पश्न–सान्दाजु, समाजवाद समाजवाद सबै भन्छन्, तर समाजवाद भनेको के हो ? भारत, चीन, रुस, नेपाल र अमेरिकाको समाजवादमा के भिन्नता छ ?
उत्तर– समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ–त्यो हो, समानता ।
समाज दैवी संरचना होइन । त्यो शुद्ध भौतिक व्यवस्था हो । जसको उद्देश्य हो, समाजका सदस्यहरुको सर्वाधिक कल्याण र सुरक्षा । कल्याणा र सुरक्षाको अर्थ शुद्ध भौतिक छ– आध्यात्मिक होइन ।
समाजका सदस्यहरुका आकाङ्क्षा र आवश्यकताहरु प्रायः समान हुन्छन् । अर्थात् सदस्यहरुको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबैको हुन्छन् । उनीहरुको कला या विज्ञानको वृत्ति पनि प्रायः समान हुन्छ । जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनुपर्छ ।
अब समानताका यी दुई स्वयंसिद्ध निरोपण (पूर्वावस्था) पछि हामी समानताको अर्थलाई स्पष्ट भएको पाउँछौं— समानता— राजनीतिक र आर्थिक अर्थमा समाजवादले स्वीकार गरेको छ । राजनीतिक अर्थमा समाजवाद भनेको प्रजातन्त्र हो । अर्थात् समाजको सर्वोपरि शक्ति जो सरकार या राज्यमा निहित छ, त्यसको सञ्चालन जनताका प्रतिनिधिहरुले गर्नुपर्छ । ऐन कानुनको व्यवस्था दण्डबिधान हादी जनप्रतिनिधिहरुबाट हुनुपर्छ ।
समाजको सार्वभौमिक राज्य (सरकार) मा निहित हुन्छ । त्यसले बनाएको विधान या ऐन समाजका अरु समूह या तत्वहरुले बनाएको नियम कानुनभन्दा धेरै अधिकार सम्पन्न हुन्छ । त्यस सार्वभौमिक शक्तिले समाजको प्रत्येक स्तरमा आफ्नो शक्ति प्रदर्शन गर्नसक्छ र समाजका प्रत्येक सदस्यहरुलाई आफुले बनाएका संविधान या ऐनलाई मात्र बाध्य गराउन सक्छ । यत्रो सम्पन्नता भएको शक्तिको सञ्चालन एउटा व्यक्ति विशेष राजा होस् चाहे तानाशाहले गर्नुहुन्न भन्ने प्रजातन्त्रको सिद्धान्त हो । यस सिद्धान्तबाट केही व्यवहारिक राजनीतिमा परिणाम निस्कन्छ ।
१. जनताको प्रतिनिधिको सरकार गठन हुनुपर्छ ।
२. चुनाव वास्तविकता हुनुपर्छ । अर्थात जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुनुपर्छ । उसले राम शर्माको ठाउँमा पूर्णबहादुर या पूर्णबहादुरको ठाउँमा देवेन्द्र श्रेष्ठलाई चुन्न पायने स्तन्त्रता हुनुपर्छ । चुनाव भनेको विभिन्न व्यक्तित्वहरुका बीचको चुनाव ।
३. चुनाव स्वतन्त्रताको प्रश्न हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न, वा वाद विवादको स्वतन्त्रता आउँछ । वाद विावदकाृ स्वतन्त्रता भनेको वाक स्वतन्त्रता प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ । विभिन्न विचारधारा या मतहरुको चर्चा भएपछि मात्र चुनाव भन्ने प्रश्न उठ्न—कुन विचारधारा या मतको पक्षमा जनताले आफ्नो भोट दिने ।
४. यसका साथसाथै यसैसँग संलग्न अर्को पनि प्रश्न छ— त्यो हो सङ्गठनको स्वतन्त्रता । एकै मत या विचार भएका व्यक्तिहरुले सम्मिलित आवाज उठाउन पाउने अधिकारलाई सङ्गठनको स्वतन्त्रता भन्दछन् । सङ्गठनको अधिकार नभएपछि मत मातान्तरमा जनमत कतापट्टि रहेछ भन्ने कुरा थाहा पाइन्न । त्यस अवस्थामा चुनाव अर्थहीन हुन्छ । त्यसो हुनाले पार्टी खोल्न पाउने स्वतन्त्रता रहनुपर्छ, नागरिकहरुलाई ।
५. चुनाव ४–५ वर्षका अवधिमा भइरहनुपर्छ—एकचोटी चुनाव भएर जित्ने पार्टीलाई सदाकालका लागि राजकीय अधिकार प्राप्त होइरहँदैन् । सरकारमा रहेको पार्टीले आफ्नो कार्यकलापको लेखाजोखा, बही बुझाउन जनताको समक्ष आउनुपर्छ । यसको अर्थ हुन्छ, सरकारमा रहेको पार्टी र विरोधमा रहेको पार्टीलाई समान अधिकार उपलब्ध हुनु र चुनावको समान अवसर दुवैले पाउनु ।
६. व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सब अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथिनै बन्धन छ भन्ठान्नुपर्छ । समाजवादको यो एउटा मुख्य पक्ष प्रजातन्त्रको पक्ष हो । प्रजातन्त्र समाजवादमा निहित समानताको राजनीतिक रुप हो ।
समाजवादमा निहित समानताको अर्को रुप आर्थिक समानता हो । सबै नागरिकहरु आर्थिक दृष्टिमा समान हुनुपर्छ । समाजवाद आर्थिक विषमताको घोर विरोधी छ । आर्थिक समानताको प्रश्न राजनीतिक समानताको जस्ता एउटा क्रान्तिकारी कदममा एउटै निर्णायक कार्यबाहीमा सीमित छैन । अर्थात् राजनीतिक समानताको निर्णय हुनेबित्तिकै त्यो एकैचोटी कार्यान्वित पनि हुनसक्छ । किनभने मुख्यतः यो नैतिक निर्णय हो । एउटै ठूलो व्यापक क्रान्तिकारी विधानद्धारा राजनीतिक अधिकार सबैका लागि उपलब्ध गराउन सकिन्छ । तर आर्थिक समानता समाजको उत्पादन शक्तिमा निर्भर गर्छ । समाज यदि उत्पादनको दृष्टिबाट पिछडिएको छ भने आर्थिक समानता सम्भव छैन ।
मैले एउटा उदाहरण दिने गरेको छु दूधको यदि एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दूधको उत्पादन सय माना मात्र छ भने गणितको न्यायले समानता गर्ने नाउँमा सबलाई एक एक चम्चा दूध दिन सकियोस्, तर त्यस्तो समानता सामाजिक न्यायले समानता ठहरिन्न, अपव्यय ठहरिन्छ । यस्तो स्थितिमा केही मुठ्ठिीभरिका मानिसले दूध पाउँछन्, अरुले बिना दूधकै रहनुपर्छ । दूधको उत्पादनको वृद्धि गर्नपट्टि लाग्नुपर्छ, अनि मात्र पर्याप्त मात्रामा जनताले उपभोग गर्न पाउँछन् । दूधको चर्चा मैले यहाँ गरेँ । जुनसुकै जिनिस भए पनि यो न्याय त्यसमा लागु हुन्छ ।
त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित छ । यही आर्थिक समस्यालाई नबुझेर समानताको चर्चा गर्ने या समानतालाई व्यवहारमा ल्याउन खोज्ने माक्र्स पूर्वका समाजवादीहरुलाई एन्जेल्सले काल्पनिक समाजवादी भनेका छन् । माक्र्सले समाजवादको आर्थिक पक्षलाई खुब राम्ररी बुझेका थिए, त्यसो हुनाले उनले पूँजीवाद, जसमा उत्पादनको क्षमता अत्येधिक अभिवृद्धि हुन्छ । जसलाई आवश्यकता मानेका छन् र पूँजीवादलाई खास ऐतिहासिक कालका लागि प्रगतिशील हुन्छ पनि भनेका छन् । माक्र्सको यस्तो विचारलाई—एजेल्सले, अरु माक्र्स पूर्वका समाजवादीहरुको विचारसँग दाँज्दा, वैज्ञानिक समाजवादको संज्ञा दिएका छन् ।
आर्थिक समस्याहरुको समाधान एउटै कार्य र एक चोटिको नियमले हुँदैन । यो एउटा लामो प्रक्रिया हो । रुसमा क्रान्ति भएको ५० वर्षभन्द्या बढी भइसक्यो, आर्थिक समानतापट्टि सैद्धान्तिक आधारमा पाइलो चाल्दा पनि अझै समानताको लक्ष्य त्यहाँ प्राप्त भैसकेको छैन । यस सन्दर्भमा विचारणीय कुरो के छ भने समाजवादमा उत्पादन र वितरणमा नीति निर्धारण गर्दा समाजको कल्याणमाथि विशेष जोड दिन्छ, अरु अवस्थामा त्यसपट्टि ध्यान रहँदैन ।
यसरी समाजवादको मौलिक आधारलाई ध्यानमा राखेर मलाई सोधिएको प्रश्न—भारत, अमेरिका, चीन, रुस र नेपालको समाजवादमा के फरक छ र वास्तविक समाजवाद के हो, को उत्तर हुन्छ— विभिन्न मुलुकमा राजनीतिक समानता र आर्थिक समानताको उपलब्धि या मात्रामा अनुपलब्धिमा फरक पर्दछ । समाजवाद एउटै कुरा हो, जहाँका लागि पनि । अमेरिकामा समाजवादको लक्ष्य भनेको काला गोराको भेदको लोप हुनु, अझ व्यापक आर्थिक समानता जनतालाई उपलब्ध हुनु, उद्योगधन्दाको सामाजिकीकरण र तिनको त्यस्तै सञ्चालन जसमा आम जनताको धेरै भन्दा धेरै कल्याण होस्, दूषित वातावरण हुन नदिनु उत्पादनको एक हठ्ठी हुन नदिनु, आदि छन् ।
त्यहाँ राजनीतिक समानता छ, त्यसो हुनाले समाजवादको यो एउटा मुख्य लक्ष्य त्यहाँ प्राप्त भइसकेको छ । आर्थिक समानताको सम्बन्धमा उत्पादन प्रचुर मात्रामा त्यहाँ सम्भव भैसकेका छ । तिरणको सम्बन्धमा पनि यहाँ यस्ता श्रमिक नियमहरु बनिसकेका छन् । जो इमान्दारीसँग लागु गरिएमा केही हदसम्म समानताको लक्ष्य नजिकै त्यो समाज पुग्नसक्छ । यस दृष्टिबाट स्वीडेनमा समाजवादको लक्ष्यपट्टि समाज धेरै हदसम्म पुगिसकेको छ । रुसमा समाजवादको अर्थ हुन्छ प्रजातन्त्र— जसको मौलिक लक्षणको चर्चा मैले अघि गरिसकेको छु— को प्राप्ति किनभने आर्थिक समानतापट्टि उनीहरुको ध्यान र त्यसका सम्बन्धमा कार्यक्रम पनि पञ्चवर्षीय योजना अन्तर्गत बन्दै गएको छ । तर प्रजातन्त्र भने त्यहाँ जनतालाई प्राप्त छैन । समाजवादको यो अङ्ग अपुरो छ । रुसको दृष्टान्तले मेरो यो भनाइलाई पुष्टि गरेको छ कि आर्थिक समानता बारम्बार प्रयोग र कार्यान्वित भइरहने कार्यक्रमको क्षेत्र अन्तर्गत पर्ने विषय हो । त्यहाँ अझै धनी गरीब छन्, अझ वर्तमानमा असमानता छ, वास गाँसमा पनि नागरिकहरुमा, कतिले राम्रो व्यवस्था पाएका छन्, कतिको त्यति राम्रो छैन, यद्यपि रुसमा १९१७ को क्रान्तिपछि सैद्धान्तिक रुपबाट समानतालाई शीघ्रतिशीघ्र समाजमा ल्याउने प्रयत्न भइरहेको छ । चीनमा पनि त्यही कुरा छ । प्रजातन्त्र छैन, त्यसो हुनाले राजनीति समानता छैन, आर्थिक समानताका लागि प्रयत्न हुँदैन । प्रजातन्त्र बिहीन व्यवस्थ ागर्न पाएन भने आर्थिक समानता पनि केवल प्रापोगन्डाको विषय भएर जान्छ ।
हिन्दूस्तानमा प्रजातन्त्र छ । तर आर्थिक विषमता अत्येधिक छ । साथै उत्पादनको स्तर पनि अत्यन्त निम्न छ । हिन्दूस्तानमा समाजवादी दिशापट्टि देशलाई अग्रसर गराउन आर्थिक नीति, कर नीति, औद्यौगिक नीति आदिका सम्बन्धमा उग्रवाद विवाद छ । आर्थिक समानता प्रोगाम अन्तर्गत पर्ने हुनाले लक्ष्य प्राप्तिका लागि व्यवहारिक कुन चाँही नीति, योजना ठीक छ भन्ने कुरालाई लिएर हिन्दूस्तानमा मत भिन्नता छ । प्रजातान्त्रिक देश भएकोले यो मत भिन्नता व्यापक रुपमा जनताको सामुन्ने आउँछ ।
मैले समाजवादको मौलिक आधार प्रष्ट्रयाउने प्रयत्न गरे । त्यस आधारलाई बुझेपछि नेपालका लागि समाजवाद भनेको के हो, भन्न एकदम सजिलो पर्छ । नेपालमा राजनीतिक समानता पनि छैन— त्यसो हुनाले दुवै प्रकारका समानताका लागि प्रयत्नशल हुनु, सङ्घर्ष गर्नु, समाजवाद हो । नेपालमा यसप्रकार, अहिलेको सन्दर्भमा प्रजातन्त्रको स्थापना समाजवादको मुख्य ध्येय छ, आर्थिक समानताको प्राप्ति एउटा लामो प्रक्रिया हो । एउटा निर्णयद्वारा त्यसलाई सरकार गराउन सकिँदैन । जुनसुकै सिद्धान्त या नाराको दुहाई दिए तापनि, यदि त्यसबाट देशको राष्ट्रिय आम्दानीको वृद्धि भइको छ भने समाजवादको दिशातिर चालिएको यो एउटा गहकिलो र दरिलो पाइलो हो । आर्थिक क्षेत्रमा समानताको आधारशीलाको स्थापनाको जिम्मेवारी अहिले नेपाली समाजवादीहरुलाई छ ।
तसर्थ नेपालमा समाजवाद भनेको ः व्यक्तिगत स्वतन्त्रता ।
मौलिक अधिकार ।
पार्टी गठन गर्न पाउने अधिकार ।
वालिग मताधिकारबाट चुनावको व्यवस्था ।
प्रधानमन्त्री तथा मन्त्रिमण्डलको संसदप्रति उत्तरादायित्व ।
रराजाको वैधानिक स्थान ।
कानुनी शासन ।
जाली फटाहाहरुको उन्मूलन ।
पिछडिएका वर्ग र जातिलाई उनीहरुको उन्नतिका लागि हर क्षेत्रमा विशेष र तात्कालिक प्रोत्साहन ।
शासनको विकेन्द्रीकरण ।
झोरा समस्याको र नयाँ बसोबासको तात्कालीन समाधान, जोत्ने व्यक्तिहरुका नाउँ जमीन्लाई दर्ता गराएर ।
भूतपूर्व सैनिकहरुलाई राष्ट्र हितलाई ध्यानमा राखेर विकास कार्यमा बढी से बढी मौका दिने ।
उत्पादन वृद्धिका लागि राष्ट्रिय पुँजीलाई दुरुपयोग हुनदेखि जोगाउने व्यवस्था ।
किसानहरुको कानुनी अधिकारको दृढतापूर्वक संरक्षण ।
शिक्षा पद्धतीमा प्रजातान्त्रिक नियमानुसार सुधार र शिक्षण संस्थाहरुको स्वतन्त्रताको रक्षा ।
मजदूरहरुको कामको सुरक्षाद्धारा शोषणको अन्त ।
अक्षरशः तथा इमान्दारीपूर्वक तटस्थ परराष्ट्र नीतिको पालना । (डा. तुलसी भट्टराईद्धारा लिखित बी.पी कोइराला र नेपाली कांग्रेस नामक पुस्तकबाट)
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...