पौष एक काण्डः के थियो – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

पौष एक काण्डः के थियो

प्रत्येक महिनाको पहिलो दिन १ गते कहलाउँछ । यो परापूर्व कालदेखि नै चलिआएको हुनाले अनौठो कुरा होइन । तर नेपालका सन्दर्भमा भने पौष १ निकै फरक छ । ५७ वर्ष अघिको पौष १ आज पनि धेरैले सम्झिएका छन् । २०१७ पौष १ छुट्टै रुपमा आएको थियो ।

यस दिन दुई तिहाई बहुमतबाट चुनाव जितेर सरकार बनाउने नेपाली कांङ्ग्रेसको सरकार तत्कालीन राजा महेन्द्रद्वारा बर्खास्त गरेर संसद समेत निलम्बन गरिएको दिन थियो । त्यति मात्र होइन सम्पूर्ण संसदीय परिपाटी र पार्टी सङ्गठन समेत प्रतिबन्धित गरिएको थियो । जसको एउटा सानो शब्दचित्र यसप्रकार छ ः

“२०१७ साल पौष १ गतेको काण्ड न केवल घोर अप्रजातान्त्रिक हो, त्यो घोर अराष्ट्रिय पनि हो । जनताको मौलिक अधिकारको हननलाई कुनै पनि अर्थमा राष्ट्रियताको कदम भन्न सकिन्न ।”
२०१७ पुस १ गते तरुणदलको उद्घाटन अधिवेशन भाषण सक्नेबितिकै पक्राउ परेका तत्कालिन प्रधानमन्त्री जननेता बी.पी. कोइरालाले आठ वर्षपछि २०२५ कार्तिक १४ गते मुक्त भएर विराटनगर पुगेपछि उक्त भनाइ राखेका थिए ।

त्यसबेला लौहपुरुष गणेशमान सिंह पनि बी.पी.सँगै आठ वर्षपछि जेलमुक्त गरिएका थिए । तर सभामुख कृष्णप्रसाद भट्टराईले भने थप २ वर्ष जेल बसेर २०२७ साल बैशाखमा मात्र छुटकारा पाएका थिए । पौष १ गते दिउँसो ३ः३० बजे नेपाली कांङ्ग्रेसको मन्त्रीमण्डल विघटन भएपछि सोही दिन संसद पनि समाप्त गरियो । अधिकाङ्श मन्त्री र सांसद यसैदिन पक्राउ गरिए । पौष २२ गते सम्पूर्ण पार्टीहरु अर्थात् राजनीतिक दल प्रतिबन्धित भएको कुरा प्रकाशित गरिएको थियो ।

पौष १ गते संसद विघटन एवं जननेता र कार्यकर्ताहरुको पक्राउको खुसीयाली व्यक्त गर्न र राजा महेन्द्रको त्यस कदमको स्वागत गर्न नगरका केही ठाउँमा दीपावली समेत गरेका थिए । स्मरणीय कुरा के छ भने त्यसै दिन नगेन्द्रप्रसाद रिजालको नेतृत्वमा हर्षोल्लास जुलुस पनि निस्किएको थियो ।

“म र मेरो पार्टीको पूर्ण समर्थन छ । पौष १ गतेको श्री ५ को कदमको स्वागत गर्दछु ।” डा. के आई. सिंहले भनेका थिए ।
राणाकालमा बीसवर्ष जेल बसेका खड्गमान सिंहले—“श्री ५ को पौष १ गतेको कदम प्रजातन्त्रप्रति पवित्र प्रेम प्रदशन हो” भने ।
“श्री ५ द्वारा प्रजातन्त्रको बुनियाद अनुसार काम गरिबक्सेको छ । श्री ५ को भावी कामप्रति मेरो पूर्ण विश्वास छ ।” डा. डिल्लीरमणको स्वागत वक्तव्य पनि आयो ।

नयाँ समाज, सहिबाटो, हालखबर, स्वतन्त्र समाचार, समाज, कमनर, फिलिङ्गो, नेपालभाषा पत्रिका समीक्षा, मदरल्याण्ड, दैनिक नेपाल, नेपाल टाइम्स, गोरखापत्र र अन्य पत्रपत्रिकाहरुले समेत “श्री ५ बाट देश बचाउन चलिबक्सेको यो कदम उचित छ । श्री ५ को यस कदमले नेपाली जनतालाई अभयदान गरेको छ । हाम्रो पूर्ण समर्थन छ ।” भनेर गुणगाणमा लेख्न थाले ।

पौष १ गतेका दिन पक्राउ गरी नजरबन्द राखिएका विभिन्न पार्टीका नेता र कार्यकर्ताहरुलाई सर्त सहितका फारम धमाधम भर्न लगाएको थियो ।
“श्री ५ द्वारा पौष १ गते उठाइबक्सेको कदम कस्तो लाग्यो ? (अर्को व्यवस्था कस्तो हुनुपर्छ ?)
प्रजातन्त्र व्यवस्थित पार्न एउटा छुट्टै आधार खडा गर्नुपर्ने कुरामा तपाईको विश्वास छ कि छैन ? नेपालको शान्तिपूर्ण नागरिक भएर बस्ने इच्छा छ कि छैन ? म कुनै पनि काम गर्नुअघि स्वीकृति लिनेछु ।”

यसप्रकारको फराम भर्नेहरु जति सबै नजरबन्दबाट छुटे । पौष १ गतेका दिन पक्राउ पर्नेहरुमध्ये डा. तुलसी गिरी र प्रमुख सचेतक विश्वबन्धु थापा ५ गते नै छुटे अनि पौष १२ गते श्री ५ महेन्द्रको अध्यक्षतामा बनेको मन्त्रिण्डलमा समावेश हुन पुगे । सोही दिन गठित मन्त्रिमण्डलमा ऋषिकेश शाह, सूर्यबहादुर थापा, अनिरुद्रप्रसाद, नागेश्वरप्रसाद, खगेन्द्रजङ्ग गुरुङ्, काजीमान लिम्बु र भुवनालाल प्रधन परेका थिए ।
पौष १ गतेको कदम स्वागतयोग्य छ भनेर प्रशंसा गर्ने प्रमुख व्यक्तिहरुमा—टंकप्रसाद आचार्य, रङ्गनाथ शर्मा, मातृकाप्रसाद कोइराला, डा. के.आई सिंह, भद्रकाली मिश्र, डिल्लीरमण रेग्मी, मृगेन्द्र शमसेर, प्रेमबहादुर कंसाकार, गजेन्द्रनारायण सिंह, रणधीर सुब्बा, भूदेव राई, खड्गबहादुर कार्की, विजय मल्ल लगायत अरु पनि धेरै थिए ।

गोरखापत्रले त “रामराज्यको पवित्र परिकल्पनाको प्रारम्भिक चरण पनि हो यो पौष १ गतेको कदम” भनेर सम्पादकीय नै लेख्यो । प्रायः यसबेलाका पत्रपित्रका कुनैले संसद भङ्ग र प्रजातन्त्र समाप्त गरेको पनि पौष १ गतेको काण्डबारे विरोधमा लेख्न चाहेनन् अथवा लेख्न सकेनन् ।
वि.सं २०१७ माघ १२ गते सुवर्ण शमसेरको अध्यक्षतामा भारतको पटनामा नेपाली कांङ्ग्रेसको सम्मेलन भयो । त्यस सम्मेलनद्वारा पौष १ गते काण्डको निन्दा र भत्र्सना गर्दै पुनः प्रजातन्त्र फर्काउन प्रयत्न गर्ने घोषणाहरु भए ।

यता काठमाडौंमा फागुन १२ का दिन कालोपट्टि बाँधेर पौष १ काण्डको विरोध प्रर्दशन गर्ने क्रममा एक दर्जन जति पक्राउ परेका थिए । नोना कोइराला, शैलजा आचार्य, गौरी राणा, विजया शर्मा, कुन्दन शर्मा, टंकलाल, उद्धव पधान, उत्तरनारायण अमीरमानहरु त्यसदिन मुख्य पक्राउ पर्नेहरुमा थिए ।

नेपाली काङ्ग्रेसद्वारा सम्भवतः यस दिनको प्रजातन्त्र हत्याकाण्डको निन्दा गर्दै असहमत पक्षले कालोपट्टि विरोध प्रर्दशन गरेको हुँदा पौष १ गते काण्डलाई कालो दिवसका रुपमा मान्न थालियो । पञ्चायत पक्षबाट भने यस दिनलाई संविधान दिवसका रुपमा मान्न थालियो । यस दिनलाई नेपाली कांङ्ग्रेसले कालो दिवसको संज्ञा दिएर विरोध प्रदर्शन गर्ने गरेको थियो । नेपालभित्र भने विरोध कार्यक्रमहरु सञ्चालन हुन सक्ने अवस्था थिएन । तैपनि लुकिछिपि उक्त दिन विरोध दिवस मनाइन्थ्यो ।

२०१८–०१९ मा सुर्वण शमसेरको नेतृत्वमा सञ्चालित सशस्त्र क्रान्ति स्थगित भएपछि पञ्चायती सरकारको विरोधी मास्ने अभियान झन् तीब्र भयो । त्यतिबेला नेपाली कांङ्ग्रेस बाहेकका प्रायः अन्य सबै पार्टीहरु पञ्चायतका पृष्ठपोषक बने । पुष्पलाल, मनमोहन लगायत केही वामनेता कार्यकर्ता बाहेकका अन्य सबै खाले पार्टी र केही बामघटक पनि पञ्चायतभित्र पसेर राजा महेन्द्रलाई सहयोग गर्न थालेका हुँदा तत्कालीन समयमा नेपाली कांङ्ग्रेस मात्र महेन्द्रको सरकार र व्यवस्थाको विरोधी बनेको थियो ।

बी.पी. कोइराला र गणेशमान सिंहको नेतृत्वमा २०२६ देखि भारतको बनारस र अन्य क्षेत्रमा निर्वासित नेपाली कांङ्ग्रेसले भने पौष १ गतेलाई खुला रुपमा कालो दिवसको संज्ञा दिएर विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । प्रत्येक पौष १ गतेका दिन नेपाली कांङ्ग्रेसले प्रजातन्त्र गुमेको दिनका रुपमा पर्चा, पम्प्लेट, विरोधसभा, जुलुस र विचार गोष्ठीहरु गथ्र्यो । पौष १ गतेको कालो दिवस— विरोध सभाका दिन पञ्चायती निरङ्कुश सत्ता समाप्त पारेर प्रजातन्त्र स्थापना गर्ने प्रतिज्ञावाचा सहित भाषण हुने गथ्र्यो ।

“भन्ने गरिन्थ्यो– यसवर्ष कालोदिवस मनाउँदैछौ तर आगामी वर्ष सेतो दिवस अर्थात् प्रजातन्त्र पुनस्थापित दिवसका रुपमा स्थापित गराएर छाड्नेछौं ।” र यो विरोध शृङ्खला ३० वर्षसम्म रहिरह्यो । पञ्चायती शासनसत्ताले भने उक्त दिन देशभरी विभिन्न जिल्ला सदरमुकाममा विजय उत्सव मनाउनउे गथ्र्यो ।

पौष १ को घटनालाई विजय उत्सव मनाउने क्रममा तत्कालीन प्रबुद्ध मानिने प्राध्यापक, पत्रकार र अन्य ठूलाबडाहरुलाई केन्द्रीय पर्यवेक्षक– प्रतिनिधि बनाएर १ गते काण्डबारेको भक्तिप्रसंशा गराइन्थ्यो । यसरी त्यसबेला पञ्चायतको गुणगान गाउने भजन गर्नेहरुमध्ये धेरैजसो यतिबेला निकै ठुलाबडामा गनिनेहरु पनि छन् । आफूले गरेको त्यो पुरानो कुरा बिर्साउन प्रजातन्त्रको दुहाइ दिँदै स्वार्थ साधन गरिरहेका छन् । पौष १ काण्डका व्याख्याता र प्रशंसकहरुमध्येका कतिपय व्यक्ति आजको प्रजातन्त्रका पनि व्याख्याता बन्न पुगेका छन् ।

समय प्रवाह यस्तै अस्थिर हुँदोरहेछ । प्रजातन्त्र भनेको सबैको साझा हो । यसमा कोही लाखापाखा हुँदैन–सबै बराबर । पौष १ काण्डको प्रहार खप्ने मध्ये मुख्य घाइते नेपाली कांङ्ग्रेस मात्र थियो भने हुन्छ । दोस्रो जनआन्दोलनपछि स्थापित प्रजातन्त्र अफाप बनेर फेरि २०६३ मा लोकतान्त्रिक गणतन्त्र शासन घोषणा गरियो । संविधान बनेर पारित पनि भयो । यसलाई कार्यान्वयनमा ल्याउन अझै धर्मर–धर्मर भइरहेको छ । त्यसकारण आज पनि पुस १ को प्रासङ्गिकता घटेको छैन भन्न सकिन्छ । त्यो कालरात्री दोहोरिएर नआओस् । यतिबेला पनि पौष १ भन्ने बित्तिकै पुराना भुक्तभोगी प्रजातन्त्रवादीहरुको मन झसङ्ग हुनेगर्छ । (साभारः डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी. कोइराला र नेपाली कांग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ बैशाख ४, ०८: ५३

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ बैशाख ४, ०८: ५३

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ बैशाख ४, ०८: ५३

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...