालाकी आमा) र बहिनी नलिनीको एक तोला सुन लिएर बनारस पढ्न गएको प्रसङ्ग्ग बी.पी. कै आत्मकथामा छ । यसरी अत्यन्तै दुःखकष्टका साथै पढ्नुपरेको थियो बी.पी.ले । बी.पी.लाई गरीब विद्यार्थी भनेर आधा फिस माफ गरिदिएको थियो स्कूललले । उनीसँग दुई रुपियाँ महिना फी पनि तिर्न सक्ने अवस्था थिएन । (डा. तुलसी भट्टराईद्धारा लिखित बी.पी कोइराला र नेपाली कांग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ फाल्गुन १४, ०८: २२

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ फाल्गुन १४, ०८: २२

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ फाल्गुन १४, ०८: २२

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...