हरिविनोद अधिकारी
१. नयाँ वर्ष २०७५ सुरु भएको छ । संविधान कार्यान्वयनका लागि नयाँ वर्ष २०७४ एउटा चुनौतीको वर्ष पनि थियो र आशाको वर्ष पनि रह्यो । संविधानले तोकेको पूर्वाधार पूरा गर्नका लागि पूरै वर्ष निर्वाचनमय भयो ।
मुलुक संक्रमणकालबाट गुज्रिरहेको बेलामा पनि समय त गुज्रिरहेकै थियो । संक्रमणकालको व्यवस्थापनको अवस्था अझै नाजुक देखिन्छ । कम्तीमा यो वर्ष विश्वासको संकट नआओस् र संक्रमणकालको व्यवस्थापन हुन सकोस् ।
२.विक्रम संवत २०७५ सुरु भएको छ र २०७४सालको समीक्षा पनि सुरु भएको छ । २०७४मा नेपालमा संक्रमणकालको व्यवस्थापना लागि निर्वाचन सम्पन्न भएको छ । विगतबाट पाठसम्म सिक्ने हो, तर काम त वर्तमानमा नै गर्नुपर्छ र त्यसलेमात्र भविष्यको डोरेटो कोर्न सक्छ । वर्तमान भनेको अहिलेको समय हो जुन शनिवारदेखि नयाँ वर्षको रुपमा नेपाली आँगनमा उदाएको छ ।
३.२०७२सालको असोज ३ गते घोषित संविधानका धेरै धाराहरु अझै कार्यान्वयनमा आएका छैनन् । सातओटा प्रदेशको अवधारणाले नै मूर्तरुप लिए पनि आवश्यक कानुनको निर्माण सम्पन्न नभएकाले संघीयताको वारेमा अन्यौल देखिन थालेको छ । ससंविधानको पहिलो चक्र पूरा भएको मानिए पनि व्यवहारमा संविधानको कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।
४.संक्रमणकालको अर्को छनक सरकारको स्वरुपले पनि दिएको छ । सरकार कानुनतः अल्पमतको भए पनि वाम गठबन्धनका कारणले र सातओटामध्ये ६ ओटामा वाम गठबन्धनको बहुमतीय सरकार बनेकोले एमाले र माओबादीको एकीकरणको स्वरुप कस्तो हुने भन्ने प्रश्न यो नयाँ वर्षमा पनि देखिएको छ । स्वयं माओबादी केन्द्र मूलतः संसदीय व्यवस्थाको पक्षधर पनि होइन र त्यसले प्रजातन्त्रीकरणलाई पृष्ठपोषण नै गर्ला भन्ने पनि छैन । तर एमाले र माओबादीको गठबन्धनले सरकार पनि बनेका छन् र एकीकरण पनि हुन सकेको अवस्था छैन अझै ।
५.मधेसवादीका समस्या छन् भने संविधान संशोधनको कुरा छँदैछ तर कसरी गर्ने भन्ने कुरा फेरि अन्यौलमा छ । अचम्भ भएको छ—मधेसवादी भनेर आफूलाई चिनाउने दलहरु रातारात एमालेका समर्थक भएका छन् र संघीय सरकारलाई समर्थन गरिरहेका छन् संविधान संशोधन हुने शर्तमा । तर संविधान कसरी संशोधन हुनेछ भन्ने कुनै आधार पनि छैन र हुनसक्ने अवस्था पनि देखिँदैन । एकातिर सरकारलाई समर्थन गर्दाछन् भने अर्कोतिर विपक्षी बेन्चमा बस्दाछन् । केही कुराहरु त्यसै रहस्यमय नै छन् ।
६.तर आशा गरौँ, यो नयाँ वर्षको वर्तमानले सबै समस्याहरुको समाधान निकाल्ने छ । वास्तवमा राजनीति कुनै गणित जस्तोमात्र हुँदो रहेनछ । स्थानीय तहको अहिलेको संरचनामा स्थानीय सरकारको अवस्था सोचेभन्दा धेरै नै बलियो र विकासपन्थी देखिन्छ । स्वायत्त र स्वरोजगारी देखिन्छ । यदि संविधानले दिएको अधिकारलाई राम्रैसँग इमान्दारिताका साथ अभ्यास गर्ने हो भने यस्तो शासन ल्याउन ढिलो भएको टिप्पणी आउने छ स्थानीय जनताबाट । तर अहिलेको यो अधिकारको खिँचातानीमा कसरी स्थानीयताको स्वायत्तताको प्रयोग होला, अभ्यास होला ? विचारणीय छ ।
७.यो नयाँ वर्ष भनेर सुरु भएको २०७५सालमा नै धेरै काम गर्नु पर्नेछ । नेपालको पुनर्संरचनाले यथार्थमा मूर्त रुप लिँदैछ । भएका दलहरु र नेताहरुका वारेमा नकारात्मक टिप्पणी गरेर एकअर्कालाई गलत तत्वको रुपमा व्याख्या गर्नुभन्दा प्रजातन्त्रका पक्षमा जनमत तयार गर्नु जरुरी छ । जसले सरकार चलाए पनि , जो सरकारमा भए पनि मुलुकमा प्रजातन्त्रीकरणले बाटो नबिराउने प्रत्याभूति मुलुकलाई दिनु नै अहिलेका सत्तासीनहरुको कर्तव्य हुनेछ । तर जनतालाई त्यो विश्वास हुन सकिरहेको छैन । सर्वप्रथम जनतामा आएको नैराश्यतालाई आशामा बदल्नु जरुरी छ । शान्ति, विश्वास, प्रेम र आशाका वारेमा एउटा नीति कथा यस्तो छ ।
८.एउटा नीति कथामा भनिएको छ— एकपटक एउटा कोठामा चारओटा मैनबत्ती बलिरहेका थिए । कोठामा कोही थिएन । कोही नभएको मौका पारेर मैनबत्तीहरु कुरा गर्न थाले । चारओटा मैनबत्तीहरु लहरै बलिरहेका थिए । त्यसमध्येको दाहिने तिरको पहिलो मैनबत्तीले अरु तीनओटालाई भन्यो—म शान्ति हुँ । अचेल जहाँतहीँ जोसँग पनि जो पनि झगडा, मारपिट, लडार्इँ गर्न थाले । व्यक्ति व्यक्ति, देश देश तथा आफ्नै दाजुभाइ पनि आपसमा लडार्इँ गर्न थाले । म जलिरहनुको अब कुनै अर्थ रहेन । शान्तिको कुराचाहिँ सबै गर्छन् तर वास्ता गर्दैनन् । आफूले भनेका जस्तो भएमात्र शान्ति कायम गर्न सकिन्छ भनेर ढिपी लिन्छन् । त्यसैले साथीहरु म निभ्छु । यति भनेर त्यो शान्तिरुपी मैनबत्ती निभ्यो ।
९.त्यसपछि अर्को मैनबत्तीले पनि अरु बाँकी दुईओटा मैनबत्तीलाई भन्यो—म विश्वास हुँ । म पनि विश्वासको वातावरण आपसमा र संसारभरि फैलियोस् भनेर जलिरहेको थिएँ । आजभोलि कतै पनि विश्वासको महत्व छैन । झुठो कुरा टिक्न थाल्यो, झुठोको बोलवाला हुन थाल्यो । एकअर्कालाई ठग्नका लागि झुठको सहारामा सबै परेपछि मेरो अब के काम रह्यो र ? विश्वासका नाममा अविश्वासको वर्चस्व बढेको देखेपछि अनि म किन जलिरहूँ ? म पनि निभ्छु । अनि विश्वासरुपी मैनबत्ती पनि निभ्यो ।
१०. तेस्रो मैनबत्तीचाहिँ प्रेम थियो । उसलाई पनि दिक्क लाग्न थालेको थियो । उसलाई पूरै जल्न त मन थियो तर मान्छे आफूसँग , आफ्ना बारेमा पनि सोच्न छोडेपछि र आफूमा पनि प्रेम गर्न भ्याउन छोडेको देखेपछि अर्कोलाई भन्यो— वास्तवमा म बाँचिरहन चाहन्थेँ । मसँग बाँच्न क्षमता पनि छ । तर मानिसहरु प्रेम गरेर आपसमा मिलेर बस्नेभन्दा जीवनमा घृणा, द्वेष , रिस राग, मत भिन्नतामा रमाउन थालेपछि अब मेरो पनि कुनै काम भएन । अब म पनि निभ्छु । यत्ति भन्दै प्रेमरुपी मैनबत्ती पनि झ्याप्प निभ्यो ।
११.प्रेमरुपी मैनबत्ती निभ्दानिभ्दै एउटा बालक त्यो कोठामा पस्यो र भन्यो—अरु मैनबत्ती खोइ ? किन पूरा नबली निभेका हुन् ? अबोध बच्चा छक्क प¥यो र बिलौना गर्न थाल्यो —अब मैले कहाँबाट शान्ति, विश्वास र प्रेम ल्याउने ? यसरी बिलौना गर्दै रुन थाल्यो कि अर्को बलिरहेको मैनबत्ती पनि सँगै रुन थाल्यो । बच्चाले अर्को बलिरहेको मैनबत्तीलाई ननिभ्दै सोध्यो —तिमी को हौ ? जे भए पनि तिमी अहिले नै ननिभ है । मलाई यो कोठामा उज्यालो चाहिन्छ ।
१२.चौथो मैनबत्तीले भन्यो —म आशा हुँ । तिम्रो अनुरोधमा म निभ्दिन । हुन त मलाई पनि अब निभ्न मन लाग्न थालेको थियो किनभने हामी चारैओटा सल्लाहले बलेका थियौँ र मानिसहरुका लागि आवश्यक शान्ति, विश्वास, प्रेम र आशा बाँड्न आएका थियौँ ।
१३.सानो बच्चाले अब खुसी हुँदै भन्यो— त्यसो भए अब तिमी मसँग भयौ भने म शान्ति, विश्वास र प्रेमलाई पनि एकदिन यही कोठामा ल्याएर जगाउन सक्ने छु । आशा नै मेरो भोलिको आधार हो । आशा भयो भने म जे पनि गर्न सफल हुन सक्ने छु । कृपया मसँग तिमी बस , मलाई छोडेर नजाऊः है ।
१४.त्यसपछि आशा यो संसार छोडेर गएन । त्यसपछि मानिसले आफ्नो आचरण परिवर्तन गर्दै फेरि यो संसारमा शान्ति, विश्वास र प्रेमलाई फर्कायो ।
१५.यो त नीति कथा हो तर आजको हाम्रो अवस्था पनि त्यस्तै भएको छ । मुलुकमा शान्ति छैन, प्रत्यक्ष गोलीबारीमात्र बन्द भएको हो ,शान्तिसुरक्षाको अवस्था नाजुक छ । जातजातिका बिचमा आपसी सद्भाव खल्बलिएको छ । विश्वासको सङ्कट सबैमा देखिएको छ । झन राजनीतिक स्वरुपमा त विश्वासको सङ्कट यसरी गहिरिएर गाडिएको छ कि त्यसको उदाहरण नै अहिलेको काँग्रेस, एमाले र माओबादीका बिचको मतभिन्नतामा देखिएको छ ।
१६. सरकारको गठनबाट नै अहंकार देखिएको छ , दम्भ देखिएको छ जवकि वाम गठबन्धनमात्र भएको हो कानुनतः एकीकरण भइसकेको छैन । होस् तर हुन सकेको अवस्था छैन ।
१७.कुनै यो नैराश्यता पनि होइन , कुनै कुण्ठा पनि होइन तर यथार्थतामा त्यही देखिएको छ । त्यसैले यो नयाँ वर्षले नेपालीहरुमा आशा जगाओस् र मुलुकले संक्रमणकाललाई सहज तरिकाले सम्पादन गर्न सकोस् । सबै तहका निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको कदर हुन सकोस् र तीन तहका सरकारद्वारा मुलुकको काँचुली फेर्नका लागि इमान्दारिताका साथ काम गर्ने वातावरण बनोस् ।
१८. र अन्त्यमा, स्वाभिमानी नेपालीको स्वतन्त्र नेपालको अस्तित्वमा कतैबाट पनि यो नयाँ वर्षमा आँच नआओस् र नेपालको विकासमा यो वर्ष स्मरणीय होस् । शान्ति, विकास, समृद्धि र आधुनिकीकरणमा यो वर्ष नेपालीका लागि फलीफाप सिद्ध होस् ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...