अपरेसन सफल भयो तर विरामी मर्यो जस्तो नहोस् चीन नेपाल सम्बन्धको आधुनिक इतिहास – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अपरेसन सफल भयो तर विरामी मर्यो जस्तो नहोस् चीन नेपाल सम्बन्धको आधुनिक इतिहास

हरिविनोद अधिकारी

१. नेकपा(नेकपा)का अध्यक्ष तथा हाम्रा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अहिले महान मित्र राष्ट्र चीनको भ्रमणबाट फर्कनु भएको छ । चीनले सदा झैँ नेपालसँगको सम्बन्धलाई धेरै महत्व दिएको छ र दशओटा भन्दा बढी महत्वपूर्ण विषयमा सहमति गरेको छ ।

चीनका महामहिम राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि खछ्याङसँग न्यानो वातावरणमा संवाद भएका छन् र नेपाललाई जे चाहिएको हो, त्यसका वारेमा खुलेर छलफल भएका छन् । हाम्रा लागि सबैभन्दा मुख्य कुरो पारवहनको थियो समुद्रसम्मको, त्यो हामीले सोचेभन्दा अझ सहज तरिकाले पाएका छौँ तर हाम्रै कारणले त्यसको व्यवस्थापन हुन सकेको छैन ।

परारमात्र भारतीय नाकाबन्दीको कहरबाट गुजे्रका नेपालीलाई त्यसबेलामा पारबहन सुविधाका रुपमा चीनले एउटा नयाँ बाटो दिएको थियो विश्वसामु पुग्न । त्यो हाम्रो अधिकार भए पनि हामीले मागेका नै थिएनौँ र हामीले कुरा नै नगरेको विषयमा चीनले केही भन्ने वा दिने प्रश्न नै थिएन अतीतमा । तर दिएको छ, त्यसको कति छिटो प्रयोग गर्ने भन्ने हाम्रै हातमा छ ।

२. चीनले उपलब्ध गराउने समुद्रसम्मको पारवहन सुविधाले नेपालको अन्ताराष्ट्रिय आवत जावतको अधिकार सुरक्षित भएको प्रत्याभूत गराएको छ जुन भारतबाहेक पनि हाम्रो भूपरिवेष्ठित देशको वैकल्पिक उपायमात्र अधिकारको रुपमा देखाइएको हो । यो कति व्यावहारिक हुन्छ भन्ने कुरा जति छिटो रेल सञ्जालबाट हामी चीनसँग जोडिन्छौँ, त्यति छिटो त्यसको सकारात्मक परिणाम हामीले पाउँछौँ ।

हाम्रो नियति नै यस्तै छ, एउटा महान छिमेकी चीन के दिउँ सुविधा भनेर बारम्बार सोध्छ, हामी जबाफ पनि बेलामा दिन सक्दैनौँ । चीन जहिले पनि केही दिएर नेपाललाई सहयोग गरौँ भन्छ भने अर्को महान छिमेकी देश भारत कसरी केही दिएको जस्तो देखियोस् तर धेरै कुरामा हामीसँग परनिर्भर बनाउने कुरामा योजनाबद्धरुपमा लागेको पाइन्छ ।

३. यो भ्रमणले ऐतिहासिकता पाएको छ । केही सञ्चार माध्यमले बीपीको भ्रमण पछिको विश्वासपूर्ण सफल भ्रमणको सम्भाव्यता व्यक्त गरेका छन् । बीपीको भ्रमणको सान्दर्भिकता यसकारणले पनि अहिले जोडिन पुगेको हो कि त्यो बेलामा सगरमाथा कस्को भन्ने प्रश्न टड्कारो थियो । एउटा छिमेकीले लुम्बिनीसमेतमा आँखा गाडेको बेलामा सगरमाथा जस्तो विश्वको अग्लो चुचुरो कस्को भन्ने कुरा थियो ।

चीनका अध्यक्ष माओले महानता देखाए र विश्वको माथालाई पानी ढलोको सिद्धान्त बनाएर नेपाललाई दिए जुन आज पनि यथावत छ । अहिले त्यो किन पनि कुरो उठेको छ भने सीमाको जंगे पिलर जानाजान एक दुईसय मिटर पनि नेपालभित्र सारिँदा भारत बोल्दैन, फेरि उता लाँदैन । बाँध नेपालमा बाँधेर पानी भारतमा लैजान पानीलाई धमिलो बनाई माछा मार्ने गर्छ । व्यापार विविधीकरणका लागि सहमति हुनुलाई बीपीको बेलाको जस्तै भ्रमण भन्न बाध्य हुनु परेको छ ।

४. अहिले चीन जनसँख्याको हिसाबले र विश्वको व्यापार गर्ने अङ्कको हिसाबले विश्वको पहिलो आर्थिक शक्ति अनि कारोबारको हिसाबले दोस्रो आर्थिक शक्ति भएको छ । आफैँ चीनले नियन्त्रणमा राखेर पहिलो हुने विचार गरेको छैन भन्ने कुरा बाहिर आएको छ । उत्पादन र वितरणका हिसाबले अनुपम देश बनेको छ । राजनीतिक स्थायित्व र लगनशील जनताका कारणले यो परिणाम आएको भन्ने चीनको धारणा छ ।

चीनमा विकासको मूल साँच्चै फुटेको छ । यातायातको जालो नै विकासको पूर्वाधार हो भन्ने कुरा र मान्छेको चाहनाले परिश्रमलाई जब आफ्नो वशमा लिन्छ, त्यहाँ जीवनमा आउने सकारात्मक परिवर्तन अवश्यम्भावी छ भन्ने कुरा चीन भ्रमणमा जाने जो कोहीलाई पनि पर्छ , यो समीक्षकलाई पनि त्यो अमिट छाप परेको छ ।

५. या त कसैको मनमा यो परेको छैन या बाहिर आउन बाँकी छ , त्यो हो खाडीको ५० डिग्रीको तापक्रममा जानु र भिन्न सँस्कृतिमा रमाउनु नेपालीको नियति भएको छ । कामका लागि चीन नै असल गन्तव्य हुनसक्छ र कमाइ पनि राम्रो हुन्छ । चीनले हामीलाई खटाई खटाई दिनेः श्रमिकको संख्या पनि हाम्रालागि बहुत हुन्छ ।

हुन त नेपालीलाई अरु देशमा काममा पठाउने भनेको हाम्रो बेइज्जती नै हो तर त्यो हाललाई रोक्न सक्ने अवस्था छैन र मुलुकको आयश्रोतको एउटा स्थायी आधार त्यही नै छ । जसरी पर्यटनका लागि हामी चिनियाँ गन्तव्यलाई अपेक्षित ठानेका छाँै, त्यस्तै गरी श्रम बजारमा श्रमिक पठाउन पनि चीन हाम्रो असल गन्तव्य हुन्छ । अनौपचारिक भेटघाटमा चिनियाँहरुको यो भनाइ आएको पनि हो । त्यसमा हामीले ध्यान पु¥याउनु जरुरी छ ।

६. अहिलेका सबै सहमति, सम्झौता र विश्वासको परिणाम त्यतिबेर मात्र फलदायी मानिने छ जुनबेला त्यसको कार्यान्वयन सम्भव हुन्छ । त्यसको कार्यान्वयन त्यसबेलामात्र सम्भव हुन्छ जब नेपालले आफ्ना सामान विश्वभर आयात निर्यात गर्न सहजता महसुस गर्नेछ । त्यसबेलामा मात्र सहजता महसुस गर्नेछ जब रेल सञ्जालबाट नेपाल र चीनको दूरी सामीप्यमा आउने छ र सस्तो यातायात खर्चले धान्ने छ ।

हल्दियाबाट विशाखापत्तनम जाने हाम्रो बाध्यताभन्दा चीनका बन्दरगाह जाने सहज र सस्तो हुनेछ । तर पनि यो ऐतिहासिक क्षण हो जसले कम्तीमा पनि हाम्रा वारेमा सोच्ने कुनै अर्को छिमेकी पनि छ भन्ने हामीले गर्व गर्न पाएका छौँ ।

७. भ्रमण सफल भयो मात्र भनेर हामीले चित्त बुझाउनु भन्दा त्यसबाट नेपालले धेरैभन्दा धेरै फाइदा लिन सक्नुपर्छ । चीनको विश्वास जित्न सक्नु पर्दछ । धोखा दिनु हुँदैन चीनलाई । हामी त भुटानसँग त कूटनीतिमा पछि परेको बेलामा चीन नै यस्तो देश हो जो हामीलाइ हात फैलाएर सहयोग गर्न तयार छ र जस्तोसुकै सहयोगका लागि जे पनि दिन तयार छ ।

८. ध्यान दिने कुराचाहिँ के हो भने अपरेसनचाहिँ सफल भयो तर विरामीचाहिँ म¥यो भन्ने अवस्था नआओस् । चीन पनि हामीसँग रिसायो र उसले हामीसँगको व्यवहार अनि विश्वासमा धोखा महसुस ग¥यो भने हाम्रो विकास , समृद्धि र सुखी हुने कुरा एउटा स्वैर कल्पनामात्र हुनेछ ।
९. र अन्त्यमा, प्रधानमन्त्री ओलीको चीन भ्रमण एउटा प्रजातान्त्रिक देशका कम्युनिस्ट नेताको हो । जस्तो बहुमत आए पनि नेपाल साम्यवादी देशको रुपमा घोषित पनि होइन र हाम्रो संविधानले समाजवाद उन्मुख भनेको कम्युनिस्ट राज्य घोषणा गरेको पनि होइन । तर दम्भ र उत्ताउलोपन जुन अनुभूत गरियो, त्यसले नेपालका प्रजातन्त्रवादीहरुका मनमा चिसो पसेको छ र यो चिसोबाट उपचार खोज्ने क्रम पनि सुरु हुन सक्नेछ । स्थिर सरकारको कुरामा अलमलिँदा कतै मुलुक अर्को संक्रमणको भुमरीमा नजाकियोस् । सतर्कता र सजगता नै प्रजातन्त्रका लागि आवश्यक तत्व हुन् ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ असार ११, ०८: ०१

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ असार ११, ०८: ०१

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ असार ११, ०८: ०१

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...