नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना

कलकत्तामा बसेका नेपालीहरु पनि जुट्न थाले । फलतः कलकत्ता भवानीपुरस्थित खाल्सा स्कूलको प्राङणमा २००३ माघ १२ र १३ गते दुई दिने अधिवेन प्रारम्भ भयो । अधिवेशनमा नेपाल र भारतका गरी दुई सय जतिको भेला थियो । विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियो । गणेशमान सिंह भारतमा पनि भूमिगत रुपमा रहनुपरेकाले कृष्णबहादुर नामबाट उहाँको सहभागिता रह््यो ।
अधिवेशनमा निकै ठूलो छलफलपछि सङ्गठनको नाम नेपाली राष्ट्रिय काङ्ग्रेस स्वीकृत गरियो ।

त्यसपछि विभिन्न प्रस्तावहरु पारित गरिए । नेपालमा प्रजातन्त्र स्थापना गर्न अहिंसात्मक आन्दोलन प्रारम्भ गर्ने कुरामा सबै एकमत भए । अहिंसात्मक आन्दोलनबाटै राजतन्त्र समाप्त पारेर प्रजातन्त्र स्थापना गर्ने कुरा सर्व स्वीकृत भयो । अधिवेशनले विभिन्न प्रस्तावहरु पारित गरेको थियो । अधिवेशनको दोस्रो दिन ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ को कार्यसमिति गठन गरियो । गणेशमान सिंहद्वारा—नेपालको जेलमा रहेका प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यको नाम सभापतिमा प्रस्ताव गरिएको थियो ।

बी.पी. कोइरालालाई सभापति बनाउनुपर्छ भन्ने अर्को प्रस्ताव थियो । तर बी.पी. ले नै टंकप्रसाद आचार्यको नाममा समर्थन जनाएपछि सर्वसम्मत रुपमा आचार्यलाई सभापति बनाइयो । बी.पी. कार्यबाहक सभापति बने । महामन्त्रीमा बालचन्द्र शर्मा, प्रकाशमान विभाग प्रमुखमा डा. डिल्लीरमण रेग्मी, सङ्गठनमन्त्रीमा कृष्णप्रसाद भट्टराईलाई निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा डी.एन प्रधान,रुद्रप्रसाद गिरी, गोपालप्रसाद भट्टराई, ल्याक्पा छिरिङ शेर्पा, डी.वी परियार र ईश्वर बराल छानिए ।

त्यस अधिवेशनको तयारीमा सक्रिय रहनेहरुमध्ये रामहरि जोशी, नरेन्द्रकुमार प्रधान, डीके शाही, सूर्यमान वान्तवा, लक्खीदेवी सुन्दास आदि मुख्य थिए । बनारसका नरेन्द्र रेग्मीको घरमा पार्टीको मुख्य राखिएको थियो । अनि बनारस शाखाका सभापति देवीप्रसाद सापकोटालाई नै बनाइयो । कलकत्ता शाखाका प्रमुख डी.एन प्रधान बने । यसरी नेपालको राजतन्त्र समाप्त पारेर प्रजातन्त्रात्मक शासनप्रणाली स्थापना गर्ने उद्देश्यका साथ पहिलोपल्ट नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टी स्थापित हुनुप¥यो । उसले विभिन्न गतिविधिहरु अघि बढाउन थाल्यो । नेपालभित्रका प्रजातन्त्रवादीहरुसँग पनि सम्र्पक बढाउँदै लग्यो ।

पहिलो मजदूर आन्दोलन
अहिंसात्मक माध्यमबाट सम्पूर्ण जनसमर्थन जुटाएर नेपालमा प्रजातान्त्रिक शासन पद्धती स्थापना गर्ने मुख्य उद्देश्यलाई पूरा गर्न नेपाली राष्ट्रिय काङ्ग्रेसका क्रियाकलाप विस्तारीत हुन थाले । यसको पहिलो प्रयोग थियो— विराटनगरको मजदुर आन्दोलन । विराटनगर त्यतिबेला मुलुककै औद्योगिक क्षेत्र बनेको थियो । चिनी मील, जुट मिल, कटन मील, रायस मील, तेल मील सलाई कारखानाका साथै अन्य धेरै प्रकारका मीलहरु थिए । मीलमा काम गर्ने मजदुरहरुलाई राम्रो सुविधा थिएन ।

मजदूरहरुमा असन्तुष्टि बढ्दै थियो । जुट मीलमा काम गर्ने— तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरी शर्मा, युवराज अधिकारी, मनमोहन अधिकारी लगायतले मजदुरको प्रतिनिधित्व गरेर मिल मालिक समक्ष विभिन्न माग एवं प्रस्तावहरु पु¥याएका थिए । त्यतिबेलै विराटनगर मजदुर युनियन गठन भयो गिरिजाप्रसादको अध्यक्षतामा ।

कोइराला दाजुभाइ— तारिणीप्रसाद र गिरिजाप्रसादको विशेष नेतृत्वमा २००३ फागुन २१ बाट मजदुरहरुले आम हड्ताल सुरु गरे । आन्दालेनलाई सघाउन नेपाली राष्ट्रिय काङ्ग्रेसका बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई लगायतका थुप्रै नेताहरु जोगवनी पुगे । २००३ चैत १० गते का दिन विराटनगरको शहीद मैदानमा विशाल आमसभा भयो । त्यस सभामा बी.पी. कोइराला लगायतले सम्बोधन गरेपछि आन्दोलन झन् चर्किदै गयो ।

दोस्रो दिन— चैत १२ गते बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी, मनमोहन अधिकारीहरुलाई पक्रिएर धनकुटाको बाटो भोजपुर, ओखलढुंगा, रामेछाप, काभ्रे हुँदै करीब एक महिना लगाएर काठमाडौं पु¥याइयो ।
यस मजदुर आन्दोलनले झन् उग्र रुप लिँदै गयो । बी.पी.की आमा दिव्या कोइराला, बहिनीहरु नलिनी, इन्दिरा आचार्य, कामिनी गिरी, वीरप्रसाद श्रेष्ठ, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा समेतलाई पक्रिएर धनकुटा जेलमा पु¥याइयो । त्यसपछि पार्टीको निर्णयबाट करीब दुई हप्तासम्म चलेको मजदुर आन्दोलनलाई स्थगित गरियो ।

पहिलो सत्याग्रह
यता २००३ चैत २८ गते जोगवनीमा नेपाली राष्ट्रिय काङ्ग्रेसले सम्मेलन गरेर २००४ बैशाख १ बाट देशव्यापी रुपमा सत्याग्रह गर्ने निर्णय ग¥यो । काठमाडौंमा ‘नेपाल नेशनल लीग’ नामक संस्था खोलेर गोपालप्रसाद रिमाल र दमनराज तुलाधरले आन्दोलनबारे जनचेतना फैलाउन थालेका थिए । विराटनगर, वीरगञ्ज, काठमाडौं जनकपुर, इलाम, झापा, सप्तरी, दाङ, नेपालगञ्ज आदि क्षेत्रमा सत्याग्रह आन्दोलन भए । काठमाडौंमा दुई हप्तासम्म विभिन्न मागसहित जुलुस, सभा, हड्ताल आदि भएका थिए । श्री ३ पद्मसमसेरले सत्याग्राहीका मागहरु पूरा गरिदिने भनेपछि आन्दोलन स्थगित भयो ।

जयतु संस्कृतम्
२००४ असार १ गतेदेखी तीनधारा, संस्कृतम् पाठशालाका विद्यार्थीहरुले ‘जयतु संस्कृतिम्’ नाम राखेर विभिन्न माग, जुलुस र सभाहरु गर्न थाले । यो पनि एउटा अनौठो प्रकारको आन्दोलन थियो । राणाशासनले सुधार समिति गठन गरेर तात्कालीन शासन व्यवस्थामा सुधार ल्याउने घोषणा गरेको थियो ।

बी.पी. जेल मुक्त
मजदूर आन्दोलन र सत्याग्रहका बेला पक्राउ परेकाहरु पनि रिहा हुँदै गए । यता काठमाडौं जेलमा रहेका बी.पी. कोइरालाको स्वास्थ्यस्थिति ज्यादै बिग्रदै गएको थियो । त्यसैबेला सन् १९४७ अगस्ट १५ का दिन ब्रिटिश शासनबाट भारत स्वतन्त्र भयो । यसबाट नेपालीहरुमा पनि झन् उत्साह थपियो । त्यसपछि गान्धीजी र जयप्रकाश नारायणको राणा सरकारलाई पठाएको पत्र र अन्य विभिन्न पत्रपित्रकामा बी.पी.को अवस्थाबारे छापिएपछि बी.पी. लाई जेलमुक्त गरियो ।

सभापति विवाद
बी.पी. कोइराला विराटनगरको मजदुर आन्दोलनबाट पक्राउ परेर काठमाडौं जेलमा राखिएपछि डा. डिल्लीरमण रेम्गी नेपाली राष्ट्रिय काङ्ग्रेसको कार्यवाहक सभापति बनेका थिए । बी.पी. जेलबाट छुटेर आएपछि ‘सभापति’ को कुरामा रेग्मीले विवाद गरे । पद छोडेनन् । जसले गर्दा नेपाली राष्ट्रिय काङ्ग्रेसका प्रायः सबैसदस्य भेला भएर बी.पी.लाई सभापति बनाएपछि डिल्लीरमण गुट छुट्टै भयो । बी.पी. को सभापतित्वमा नेपाली राष्ट्रिय काङ्ग्रेसले फेरी गति लिन थाल्यो । विभिन्न कार्यक्रमहरु हुन थाले ।

२००४ माघ वसन्त पञ्चमीबाट ‘युगवाणी’ पत्रिका प्रकाशित हुन थाल्यो । नारायण भट्टराई, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्माको सम्पादनमा प्रारम्भ भएको युगवाणीका मुख्य सहयोगी महाकवि देवकोटा थिए । उता कलकत्ताबाट ‘इन्डिया टुडे’ पनि प्रकाशित हुन थालेको थियो ।
२००४ माघ २० गते नेपाली राष्ट्रिय काङ्ग्रेको दोस्रो अधिवेशन बनारसमा भयो । यस अधिवेशनबाट महात्मा गान्धीको हत्याबारे भत्र्सना निन्दा प्रस्ताव गरियो । साथै सम्मेलनद्वारा नेपालमा राणा विरुद्धको आन्दोलन अझ सशक्त पार्न सहमति जनाइयो ।

नेपाल प्रजातन्त्र काङ्ग्रेस

वि.सं ११९० मा जुद्ध समसेरले राणा परिवारलाई ए.बी.सी. श्रेणीमा विभाजन गरेका कारण प्रायः सो वर्गमा परेकाहरु कतिपयलाई धपाइयो भने कतिले स्वेच्छाले देश छोडेका थिए । सो वर्गमा परेका सुर्वणसमसेर र महावीर समसेर कलकतामा बस्तथे । यी बाहेक अन्य केही व्यक्ति मिलेर बैठकद्वारा—‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ स्थापना गरे । २००५ पौष १५ का दिन महेन्द्र विक्रम शाहको सभापतित्वमा विधिवत् यो सङ्गठन बन्यो । यसमा सूर्यप्रसाद उपाध्याय महामन्त्री भए भने राजेश्वरी उपाध्याय, प्रेमबहादुर कंसाकार, सुवर्ण समसेर, महावीर समसेर, सुन्दरराज चालिसे आदि सदस्य थिए । ‘नेपालमा जनराज्य स्थापना र महाराजधिराजको मुक्ति’ यस सङ्गठनको मुख्य उद्देश्य थियो ।

बी.पी कोइरालाद्वारा आमरण अनसन
वि.सं. २००५ कार्तिक १७ मा बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित काठमाडौं सङ्गठन विस्तार गर्ने उद्देश्यले त्यसतर्फ लागे । जनकपुरका बोधप्रसादको सहयोगमा विभिन्न भेसभुसामा रुपान्तरित हुँदै काठमाडौं पुगेर त्यहाँबाट बौद्धिक वर्गमा सम्पर्क स्थापित गर्न थाले । कृष्णप्रसाद भट्टराई, एक महिना जति बसेर भारततिर फर्किए । उता बी.पी. गोप्य रुपमा सङ्गठनमा जुटेका थिए । यसैबीच बी.पी. पक्राउ परे । पक्राउ पर्न लागेका बेला उनी भाग्ने क्रममा कोट स्वेटर केही पनि लगाएका थिएनन् । त्यही रुपमा पक्रेर जेल हालियो । उनलाई ओढ्ने ओछ्याउने केही पनि दिएनन् ।

पुस माघको चिसोमा कठ्याङ्ग्रिएर बी.पी.को ज्यादै असहनीय अवस्था भयो । बी.पी.लाई बयान लिने र कोर्रा हान्ने काम सँगसँगै हुन्थ्यो । सङ्गठनबारे बी.पी.लाई सोधिन्थ्यो । नभएनेकोमा कोर्रा हानिथ्यो । एक हप्ता जति यसरी यातना दिएपछि जेल चलान गरियो । जेल भन्नु मात्र थियो । एक जना पनि राम्ररी सुत्न नमिल्ने कठघरा–कालकोठरी थियो । करीब चार महिनासम्म बी.पी त्यस्तै कठोर यातना झेल्दै बसेपछि राजबन्दीलाई मानवोचित व्यवहार गरियोस् भनी २००६ बैशाख १६ गतेदेखि आमरा अनशन बसे । अनशन बसेको एक हप्तापछि नै बी.पी.को स्वास्थ्य बिग्रदै गयो ।

भारतीय सञ्चार माध्यमहरुमा बी.पी.को अनशनका बारेमा छापिन थालेपछि जवाहरलाल नेहरु, जयप्रकाश नारायण, लोहिया आदि नेताहरुले मोहन समसेरलाई तार पठाएर बी.पी.लाई रिहा गर्न अनुरोध गरे । नेपालमा पनि बी.पी.को रिहाइका निम्ति विभिन्न प्रदर्शनहरु भए । नेपालभित्र बाहिर बी.पी.को रिहाइ सम्बन्धमा थुप्रै आवाजहरु उठ्न थाले । बी.पी.की आमा दिव्या कोइरालासँग माहेन समसेरले भनेछन्—“छोराको अनशन तोड्यौ भने रिहा गरिदिनेछु ।” तर आमा दिव्याको उत्तर बडो विचित्रको थियो–

“मेरो छोरो देशको निम्ति मर्छ भने मरोस्, त्यसको मलाई चिन्ता छैन । चार वर्षअघि यसै ठाउँको जेलमा निधन भएका पतिको अन्त्येष्ठि गरेकी थिएँ । छोराको पनि अन्त्येष्ठि गर्न तयार भएर आएकी छु ।” आमा दिव्याको यस्तो दृढताका कारण सबै आश्चर्यचकित परे । रिहाइपछि मात्र अनशन तोड्ने बी.पी.को अडान अन्ततः २९ औं दिन पुरा भयो । अर्थात् बी.पी.लाई रिहा गरियो । रिहाइपछि आमा दिव्याको हातबाट फलफूलको रस पिएर बी.पी.को अनशन भङ्ग भएको थियो । २९ दिन सम्मको यति लामो आमरण अनशनबाट बी.पी.को पुनर्जन्म भएको यो ऐतिहासिक घटना विश्वलाई नै चकित पार्ने घटना थियो ।

बी.पी.ले यस महान् अहिंसात्मक अस्त्र— आमरण अनशनको माध्यमबाट एक प्रकारको मृत्युमाथि नै विजय प्राप्त गरेको थिए । “श्री ३ को गद्दी ताक्ने तिमि–गद्दीमा बस्न त पुर्पुरोमा लेखेर आउनुपर्छ ।” भन्ने मोहन समसेरका निमित पनि एउटा राम्रो जवाफ थियो । बी.पी.ले गान्धीजीको हतियार—‘अनशन’को प्रयोग गरेर एउटा ठूलो विजय प्राप्त गरेका थिए । २००३ को मजदूर आन्दोलनमा पक्राउ परेका तारिणीप्रसाद, गिरिजाप्रसाद, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीहरुले पनि २००६ कार्तिक २२ गतेबाट आमरण अनसन गरेका थिए । विभिन्न दबाबपछि २४ दिनका दिन यीसबैलाई रिहा गरियो ।

झरोखर काण्ड
२००६ असोज ८ का दिन बिहारको रक्सौलबाट गणेशमान सिंह, केदारमान व्यथित, मेघराज शर्मा, भरतप्रसाद उपाध्याय समेतलाई भारतीय प्रहरीले पक्राउ ग¥यो । केही दिन अघि नेपाली सीमा छेउको ‘झरोखर’ भन्ने ठाउँमा नेपाली प्रहरीले यिनीहरुलाई पक्राउ गर्न खोज्दा व्यथितले एक जना प्रहरीमाथि गोली हानेर उम्किएका थिए । त्यसै अभियोगमा पक्राउ परे । केही दिनमा व्यथितबाहेक अरु छुटे । तर व्यथितलाई चाँहि नेपालमा २००६ को प्रजातन्त्र आएपछि गृहमन्त्री बी.पी.को अनुरोधमा मात्र छोडिएको थियो । यस घटनालाई ‘झरोखर काण्ड’ भनिन्छ । (साभारः डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी.कोइराला र नेपाली काङ्ग्रेस नाम पुस्तकबाट)

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ चैत्र १९, ०९: ३७

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ चैत्र १९, ०९: ३७

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ चैत्र १९, ०९: ३७

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...