एउटै शरीरमा दुई टाउकाको विम्ब, भारण्ड हाँसको कथा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

एउटै शरीरमा दुई टाउकाको विम्ब, भारण्ड हाँसको कथा

हरिविनोद अधिकारी
१. तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवन जेठ ३ गते नयाँ नेकपा अण्डरलाइनको जन्म भयो र खुसियाली मनाउँदै रात्रिभोज समेत खान भ्याएको समाचार आयो । त्यो भोज सायद आफ्ना आफ्ना दलहरुको अवसानमा खाएको अन्तिम भोज थियो क्यार ।
२. तत्कालीन नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिचमा थाती रहेको एकीकरण भएको छ । देखिने गरी एकाकार भएको पनि २०७४ साल असोज १७ गते नै हो । त्यो एकाकार तत्काललाई निर्वाचन प्रयोजनको लागि मात्र थियो होला तर अहिले भने कृत्रिमरुपमा जोडिएको दुई सखल्ल शरीरहरुलाई अहिले शल्यक्रिया मार्फत् जोडिएको छ । स्वस्थानीमा गणेशको र दक्ष प्रजापतिको टाउको जोडिएको प्रसङ्ग जस्तै । तर नेपाली इतिहासमा फेरि एकपटक दुई कम्युनिष्ट पार्टीहरु जोडिएका छन् र गणितीयरुपमा बलिया भएका छन् ।
३. यसलाई खुसीको विषय बनाउने वा वधाइको विषय बनाउने काम सम्बन्धित पक्षको वा सरोकारवालाहरुको हो । किन फुटे वा किन मिले भन्ने कुरा पारदर्शिताभित्र खरो उत्रिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात् नै हतार हतार एकीकृत भएकोमा कसैले केही भन्ने कुरा पनि होइन तर मुलुक एउटा नयाँ संक्रमणमा प्रवेश गरेको कुरालाई सायद कसैले नकार्न नसक्ला । संक्रमण भनेको नकारात्मक वा सकारात्मक हुँदैन । संक्रमण संक्रमण नै हो, चाहे त्यो तत्कालीन परिणाम दिने होस् वा पछि गएर परिणाम दिने होस् ।
४. दुई दलहरुको एकाकारले केही संवैधानिक प्रश्न पनि उठाउने छ । हाललाई संविधान, ऐन, नियम बनाउने ठाउँमा बाहुल्यता भएकाले ती सबै गौण मानिएका छन् तर नेपालको संविधानअनुसार नै दल दर्ता हुन निर्वाचन आयोगमा गएका हुन् भने संविधानले देखाएको मार्ग प्रशस्त कसरी होला निकट भविष्यमा ?
५. राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष जस्ता पदमा एउटै दलबाट मनोनीत प्रतिनिधिहरु रहन हुने कि नहुने ? या त्यस्को पनि नयाँ प्रक्रियाबाट निर्वाचन हुने कि पहिले जे भएको छ, त्यसैलाई यथावत् राख्ने ?
६. हामी नयाँ लोकतन्त्रभित्र पर्छौँ । पुराना लोकतन्त्रको पनि हालत देखिएको हो हालै भारतीय राज्य कर्नाटकको मुख्यमन्त्रीेको नियुक्तिमा । वाम गठबन्धनको एकाकारलाई अहिले ठूलो हल्लाका विषय बनाइएको छ । जब गैर प्रजातन्त्रवादीहरुको एकलौटी शासन बनाउन भनेर षडयन्त्रात्मक तरिकाले गणितको उपयोग गरियो, त्यही बेलामा नै एकाकारको अभ्यास भएको थियो । यदि यो अभ्यास प्रजातन्त्रवादीहरुले गरेको भए भनिन्थ्यो— यो नेपालमा मात्र गरिएको अभ्यासको अभ्यास नभएर कतैतिरबाट गरिएको षडयन्त्रको पूर्वाभ्यास थियो । तर प्रजातन्त्रवादीहरुले सायद त्यसो किन पनि भन्दैनन् भने प्रजातन्त्रका विरुद्धमा गरिएका द्वैध चरित्रबाट नेपालको प्रजातन्त्र कहिले पनि अछुत रहेन ।
६. स्वयं प्रजातन्त्रवादीहरु नै प्रजातन्त्रका विरुद्धमा गरिने षडयन्त्रमा सहभागिता जनाइरहेका भेटिन्छन् । स्थानीय निर्वाचनदेखि आजसम्मको प्रक्रिया र परिणाम हेर्दा प्रजातन्त्रवादीले नै प्रजातन्त्रको विपक्षमा आफूलाई उभ्याएकाले आजको अवस्थामा गैर प्रजातन्त्रवादीहरुको वर्चस्व बढेको हो ।
७. जेठ ३ गते नै किन एकाकारको लागि दिन तोकियो भन्ने वारेमा खासै कुनै तुक नदेखिए पनि मदन आश्रितको संस्मरणमा एकाकार भएको बुझ्न सकिन्छ । स्वयं मदन आश्रितका वारेमा तत्कालीन एमाले र माओबादी केन्द्र कति संवेदनशील थिए भन्ने मानक तर कतै पाइँदैन ।
८. तत्कालीन एमाले र माओबादी केन्द्रको एकाकारलाई पूर्व प्रधानमन्त्री तथा एकाकार नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन र अक्सिजनको समिश्रणबाट बनेको पानीसँग तुलना गरेको पाइयो । ठिकै त हो , हाइड्रोजनले माथि माथि उडाउन मद्दत गर्छ भने अक्सिजनले बल्न मद्दत गर्छ । अनि त्यही पानी आगो निभाउनका लागि काम लाग्छ । अर्थात् पहिलेको स्वाभाविक विशेषताबाट फरक स्वभावमा परिणामले काम गर्दोरहेछ । अनि पानीबाट विद्युतीय विधिबाट विच्छेदन गर्दा पानी फेरि पुरानै ग्याँसमा परिणत हुन पनि सक्छ ।
९. एकीकृत स्वरुपमा आउँदैमा त्यस्तो आकाश नै खसेको जस्तो त लागेन । तर राजनीतिक स्वरुपमा भने केही फरक देखिनु स्वाभाविकै हो । झट्टहेर्दा माओबादी केन्द्रचाहिँ एमालेमा विलय भएको जस्तो देखिएकै हो र माअ‍ोबादी केन्द्रका कार्यकर्ताहरुमा विलयको उच्छवास आउन थालेको भेटिएकै हो । एकीकृत दल नफुटोस्, नेपाली जनताको सेवामा लागिरहोस् भन्ने कामना मात्र गरेर हुँदैन किनभने एमाले र माओबादी केन्द्रलाई जनताले राम्रैसँग चिनेकै छन् । शासनमा देखेकै हुन् । व्यावहारिकरुपमा सिँह(लाइन)र बाघ(टाइगर)को एकाकारले नयाँ जीव लाइगर हुँदोरहेछ र त्यो प्रजनन शक्तिरहितको जीव हुने रहेछ ।
१०. नीति कथामा दुई टाउके भारण्ड हाँसको विम्ब कथा पनि आउँछ । टाउका दुइटा तर अरु सबै जिउ एउटै भएको हाँसको कथा । एउटा टाउकोले एकदिन समुद्रमा घुम्दाघुम्दै अमृत फल फेला पार्दा अर्को टाउकोलाई अमृत फल पाएको जानकारी त दियो तर खान त के चाख्न पनि दिएन र भन्यो—हाम्रो एउटै पेट हो, पेटमा पुगेकै छ । बाँकी त पत्नीलाई राखेको हो, पत्नी पनि एउटै हो । के भयो र ? जब एउटा मुखले खान त के, चाख्न पनि नदिएपछि अर्को मुख निन्याउरो बनेछ । पछि एकदिन समुद्र घुम्दाखेरि विषफल पाएछ र क्वाप्प खाएछ र भनेछ—मैले विषफल पाएँ र खाएँ । अब मर्नका लागि तयार होऊ अर्कोमुख । परिणाम के भयो, सायद भन्नै परेन । एउटै शरीरमा दुइटा मुखले गर्ने यस्तो नीति कथा पनि छ । त्यस्तो परिणाम नआओस् भनेर कल्पनासम्म गरौँ तर विगतबाट नै आगतको परिणामलाई आँकलन गर्ने अनुसन्धाताहरुले गर्ने अनुमान भनेको अभ्यासका परिणामबाट आउने तथ्याङ्कलाई विश्लेषण गर्ने हो ।
पछिल्लो सँस्करणको एकीकृत नेकपाले राज्यलाई सुशासन दिन सकेमात्र पनि र पारदर्शितामा सरकारलाई लान सकेमात्र पनि मुलुकका लागि देन नै हुने थियो । सत्तामा आउने अरुकै कमीको व्याज खानु र आफ्नै साउँको व्याज खानु फरक फरक कुरा हो भन्ने पनि हेक्का रहोस् ।
११. र अन्त्यमा, यो नितान्त आन्तरिक समस्याको समाधान हो । सत्ताका लागि दलहरुले गर्ने आन्तरिक व्यवस्थापन हो । यो प्रक्रिया न त पहिलो हो, न त अन्तिम हो । बहुदलीय व्यवस्थामा दलहरु जन्मने, एकीकृत हुने र विभाजित हुने सामान्य कुरा हो । भइरहन्छ । यसैलाई हिमालयजस्तै मानेर न त ढोगिरहन सकिन्छ, न त पूजा गरिरहन सकिन्छ, न त डराएर सुतिरहन सकिन्छ । दलहरुको अवस्था भनेको गतिशील र परिणामशील पक्ष हो । यसमा खुसी, दुखी या त्रसित कसैले हुनु पनि जरुरी छैन र सुन्निएको शरीरलाई मोटाएको सम्झनु पनि जरुरी छैन । जे जे मुखमा आयो, दिनभरिमा दसओटा कुरा गर्दै हिँड्नु पनि जरुरी छैन या डराएर भोलिका लागि कुनै बन्दोबस्त गर्न छोड्नु पनि आवश्यक छैन । प्रजातन्त्र एउटा गतिशील व्यवस्था हो, त्यसका लागि आत्तिने, मात्तिने र पात्तिने काम गर्न थाल्यो भने इतिहासमा धेरै प्रमाणहरु छन्, अति त खती हुन्छ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ जेष्ठ ७, ०९: ०४

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ जेष्ठ ७, ०९: ०४

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ जेष्ठ ७, ०९: ०४

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...