सानुबाबु सिलवाल
कुरोको चुरो यहिँबाटै सुरु गरौं होला । तपाईं अमेरिकामा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, एकल वा बालबच्चा र परिवारसहित हुनुहुन्छ । यहाँ कानुनीरूपमा बसोबासका लागि कागजात बनाउने क्रममा हुनुहुन्छ वा बनाइसक्नुभएको छ । तर, अमेरिकी जीवनशैलीमा थप सहजताका लागि थुप्रै आधारभूत आवश्यकता परिपूर्ति वा सर्वसुलभताका लागि थप आधारहरू खोज्दै हुनुहुन्छ ? जीवनशैलीमा परिवर्तन ल्याउन सुविधाका वस्तु, सेवा वा साधनको पहुँचका लागि उधारो सेवा, ऋण सेवा, सुलभता र छुटको सेवा, घरगाडी जग्गा जमिनलगायतका सुविधा तथा सेवाहरूको चाहनामा हुनुहुन्छ ? तपाईं डीभी परेर वा अन्य पारिवारिक सम्बन्धका आधारमा भर्खरै अमेरिका आउनुभएको छ वा आउँदै हुनुहुन्छ ? वा आउने क्रममा हुनुहुन्छ भने तपाईंलाई थप सहजता, जानकारी एवं ज्ञानका लागि उपयुक्त हुने गरी यो लेख तयार गरेको छु ।
सर्वसम्पन्न मुलुक, अवसरको मुलुक, काम र श्रमको सम्मान हुने मुलुक, महिला र बच्चाहरूको अधिकार सम्पन्न मुलुक, थोरै डलर वा डलरबिना नै प्राप्त हुन सक्ने सर्वसुविधाको मुलुक, आर्थिक नियमितता, जिम्मेवारीसहितको दैनिकी र गतिविधि मूल्यांकन हुने मुलुक, कानुनको मुलुक, श्रम र क्षमताले थोरै समयमा नै आर्थिक स्वतन्त्रताका लागि पहुँच पुग्ने मुलुक । जे जसरी सम्बोधन गरे पनि स्वास्थ्य, शिक्षा, रोजगार, अधिकार र आर्थिक सम्पन्नता र स्वतन्त्रताको अवसरयुक्त मुलुक अमेरिकामा प्रवेश गर्ने्बित्तिकै सुन्दर सपनाहरू र त्यसलाई यथार्थमा बदल्न जीवनचर्याका गतिशिलता सुरु हुन्छ ।
राम्रो रोजगार, सुन्दर परिवार, बच्चाहरूका लागि उत्तम शिक्षा र भविष्य, सुन्दर गाडी, सुन्दर घर र जमिन, ब्यवसाय र सकसविहीन जीवनशैली, स्वतन्त्रता, सुन्दर बसाई, स्वस्थ जीवन, स्वस्थ खाना, उपचार, आवश्यक पर्दा क्रेडिट कार्ड, डेबिट कार्ड, राम्रो आर्थिक हैसियत यी सबै सुन्दर कल्पना र चाहनाभित्र पर्दछन् । तपाईं हामी सबैले यसका लागि कडा परिश्रमसँगै आफूलाई गतिशिल र क्रियाशिल राख्न जरुरी छ । घर किन्न जानुहोस्, अपार्टमेन्ट वा घर भाडामा लिएर बस्नुहोस् गाडी किन्न, क्रेडिट कार्ड प्रयोग गर्न वा अन्य सेवा वा सुविधाका निम्ति तपाईं हाम्रो दैनिक क्रियाकलाप जिम्मेवारीपूर्ण, गतिविधि अत्यन्त जिम्मेवार र महत्वपूर्ण हुन्छ ।
यी सबै गतिविधि, क्रियाशिलता र गतिशिलताका लागि अमेरिकामा क्रेडिट इतिहास बनाउन जरुरी छ, यदि तपाई अमेरिकी जीवनशैलीलाई सहज बनाउन चाहनुहुन्छ भने । क्रेडिट कार्ड, कुनै पनि चिज, सेवा, वस्तु उधारोमा लिने वा सहुलियत वा छुटमा लिने वा कम ब्ययभार वा कम ब्याजदरमा लिने र चलाउने आधार नै तपाईंको क्रेडिट इतिहास हो । क्रेडिट इतिहास स्थापनाका लागि यी सबै महत्वपूर्ण हिस्सा बन्ने गर्दछ । राम्रो क्रेडिट इतिहास बनाउन जिम्मेवार तरिकाले क्रेडिटको उपयोग र प्रयोग गर्नु पर्दछ । के हो त क्रेडिट जिम्मेवारी भनेको ? के के कारणले क्रेडिट बनाउन सहयोग गर्दछ त ? के कसरी क्रेडिट ध्वस्त हुन सक्छ त ? यसका लागि क्रेडिट बनाउने र उपलब्ध सेवा र सुविधाको उपयोग गर्नु नै बुद्धिमानी हुन जान्छ ।आफ्नो घाँटी हेरेर मात्रै ऋण वा उधारो लिने बानी बसाल्नुहोस् । पाइयो भन्दैमा आफ्नो आम्दानीभन्दा बढी वा तिर्नै नसक्ने गरी उधारो क्रेडिट सुविधाहरू नलिनुहोला । समयमै तिर्न नसक्दा वा भुक्तानी अनियमित हुँदा तपाईंको क्रेडिट इतिहासमा नराम्रो दाग लाग्दछ ।
कति वर्ष लाग्छ त क्रेडिट बन्न ?
अमेरिकामा तपाईंको क्रेडिट स्थापित हुन, बन्न र बढ्न यत्ति नै ठ्याक्कै समय लाग्छ भन्न सकिँदैन । अमेरिकामा क्रेडिट इतिहास बनाउन लाग्ने वर्षौं वर्ष ध्वस्त हुनचाहिँ दुई हप्ता र बढीमा एक महिना भए काफी हुन्छ । दुई महिनापछि त बर्बाद नै हुन्छ । सामान्यतया अमेरिकामा घर, अपार्टमेन्ट, लिन, बैंक खाता खोल्न, क्रेडिट कार्ड लिन, काम गरेको कर दाखिला गर्न, केबुल, बत्ती, पानी, बिजुली, फोन आदि निर्वाधरूपमा प्रयोग गर्न र भुक्तानी नियमित गर्दा समय लिन्छ । करिव दुईदेखि तीन वर्षको नियमित, संवेदनशील र जिम्मेवारपूर्ण कारोवारले तपाईंको क्रेडिट इतिहास बन्न सुरु गर्दछ । घर किन्न वा ठूला मूल्यका सम्पति वा सेवा लिँदा तपाईंले कम्तीमा दुई वर्ष र बढीमा तीन वर्षसम्मको कर दाखिला गरेको प्रमाण हुनु पर्दछ । त्यसैले तपाईंले नगदमा मात्रै काम गर्नुभएको छ भने कमसेकम केही रकम चेकमा काम गर्नुहोस् ।
जसले गर्दा तपाईंको आम्दानी आधिकारिक देखिन्छ । आफ्नो ब्यवसाय छ भने आफूलाई आफैंले चेकमा मासिक वा साप्ताहिक तलबमा राख्नुहोस् र आफ्नो एकाउन्टेन्टमार्फत् राजश्व विभाग र अमेरिकी रोजगार सुरक्षा आयोगलाई जानकारी गराई वार्षिक क्वाटरमा कर तिरी कर दाखिला गर्नुहोस् । यो तपाईंको आम्दानीको आधार भएकाले क्रेडिट इतिहासको भर्याङ पनि हो ।
अर्को महत्वपूर्ण कुरा यदि तपाईंले कुनै बैंकिङ निकाय मार्फत क्रेडिट कार्ड लिनुभएको छ, त्यसले बढी ब्याज लगाएको छ वा तपाईंलाई मन परेन भने त्यो क्रेडिट कार्ड कुनै पनि हालतमा रद्द नगर्नुहोस् । यदि क्रेडिट कार्डको सेवा बन्द गरिदिनुभयो भने तपाईंको क्रेडिट इतिहास बर्बाद बनाइदिन्छ । सकेसम्म क्रेडिट कार्ड कम लिने, लिए पनि समयमै भुक्तानी गर्दै जाने, मन परेन भने पूर्ण भुक्तानी गरिदिएर जस्ताको त्यस्तै राख्नुहोला । यसो गर्दा तपाईंले ब्याज र निम्नतम रकम भुक्तानी गर्नु पर्दैन । क्रेडिट कार्ड लिँदा २४ महिना, १२ महिना, १८ महिनाको निःशुल्क ब्याजदरको क्रेडिट कार्ड लिएर ब्याज लाग्ने क्रेडिट कार्डको भुक्तानी गर्दा तपाईं जोखिमबाट बच्ने र आवश्यकरूपमा ब्याज तिर्न नपर्ने हुन्छ ।
कसरी सुरुवात गर्ने त क्रेडिट अमेरिकामा ?
सर्वप्रथम त तपाईंको बसाइ कानुनी हुनुपर्यो । तपाईंसँग अमेरिकी सरकारले प्रदान गर्ने कानुनी ‘सोसियल सेक्युरिटी नम्बर’ हुनैपर्यो । यति भइसकेपछि जुन राज्यमा बसेपनि त्यहाँको सवारी चालक अनुमतिपत्र दिने कार्यालय (डिएमभी) बाट प्राप्त हुने परिचय पत्र वा ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) हुनैपर्यो । यति भइसकेपछि तपाईंले आफ्नो बसाइस्थल अपार्टमेन्ट वा घर आफ्नो नाममा लिने अवसर प्राप्त हुनेछ । अपार्टमेन्ट वा घर भाडामा लिँदा आफ्नै नाममा लिनुहोला ।
अरूसँग साथमा बस्दा वा अरूको अपार्टमेन्ट वा घरमा बस्दा तपाईको क्रेडिट बढ्दैन । महंगो ठाउँ भए मिलेरु बस्नुपर्ने वा संयुक्त रूपमा लिँदा राम्रो हुन्छ वा बसाई सस्तो भएको राज्यमा सर्दा राम्रो हुन्छ । तपाईंको ठेगाना, परिचयपत्र र सोसियल सेक्युरिटी नम्बर भएपछि बैंक खाता खोल्न सकिन्छ । बैंक खाता खोलेपछि ग्रोसरी गर्दा, कसैलाई भुक्तानी गर्दा वा आर्थिक कारोवार गर्दा चेकबाट नै गर्दा राम्रो हुन्छ । बैंकबाट प्राप्त हुने क्रेडिट कार्डका लागि तपाईंले निवेदन दिन सक्नुहुनेछ । यस्तो अवस्थामा तपाईंले सानो रकम पाँच सय डलरदेखि एक जार डलरसम्मको भए पनि लिए हुन्छ ।
भाडामा लिएको अपार्टमेन्ट वा घर तपाईंको नाममा भएपछि बिजुली बत्ती, पानी, केबल, फोन तपाईंको नाममा हुनेछ । यसले गर्दा तपाईंको क्रेडिट स्थापित गर्न सहयोग पुग्नेछ । सेलफोन वा अन्य अत्यावश्यक वस्तु उधारो वा काम चलाउ लिँदा तपाईंको आफ्नो नाममा लिँदा तपाईंको क्रेडिट इतिहास बनाउन आधार हुनेछ । यस्तो अवस्थामा तपाईंको नियमित भुक्तानी, जिम्मेवारपूर्ण ढंगले तपाईंलाई बसेको स्थानमा केही समयपश्चात केही क्रेडिट कार्ड कम्पनीहरूले थोरै रकमको क्रेडिट अफर गर्न सक्दछन् । यस्तो अफर नआउँदा पनि आफ्नो खाता भएको बैंकबाट क्रेडिट कार्ड प्राप्त गर्नुभएन भने पनि नजिकैको सपिङ सेन्टर, ग्रोसरी कम्पनीहरूको सदस्यता लिएपछि उनीहरूले साना रकमको क्रेडिट कार्ड अफर गर्न सक्दछन् । वा तपाईंले सोध्न पनि सक्नुहुनेछ । जस्तै, वालमार्ट, साम्स क्लब, लोज, बेल्क आदि संस्थाहरूमा क्रेडिट कार्ड निवेदन दिनुहोस् । धेरै नलिनुहोस् । एक वा दुई वटा कार्ड लिएपछि प्रयोग गरिरहनुहोस् । र, तिरिहाल्नुहोस् । यसपछि तपाईंको क्रेडिट बढ्दै जानेछ । समयमै तिर्नै भने नभुल्नुहोला ।
कसरी बिग्रन्छ त क्रेडिट ?
लिएका सेवा वा वस्तुहरूको गर्नुपर्ने नियमित भुक्तानी समयमा नहुँदा, अनियमित हुँदा वा भुक्तानी नै नहुँदा भुक्तानी रकमको साथमा ढिलासुस्ती शुल्क पनि लाग्नेछ । विभिन्न निकायहरूका ढिलासुस्ती रकम फरक फरक छन् । पाँचदेखि ५० डलरसम्म ढिलासुस्ती शुल्क लाग्न सक्दछ । त्यसैले पाएसम्म थुप्रै क्रेडिट कार्डहरू लिने, निवेदन दिने गर्दा थुप्रै इन्वाइरीहरू हुन्छन् । जसले तपाईंको क्रेडिट डाउन गरिदिन्छ । ऋण रकम धेरै देखियो, आम्दानीभन्दा ऋण बढी देखियो भने तिर्न सक्ने जोखिम बढी हुँदा पनि तपाईंको क्रेडिट डाउन गरिदिन्छ । तपाईंका विगतका आर्थिक गतिविधि सार्वजनिक रेकर्डले पनि तपाईंलाई क्रेडिट स्थापित गर्न वा बृद्धि गर्न गाह्रो हुन जान्छ ।
कसैले तपाईंको गोप्यता, जन्ममिति, सोसियल सेक्युरिटी नम्बर, ठेगाना, प्रयोग गरी फ्रड गरिदिएको छ भने पनि तपाईंको क्रेडिटमा धक्का पुग्नेछ । लगातार रूपमा तपाईंले क्रेडिट जाँच गरिरहनुभयो भने पनि क्रेडिट डाउन गरिदिन्छ । अस्पताल, औषधिजस्ता सेवाहरूको गर्नुपर्ने भुक्तानी ढिला भएमा वा भुक्तानी तिरेको छैन भने तपाईंको क्रेडिट इतिहास बर्बाद हुन जान्छ । काटेको चेक बाउन्स भयो र त्यसको रिपोर्टिङ भयो वा कानुनी कारवाही खेपेको अवस्थामा पनि तपाईंको क्रेडिट बर्बाद हुन्छ ।
कसरी मापन र जोखिम हुन्छ त क्रेडिट ?
क्रेडिट इतिहासमा यसको मापन संख्या र दरमा तपाईंको आर्थिक गतिविधि र दैनिकीमा उतार चढाव भइ नै रहन्छ । कहिले माथि जान सक्छ भने कहिले तल । सामान्यतया क्रेडिट मापन ५५० स्कोरदेखि ८५० सम्म कायम गरिएको हुन्छ । ५५० देखि ८५० सम्मको क्रेडिट स्कोरलाई आधार मानी तपाईंको अमेरिकी जीवनशैलीमा सहजता र कठिनता हुने हुन्छ । ८०० देखि ८५० सम्मको क्रेडिट स्कोरलाई उच्च र अत्यन्त राम्रो मानिन्छ । यसलाई ऋण दिन, उधारो दिन वा आर्थिक कारोवारका लागि उत्तम मानिन्छ । यस्ता स्कोर भएका ब्यक्तिहरू एक अर्थमा भन्ने हो भने भाग्मानी र उच्च हुन्छन् । यसले चाहेको बेला जतिबेला पनि ऋण प्राप्त गर्नसक्ने, लामो क्रेडिट इतिहास भएको, लेखा र आर्थिक सन्तुलित भएको, सार्वजनिक रेकर्ड नभएको, उच्च सहुलियत ऋण र उधारोका लागि सबैभन्दा योग्य हुन्छन् ।
त्यसैगरी ७५० देखि ८०० स्कोर भएका ब्यक्तिहरूलाई धेरै राम्रो हैसियतमा राखिदिएको छ । ऋण लगानी गर्दा, उधारो दिँदा वा सहुलियतका लागि कम जोखिम भएका यस स्कोर समूहका ब्यक्तिहरूले निर्वाध रूपमा विश्वासिलो पहुँच बनाएका हुन्छन् । त्यसैगरी ६५० देखि ७०० सम्मको क्रेडिट हुने ब्यक्तिहरूलाई ऋण, सेवा तथा सहुलियतका लागि जोखिमभित्र राखिएको छ । पुरानो नकारात्मक सार्वजनिक आर्थिक अनियमित रेकर्ड, थुप्रै क्रेडिट कार्ड, अनियमित भुक्तानी विगत, थुप्रै ऋण भए पनि सेवा, सुविधा, सहुलियत र ऋणका लागि योग्य नै हुन सक्दछन् ।
६०० देखि ६५० सम्मको क्रेडिट स्कोर भएकाहरूलाई खराव क्रेडिट समूहमा राखिएको हुन्छ । भुक्तानीमा ढिलासुस्ती, कम क्रेडिट इतिहास भएको, थुप्रै एकाउन्ट, थुप्रै निगरानी र उतार चढाव भएकाहरूलाई यस समूहमा राखिएको छ । यस स्कोर समूहलाई कुनै पनि संस्थाले हतपती पत्याउँदैनन् । पत्याइहाले पनि बढी ब्याजदरमा कम समयमै भुक्तानी गर्नुपर्ने गरी जमानीमा वा आधासम्म वा त्योभन्दा बढी रकम भुक्तानी गरेमात्र सेवा सुविधाका लागि योग्य हुन सक्दछन् ।
तर, गाह्रो हुन्छ । ५५० देखि ६०० सम्म लाई अत्यन्त खराव स्कोर समूहमा राखिएकाले यी समूहका ब्यक्तिहरू बैंकिङ क्रेडिट कार्ड वा अन्य उधारो र सहुलियत सेवाका लागि योग्य हुँदैनन् । भइहाले पनि बढी ब्याजदरमा जमानीमा वा अत्यन्त न्यून रकम जोखिमयुक्त हुने अवस्थालाई आधार मानी त्यस्ता सेवा पाउन सक्छन् । तपाईं हाम्रो क्रेडिट स्कोर अनुगमन गर्ने, स्थापित गर्ने, घटाउने, बढाउने तीन वटा आधिकारिक निकाय छन् ।
क्रेडिट स्कोर र क्रेडिट भए नभएको, खराव र उत्तम भन्ने ती तीन निकायको आधारलाई मानिन्छ । एकः– ट्रान्स युनियन । दुईः–एक्सप्रेरियन र तीनः–इक्विफ्याक्स । यी तीन वटै निकायको स्कोर समान नहुन सक्छ । यीनीहरूले प्राप्त रिपोर्टिङका आधारमा आ–आफ्नै ढंगले मापन गरे पनि, स्कोरमा केही संख्यामा तलमाथि भए पनि न्यूनतम संख्याको आधारमा तपाईंको स्कोरलाई लिइन्छ । जुन स्कोर हेर्न उनीहरूकै सदस्यता लिनुपर्ने वा फ्रड अनुगमन गर्ने प्राटेक्ट माइ आईडी वा बैंकको अतिरिक्त शुल्क तिरेर ती संस्थाहरूमार्फत आफ्नो स्कोर अवलोकन गर्न वा फ्रड शंकास्पद गतिविधिलाई रोक्न सक्नुहुनेछ ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...