मेरो पत्रकारिता पाठशाला – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

मेरो पत्रकारिता पाठशाला

राजेन्द्र दाहाल

पत्रकारिताको प्रारम्भिक चरणमै मणिराज उपाध्याय अर्थात् ‘मणिबाबु’ लाई सम्पादकको रुपमा पाउनु मेरो निम्ति एउटा सुखद संयोग थियो । ‘संयोग’ किनभने, म स्नातक पूरा गरेपछि पत्रकारिता र शिक्षणमध्ये कुनलाई पेशा बनाउने भन्ने द्विविधामा थिएँ । त्यतिबेला कीर्तिपुरमा मात्र सीमित मास्टर तह पढ्ने आर्थिक हैसियत र व्यवहारिक परिस्थिति थिएन । लोकसेवा दिएर सरकारी, अर्धसरकारी सेवामा प्रवेश गर्न पनि विद्यार्थी राजनीतिका क्रममा पटक–पटक जेल र हिरासतमा बसेको प्रहरी प्रतिवेदन बाधक थियो । त्यसै भएर, मेरासामु शिक्षण या पत्रकारिता पेशा मात्र छनोटका रुपमा रहेका थिए ।

अन्ततः जेल बस्दाका केही रुपमा साथीभाइको प्रेरणामा मैले परीक्षणका रुपमा पत्रकारितातिर लाग्ने निधो गरे । “तीन वर्ष जति पत्रकारिता गरेर हेर्छुः चित्त नबुझे त्यसपछि शिक्षण पेशामा लाग्छु” भनेर म २०४२ साल चैतको अन्त्यमा ‘मणिबाबु’ प्रधान सम्पादक रहेको समाज दैनिकसँग जोडिन पुगें ।

समाजमा शुरुका आठ–दश महिना उथलपुथलपूर्ण रहे । गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित वियोगी, गोकुलप्रसाद पोखरेल, योगेन्द्र अर्याल र स्वयम् मणिराज उपाध्याय जस्ता त्यस कालखण्डका मूर्धन्य पत्रकारहरुले सङ्गठित र संस्थागत ढङ्गबाट नेपाली पत्रकारितालाई अघि बढाउन गरेको प्रयास बीचमै खण्डित भयो । समाज दैनिक नरदेवीको ‘कर्पोरेट अफिस’ बाट पुनः डिल्लीबजारस्थिति मणिबाबुको निजी घर–टहरोमा फर्कियो । समाजलाई संस्थागत गरेर निजी क्षेत्रको ‘गोरखापत्र’ बनाउने सोचाइका प्रायः सबैजसो सहयात्रीहरु एक वर्ष नपुग्दै छिन्नभिन्न भए । समाजसँगै डिल्लीबजार आइपुग्ने पत्रकारहरुमा ‘मणिबाबु’ बाहेक कार्यकारी सम्पादक योगेन्द्र अर्याल, ओम खड्कालगायत थियौं ।

सम्पादकका रुपमा मणिबाबुसँग मेरो खास सान्निध्य डिल्लीबजारको कार्यालयमा आएपछि नै स्थापित भयो । त्यहाँ धेरै लामो अवधिसम्म, म एक्लो रिपोर्टर थिएँ । त्यही एक्लोपनाले एकातिर, सम्पादकसँग प्रत्यक्ष सम्र्पकमा रहेर छिटोछिटो धेरै कुरा सिक्ने अवसर प्रदान ग¥यो भने अर्कातिर धेरैभन्दा धेरै विधा र विषय बुझ्ने एवम् तिनमा कलम चलाउने मौका जुराइदियो । पत्रकार या रिर्पोर्टरका निम्ति प्राप्त हुने तालिम–गोष्ठी र पत्रकार सम्मेलनका निमन्त्रणामा त एक्लो भएका कारण मेरो एकाधिकार जस्तै भइ नै हाल्यो ।

यसरी बिहानदेखि बेलुकासम्मको व्यस्तता, एकै दिनमा दुई–तीनवटा समाचारको प्रकाशन, बढ्दो भेटघाट तथा परिचयको विस्तारसँगै पत्रकारिताप्रति मेरो रुचि र भरोसा पनि बढ्न थाल्यो । समाजमा कार्यरत हुँदा नै, २०४४ को हिउँदमा भारतदत्त कोइराला, कुन्द दीक्षित आदिको सक्रियतामा इन्टर–प्रेस सर्भिस (आईपीएस) ले काठमाडौंमा सञ्चालन गरेको तीन हप्ता लामो विकास पत्रकारिता तालिमले मलाई पत्रकारिताको दिशामा एकैचोटी दुई कदम अगाडि घँचेटिदियो । पत्राकारिता विषयमा जान्न–बुझ्नको निम्ति मेरो त्यो नै पहिलो अवसर थियो । त्यो तालिमले मलाई एकातिर पत्रकारिताको सैद्धान्तिक र व्यावहारिक ज्ञान दियो भने अर्कोतिर ग्रामीण पत्रकारिता गर्ने अवसर पनि जुराइदियो । उक्त तालिम सकिए लगत्तै, प्रेस फाउण्डेसन अफ एशियाको फेलोसिपअन्तर्गत म ‘गाउँका समाचार’ खोज्न सिन्धुपाल्चोतिर लागे । यी सबै अवसरको पछाडि मणिाबाबु बाहेक भरत दाइको भूमिका विद्यमान थियो ।

‘गाउँमा समाचार खोज्न जान लागेको’ भन्दा शुरुमा मणिबाबुको अनुहारमा अविश्वासको भाव स्पष्टसँग झल्किएको थियो । उहाँले सोध्नु भएको थियो, “गाउँमा के समाचार पाउनुहुन्छ र ?” तर पनि उहाँले विदा दिनुभयो । करिब एक हप्ता सिन्धुपाल्चोकका भीमटार, बाउनेपाटी, सिन्धुकोट, धैवुङ आदि गाउँ घुमेर फर्किदासम्म म आफैं पनि आफ्नो कामप्रति विश्वस्त थिइनँ । अर्थात् गाउँ घुमाइका क्रममा मैले जे जति घटना, प्रवृत्ति फेला पारें, ती समाचारयोग्य छन् भन्ने कुरामा म ढुक्क थिइनँ ।

पहिलो समाचारको रुपमा मैले पाटीमा झाडा–पखालाबाट भएको एउटा बालकको मृत्यु सम्बन्धी घटनाको विवरण, लगभग गाउँकै भाषामा उतारेर मणिबाबुलाई दिएँ । त्यो समाचार सकजै स्वीकृत हुने आश मैले राखेको थिइनँ । सम्पादकको आग्रह बमोजिम समाचार पुनर्लेखन गर्न, सुधार्न म मानसिक रुपमा तयार थिएँः किनभने त्यो मितिसम्म नेपालमा त्यस्तो प्रकृतिका घटनालाई समाचारका रुपमा प्रस्तुत गर्ने सचेत प्रयास भएकै थिएनन् । ठूलाबडाका क्रियाकलाप र केन्द्रका घटनालाई नै ‘समाचार’ ठान्ने आम बुझाइ सबैतिर व्याप्त थियो । त्यसैले, मैले पहिलो पटक लेखेको त्यो ‘ग्रामीण समाचार’ अथवा ‘विकास समाचार’ सम्पादकबाट अस्वीकृत नै भए पनि म दुःखी र विचलित हुने अवस्था थिएन ।

त्यस्तो अस्वीकृति स्वभाविक नै ठहथ्र्यो । यसमा थप चाखलाग्दो पक्ष के पनि थियो भने, विकास पत्रकारिताको तीन साता लामो तालिममा, ‘विकासका समाचार’ अथवा ‘गाउँका समाचार’ यसरी लेख्न सकिन्छ भनेर प्रशिक्षकहरुले दक्षिणपूर्वी एशियाका उदाहरणसहित प्रशस्त सैद्धान्तिक ज्ञान दिएका भए पनि तिनले नेपाली पत्रकारिताबाट चाहिँ एउटा पनि नमूना या दृष्टान्त हामीलाई दिन सकेका थिएनन् ।

झाडा–पखालाका कारण भएको बालकको मृत्यु सम्बन्धी मैले लेखेको त्यो समाचार भोलिपल्ट समाज दैनिकको प्रथम पृष्ठमा दुई कालमको शीर्षकमा छापियो, त्यो पनि मेरा ‘बाई–लाइन’ मा । समाजमा मेरो ‘बाई–लाइन’ अर्थात नाम छापिएको संभवतः यो नै पहिलो घटना थियो । त्यो पत्रिका बोकेर म दिउँसो हामीलाई विकास पत्रकारिताको शिक्षा दिने भारतदत्त कोइरालाकहाँ पुगेर जिज्ञासा राखें, “मेरो यो समाचार विकास पत्रकारिता भयो कि भएन ?” समाचार पढेर भारतदाइ मभन्दा बढी सन्तुष्ट देखिनुभयो ।

त्यस्तो समाचारको मर्म बुझेर त्यसलाई उच्च महत्व दिएकोमा उहाँले सम्पादक मणिराज उपाध्यायको निकै प्रशंसा गर्नुभयो । आफूले भेटेरै मणिबाबुलाई धन्यवाद दिने बताएर उहाँले मलाई त्यस्ता समाचार निरन्तर लेख्दै अघि बढ्ने सल्लाहसँगै गोजीबाट तीन हजार रुपैयाँ पनि झिकेर दिनुभयो । त्यो रकम फेलोसिपको अंश थियो । पत्रकारितातर्फको मेरो यात्रा एकैचोटी कैयौं फड्का अगाडि लम्किएको थियो त्यस दिन । त्यतिबेला समाजमा मेरो मासिक तलब रु. १२०० थियो । तर, यता एउटा समाचारमै रु.३ हजार हात परेको थियो । त्यसबाहेक, समाचार तयार पार्दा प्राप्त अनुभव, ज्ञान र आत्मविश्वास आदि कुरा त छँदैथिए ।

भारतदत्त दाइले भने जस्तै, गाउँका समाचार सहरका पत्रिकामा छपाउने मेरो त्यो प्रयतन त्यस उप्रान्त अगाडि बढेको बढ्यै ग¥यो । त्यसपछिका झण्डै दुई वर्षसम्म म झोला बोकेर सिन्धुपाल्चोकका गाउँ चहार्दै रहें । त्यस क्रममा ७९ मध्ये आधाभन्दा बढी गाउँ पञ्चायत पुगेर झण्डै पाँच दर्जन समारचा–फिचर तयार पारिए । तीमध्ये अधिकांश समाज दैनिकमा र केही देशान्तर साप्ताहिकमा प्रकाशित भए । केही फिचर विदेशी एजेन्सीले अनुवाद गरेर बाहिर पनि पठाए ।

सिन्धुपाल्चोक घुम्ने क्रममा लेखिएकै समाचारले मलाई सन् १९८८ को ‘बेस्ट रिपोर्टिङ अवार्ड’ दिलायो । यी सबै घटनाक्रमको परिणामस्वरुप पत्रकारितालाई नै पेशाका रुपमा अँगाल्ने या अरु विकल्प खोज्ने भन्ने प्रश्न मेरो दिमागबाट आफैं बिलाउँदै गयो । म पूरै पत्रकारितामा रमाउन थाले ।

अब मणिबाबुको प्रसङ्ग
‘मणिबाबु’ बारे संस्मरण लेख्न बस्दा मैले यति लामो आफ्नै वृत्तान्त अघि सार्नुको एउटा खास कारण छ । म पत्रकारितालाई पेशाका रुपमा अँगाल्न सकौला या नसकौला भन्ने दोमन लिएर समाज दैनिकमा प्रवेश गरेको थिएँ । पत्रकारिता पेशा आफूलाई उपयुक्त हुने–नहुने निक्र्योल गर्न मैले तीन वर्षको अवधि तय गरेको थिएँ । तर, मणिराजजीसँगको सम्पादकीय सङ्गत र सान्निध्य एवम् उहाँको निर्देशन, सहयोग, उत्प्रेरणा र व्यतित्व समेतका कारण मेरो प्रयोग र अन्योल एक–डेढ वर्षमै टुङ्गिन पुग्यो ।

त्यसमा पनि मैले गाउँबाट ल्याएका समाचार–कथालाई उहाँले पत्रिकामा दिएको इज्जतिलो स्थान र गाउँ घुम्नका निम्ति प्रदान गरेको छुट एवम् प्रोत्साहन मेरो पत्रकारिता जीवनका महत्वपूर्ण मोड सावित भए । गाउँ जाने भनेपछि मणिबाबुबाट मैले सहर्ष विदा त पाई नै हाल्थें, थप प्रोत्साहन र सुझाव पनि दिने गर्नुहुन्थ्यो । गाउँका स्कूल वा कुनै ठाउँमा बालबालिका भेला गरेर लोककथा र उखान–टुक्का सङ्कलन गर्ने सुझाव मणिबाबुले पटक–पटक दिनुभएको थियो । त्यस निम्ति आवश्यक पर्ने पुरस्कार आदिको व्यवस्था आफूले गर्ने आश्वासन पनि उहाँले दिनुभएको थियो । तर, त्यो का मगर्न मैले सकिरहेको थिइनँ ।

मलाई त्यसनिम्ति प्रतिबद्ध तुल्याउन एक पटक उहाँले गाउँतिर लाग्नेभन्दा अघिल्लो दिन एक मुठो पेन्सिल दिनुभयो । ती पेन्सिल बोकेर म ग्याल्थुम (सिन्धुपाल्चोक) को विद्यालयमा पुगें । त्यहाँ नै पहिलो लोककथा प्रतियोगिता गर्ने निधो गरी ती पेन्सिल विद्यालयमा जिम्मा लगाएँ । तर, त्यसपछि म पुनः त्इो क्षेत्रमा पुग्न सकिनँ र लोककथा सङ्कलन गर्ने सोंचाइ त्यतिकै सेलाएर गयो ।

आज ‘मणिबाबु’ भौतिक अस्तित्वमा हुनुहुन्न । मेरो पत्रकारिता तीन दशक पुरानो भइसकेको छ । मणिबाबुको त्यति बेलाको भूमिकामा आज म आफूलाई आउँछु– पाको, पुरानो भएका नाताले नयाँ पुस्ताका पत्रकारहरुलाई सिकाउने र प्रोत्साहित गर्ने भूमिकामा । नयाँ पुस्ताका पत्रकारहरु सामु आफ्नो पत्रकारिताका प्रारम्भिक चरणका कुरा गर्दा मेरो मुखबाट संभवतः सबैभन्दा धेरै पटक निस्कने नाम मणिराज उपाध्याय हो । यस्तो किन हुन्छ भने, जतिबेला मेरो मानसपटलमा पत्रकारिता सम्बन्धी धारणा, शैली, सीप र चेतनाहरु विकास हुँदै थिए, त्यसमा अनुभव र ज्ञानरुपी मलजल आपूर्ति गर्ने कार्य चेतन–अवचेतन शैलीमा मणिबाबुबाट भएको थियो ।

मणिराजजी आफूलाई ठूलो विद्धान ठान्नुहुन्थ्यो ः तर पत्रकारिता के हो ? समाचार के हो ? पत्रकारिता कसका निम्ति हो ? पत्रकारको न्यूनतम कर्तव्य के हो ? भन्ने कुरामा उहाँ पत्रकारिता विषयको कुनै विद्धानभन्दा बढी स्पष्ट हुनुहुन्थ्यो ।

एउटा सम्पादकले आफ्ना रिर्पोटर या सहकर्मीहरुप्रति कस्तो व्यवहार गर्नुपर्छ भनेर मणिबाबुसँग मैले कहिल्यै सोधिनँ, किनभने त्यो रिपोर्टरले सम्पादकलाई सोध्न मिल्ने प्रश्न नै थिएन । तर एउटा स्वाभिमानी र जिम्मेवार सम्पादकले आफू मातहतका विशेषतः पत्रकार–सहकर्मीहरुप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान मैले मणिबाबुको म प्रतिको व्यवहारबाटै प्राप्त गरिसकेको थिएँ ।

कुनै समस्या पर्दा सबै दायित्व आफूले वहन गरेर कनिष्ठहरुलाई हरतरहले जोगाउन लागिपर्ने मणिबाबुको व्यवहारको मर्म मैले धेरैपछि, सम्पादकका रुपमा आफैँले त्यस्ता चुनौति व्यहोर्न थालेपछि मात्र बुझ्न सकेको थिएँ । शायद् व्यक्तित्वगत भिन्नताले गर्दा पनि होला, मणिबाबुका कैयौं व्यवहार मैले चाहेर पनि अनुसरण गर्न सकेको छैन । उदाहरणका लागि, मणिबाबुले म एउटा सिकारु रिर्पोटरलाई सिक्ने, गल्ती गर्ने र प्रयोग गर्ने जे जति छुट दिनुभएको थियो, आफ्ना सहकर्मीहरुलाई प्रोत्साहन दिने मामिलामा म आफूलाई मणिबाबुभन्दा निकै पछाडि पाउँछु ।
एउटा पूर्व सहकर्मीको नाताले ३० वर्ष पछाडि फर्के हेर्दा, मणिबाबुको स्पष्ट र निर्भिक दृष्टिकोण अनि शिष्ट तर लप्पनछप्पन, खुसामदरहित व्यक्तित्वले मलाई नजानिदो ढङ्गबाट पत्रकारितालाई पेशाका रुपमा अँगाल्न प्रेरित गरेको पाउँछु ।

साथै, त्यतिबेला सिकेका र आत्मसात् गरेका सीप र आदर्शले नै मेरो पत्रकारिता–जीवनलाई डो¥याएका हुन् । यस आधारमा भन्नुपर्दा, मणिबाबु र त्यो कालखण्डमा सिकेका, ग्रहण गरेका कुराहरु मेरो जीवन पर्यन्त उपयोगमा रहनेछन् । तीमध्ये असल र उपयोगी सीप र आदर्शहरु भविष्यको पुस्तामा हस्तान्तरण गरी आ¥ना प्रथम सम्पादक एवम् अग्रजको ऋणको बोझ हलुका पार्ने प्रयत्न गरिरहने प्रणसहित मणिबाबुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्छु । (साभारः मणिराज उपाध्यायद्वारा लिखित पत्रकारिताका सतिसाल नामक पुस्तकबाट मिति २०७५ साल बैशाख २३ गते राष्ट्रिय पत्रकारिताको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार राज्य मन्त्री गोकूल प्रसाद बाँस्कोटाले एक समारोहकाबीच विमोचित गर्नुभएको पुस्तकबाट)

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ जेष्ठ १४, ०९: २१

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ जेष्ठ १४, ०९: २१

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ जेष्ठ १४, ०९: २१

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...