पार्टीको निर्देशन र नगरवासीको आज्ञाले मेयरमा फेरि दोर्‍याउँछुुः मेयर बस्नेत – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पार्टीको निर्देशन र नगरवासीको आज्ञाले मेयरमा फेरि दोर्‍याउँछुुः मेयर बस्नेत

नेपाली कांग्रेसका स्थापित नेता हुन् मोहनबहादुर बस्नेत । काठमाडौ‌मा जन्मिएर काठमाडौंलाई नै कर्मथलो बनाएका बस्नेत हाल नागार्जुन नगरपालिकाका मेयर र नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति पनि हुन् । सधैं विकास निर्माण र सामाजिक काममा दत्तचित्त बस्नेत जनताको सेवालाई कर्तव्य ठान्छन् । राजनीतिलाई पेशा नभएर सेवा ठान्ने उनी स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । स्थानीय चुनाव र समसामयिक विषयमा केन्द्रित रहेर मेयर बस्नेतसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः

पाँच वर्षे कार्यकालमा नागार्जुन नगरपालिकामा के के काम गर्नुभयो ?

म नागार्जुन नगरपालिकाको मेयर भएर आइसकेपछि मेरो टिमले सबैभन्दा पहिला सितापाइलादेखि रामकोट हुँदै धादिङको धार्के जाने ११ किलोमिटर वैकल्पिक राजमार्गको दाँयाबायाँका घर, टहराको व्यवस्थापन गरेर वाल गाउने, ठूलो बनाउने, व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

जसले वैकल्पिक राजमार्गको काम गर्दछ । त्यस्तै १० वटै वडामा रामकोटको सिताराम स्कूलहुँदै आउने बाटो, स्यूचाटारदेखि माथि पेरुङ्केसम्म जाने बाटो, इचंगुदेखि स्वयम्भु जाने बाटो, सितापाइलादेखि भित्र जानेलगायत सबै वडामा बाटोको व्यवस्था गरिएको छ । अहिले सबै वडामा बाटो फराकिलो बनाउने, पिच गर्ने, नभएका ठाउँमा व्यवस्थापन गर्ने, र ढलको व्यवस्थापन गर्ने काम पनि लगभग अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंभित्रको नगरपालिका भएर पनि दूर्गम जस्तो देखिने नागार्जुन नगरपालिकाको सबै वडाहरुमा अब लगभग बाटो पिच र ढलान गर्ने काम सम्पन भइसकेका छन् ।

ती भए सडकका स्वास्थ्यको क्षेत्रमा के के गर्नुभएको छ ?

स्वास्थ्यसम्बन्धी कुरा गर्नुपर्दा १० वटै वडामा स्वास्थ्य घुम्तिचौकीको निर्माण हामीले गरिरहेका छौं । त्यसैगरी नगरपालिकाको नगरस्तरीय हस्पिटल बनाउन ३७ करोडको टेन्डर प्रक्रिया अगाडि बढाइएको छ । अब केही दिनमा त्यसको सिलान्यास हुँदैछ । कोभिडको बेलामा पनि नगरवासीको घरघरमा पुगेर स्वास्थ्य सामाग्री उपलब्ध गराउनेदेखि जनचेतना जगाउने काममा आफ्नो ज्यानको प्रभावह नगरी लागि परियो ।

कोरोना कहरको एकदमै भयावह अवस्थामा पनि मैले बरु मलाई रोग लागेपनि जनतालाई जोगाउनुपर्छ भनेर रातदिन खटेको थिएँ । त्यो कुरा मैलेभन्दा पनि यहाँका जनताले भन्ने छन् । त्यतिबेलाको अवस्थालाई हेर्ने हो भने अहिले मेरो नाफाको जिन्दगी हो जस्तो लाग्छ । यो नाफाको जिन्दगी बिताइरहेकाले मैले अब जनताको सेवा गर्नुबाहेक अरु केही देखेको छैन ।

सधैं जनताको सेवक भएर बाँच्न रुचाउँछु । अर्को चरवटा वडाका प्रशासकीय भवनहरु र नगरपालिकाको प्रशासकीय भवन बनाएका छौं । त्यो ५० करोड बराबरको लागतमा निर्माण भइसको छ । केही दिनमै हामी आफ्नै भवनमा सर्दैछौं । यसरी स्वास्थ्य र आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गरिएको छ ।

शिक्षाको क्षेत्रमा कस्ता समस्या थिए, के के गर्नुभयो ?

शिक्षा क्षेत्रको कुरा गर्नुपर्दा नागार्जुन नगरपालिकाका भित्रका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तयार गरिएको छ । त्यसमा गुणस्तरीय शिक्षाको संरचनाहरु जुटाउने काम भएको छ । २०७२ सालको भूकम्पले सबै विद्यालयहरु ध्वस्त भएका थिए । त्यसको पुनर्संरचना र भौतिक पूर्वाधारको व्यवस्था गरिएको छ ।

सीपमूलक प्राविधिक शिक्षाको आवश्यकतालाई ध्यानमा राखेर इलेक्ट्रोनिक इन्जिनियरिङको कक्षा सञ्चालन गरिएको छ । निःशूल्क शिक्षाको व्यवस्था पनि विद्यार्थीहरुलार्इृ मिलाइएको छ । नागार्जुन नगरपालिकाका कुनै विद्यार्थीले पैसा अभावकै कारण पढ्नबाट बञ्चित हुनुपर्ने छैन ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण नागार्जुन नगरपालिकामा पर्यटन प्रवद्र्धनमा कस्तो काम गर्नुभयो र गर्न बाँकी के के छन् ?

यहाँले भनेजस्तै नागार्जुन नगरपालिकाको सुन्दरता भनेको हरितले भरिपूर्ण जंगल नै हो । त्योसँगै ऐतिहासिक, पुरातात्विक र धार्मिक मठमन्दिर, गुम्बा, पार्कहरु पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छन् ।

त्यसमा इचङ्गुनारायण मन्दिर, हल्चोक आकास भैरब, रानीवन क्षेत्र, नागार्जुन जामाचोक, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति र्पाक, भीमसेनस्थान, भीमढुंगा, स्वीजरल्याण्ड चौर पार्क, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर र विभिन्न स्थानमा रहेका होमस्टेहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । त्यसकारण ओरिपरि जंगलले घेरिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो नगरपालिका पर्यटन प्रवद्र्धनको लागि अन्यन्तै महत्वपूर्ण छ ।

यसको प्रवद्र्धनका लागि हाम्रा पुराना कला, संस्कार, संस्कृतिलाई जिवन्त राख्दै व्यवस्थित गर्न आवश्यक छ । यसको आसपासका एउटा फाइभस्टार खालको ठूलो हेटेल र साधाकृष्ण मन्दिर निर्माण गर्नको लागि तयारीमा लागेका छौं । त्यसैगरी इचंगुनारायण मन्दिर पुनर्संरचनाको लागि पुरानो कलालाई जिवन्त राख्दै टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ । ह्वाइट गुम्बामा होमस्टेको व्यवस्था गर्ने हो भने त्यहाँका स्थानीयलाई ठूलो आम्दानीको स्रोत बन्ने छ ।

त्यहाँ होमस्टेको व्यवस्था गर्दा त्यहाँका स्थानीयले उत्पादन गरेका अर्गानिक खानाको व्यवस्था गर्दा पर्यटकहरु पनि आकर्षित हुन्छन् । यहाँका स्थानीयले उत्पादन गरेका कृषि उत्पादनको पनि खपत हुन्छ । जसको कारण घरमै बसेर आयआर्जनको बाटो खुल्छ । त्यसको लागि नागार्जुन नगरपालिकाले ठूलो योजनाको रुपमा लिएको छ ।

नयाँ संरचनाभन्दा पनि पुनर्संचरनाको आवश्यकता छ भन्न खोज्नुभएको हो ?

पुनर्संरचनाको कुरा गर्दा यो नगरपालिका गोर्खा र धादिङको नजिक भएको हुनाले २०७२ सालको भूकम्पले संरचनाहरु ध्वस्त भएका थिए । त्यसको लागि अहिले नयाँ स्टक्चरसहितको पुनःनिर्माण गर्ने र पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर नगरपालिकाले व्यवस्थित गर्ने काम गरिरहेको छ ।

पुनर्संरचनाका काम लगभग सम्पन्न भइसकेका छन् । अब होमस्टेका काम पनि सार्कक कन्ट्रीका पर्यटकहरु ल्याएर यहाँ राखेर सेवासुविधा पनि दिने काम भएको छ । यसलाई अझै व्यस्थित, मर्यादित र स्वस्थ, सफा र सुरक्षित होमस्टेको व्यवस्थाका लागि लागिपरेका छौं । यसले यस भेकका नागरिकलाई ठूलो आयआर्जनको व्यवस्था हुन्छ ।

जग्गा प्लटिङको नाममा जंगललगायत विभिन्न सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गर्ने काम उपत्यकामा भइरहेको छ, यसलाई कसरी लिनुभएको छ ?

काठमाडौंभित्रको ठाउँ भएपनि पहिला यहाँ जग्गाजमीनमा त्यति ध्यान थिएन । वनजंगल नजिक भएकाले बसोवास पनि त्यति थिएन । त्यसकारण पहिलादेखि धेरै सार्वजनिक जग्गा अतिक्रमण आफ्नो जग्गातिर तान्ने गरेको पाइन्छ । उनीहरुले त्यहाँ घर बनाएर बसेका धेरै छन् । त्यसरी बसेका बस्तीलाई हटाउन गाह्रो भइरहेको छ ।

पहिलादेखि नै धेरै सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यक्तिगत भोगचलन गरेको समस्या नागार्जुन नगरपालिकामा छ । त्यसलाई हटाउन या व्यवस्थापन गर्न राजनीतिक दलदेखि अन्य नागरिक सबै समन्वय गरेर लाग्ने पर्ने देखिन्छ । उदाहरणको लागि अहिले प्रशासकीय भवन बनेको ५ रोपनी जग्गा छ ।

त्यो जग्गा ५० करोड बराबरको हो । त्यो नगरपालिकाले लिएर प्रशासकीय भवन बनाइसकेका छौं । त्यस्तै स्वयम्भुको कृषि विकास बैंक निजकै एउटा व्यक्तिले ३०, ३५ वर्षपहिल्यै केही सार्वजनिक जमीन हडपेर भोगचलन गरिरहेको छ । त्यसको मूल्यांकन नै अहिले २० हाराहारी पुगेको छ ।

त्यसलाई फर्काउन कानुनी प्रक्रियामा गएर अन्तिम चरणमा पुगेको छ । त्यस्तै अरु जमीन पनि हामीले मालपोत कार्यालय र गुठीहरुबाट तथ्यांक, प्रमाण, लगत निकालेर खोजतलास गरिरहेका छौं । त्यसैगरी झन्डै २० रोपनीजति मीन एउटा खाल्डोमा केही व्यक्तिहरुले अधिकरण गरेर राखेका रहेछन् ।

त्यो पनि सार्वजनिकमा फर्काउन सफल भएका छौं । अरु पनि यहाँले भनेजस्तै वस्ती र जंगल जोडिका केही वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने काम भइरहेका छन् । खासगरी ठूला–ठूला व्यापारीहरुले त्यस्ता जंगलसँग जोडिएका जग्गा लिने र सार्वजनिक अतिक्रमण गर्ने काम अभैm पनि भइरहेका छन् । त्यसको नियमन र कारबाहीको लागि सम्वन्धित वडा, नगरप्रतिले मात्रै नियमन गर्न खोजेर पुग्नैन ।

त्यसको लागि प्रहरी प्रशासन, पत्रकार, नागरिक समाज, स्थानीय बुद्धिजीवी र सम्बन्धित वडामा क्रियाशील जनप्रतिनिधिहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेर समस्या समाधान गर्न सकिन्छ । मेरो निर्वाचन तीटवटा छन् । ती सबै ठाउँमा ५० औं वर्षदेखि अतिक्रमण गरेर भोगचलन गरेको सार्वजनिक जग्गाको सबै अनुमन मलाई हुँदैन । त्यसको लागि नगरपालिकाबाट तथ्य, प्रमाण ल्याएर व्यक्तिबाट अतिक्रमित जग्गा खोजी कार्य गरिएको छ ।

सुकुम्वासीको नाममा हुकुमवासीले उपत्यकाभित्रका थुप्रै सार्वजनिक जग्गामा ढलीमली गरेको गुनासो छ तिनलाई कसरी कारबाही गर्ने त ?

यसमा मुख्य कुरा सम्बन्धित निकायले ध्यान दिनुपर्‍यो । त्यसको लागि स्थानीय जनसमुदाय, स्थानीय बुद्धिजीवी, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, सम्बन्धित क्षेत्रको प्रहरी प्रशासन र नगरपालिकालगायत सबैको त्यसको संरक्षण गर्ने कर्तव्य हो । यहाँले भनेजस्तैले भनेजस्तो नागरिकबाट त्यसरी सार्वजनिक जग्गा अतिक्रमण हुनुहुन्न, संरक्षण हुनुपर्छ भनेर मैले नगरपालिकाको तर्फबाट क्रियाशीलताका साथ अगाडि बढाएको छु ।

तर, यहाँ त्यो फ्याक्टर मात्रै पूर्ण होइन । यहाँ त ब्यापारीहरुले सम्बन्धित वडा, नगरपालिका र मालपोतमा समेत सेटिङ मिलाएका हुन्छन् । त्यहाँ गएर लालपुर्जा, नक्सा खोजेर हेर्नुपर्छ । उसको नक्सा र लालपुर्जामा एक रोपनी छ भने क्षेत्रफलमा बढी भएका कटाइदिने । त्यस्ता जग्गा रोक्नलाई त मालपोतको ठूलो भूमिका हुन्छ । त्यहाँ गएर नाप, नक्सा, लालपुर्जा खोजेर त्यसको आधारमा खोजतलास गर्न सकिन्छ ।

त्यसैले पत्रकारले रिपोर्टिङ गर्दा पनि कहाँनेर त्यस्तो भएको छ भनेर मालपोत र वडामा बुझेर सत्यतथ्य लेखिदिने हो भने पनि धेरै सजिलो हुन्छ । अनि लालपुर्जामा भएको जग्गा कहिले देखि भोगचलनमा आएको रहेछ । पहिला कसले चलन गरेको रहेछ । पछि कसले किनेको रहेछ त्यसको सत्यतथ्य प्रमाण पूर्जा खोजेपछि सबै पत्ता लाग्छ । त्यसको लागि हामी लागिपरेका छौं ।

तपाईंको कार्यकालमा उपलब्धी र चुनौती के÷कस्ता रहे ?

चुनौतिको कुरा गर्नुपर्दा १९ वर्षदेखि स्थानीय तह रिक्त थिए । लामो अवधिसम्म जनतामा जनप्रतिनिधि बिनीहरु भएकाले उनीहरुमा धेरै इच्छा, आकांश बढिसकेका थिए । त्यो बेलामा नयाँ संरचनासहित नयाँ संविधानबाट कार्यविधि र नियम कानुन बनाएर जानुपर्ने थियो । त्यसमा स्थानीय तहले प्रदेशसँग समनन्वय गरेर काम गर्नुपर्ने थियो ।

नगरपालिकाको कार्यालय पनि नयाँ बनाउनुपर्ने भएकाले भौतिक पूर्वाधार र कर्मचारी पनि व्यवस्थापन गर्नुपर्ने थियो । त्यसैगरी बाटाका, घरका, ढलनिकासका, नगरपालिकाको प्रशासनिक भवन, वडाका भवनहरु लगायत सबै नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने थियो । १९ वर्षदेखि जनप्रनिधिविहीन नागरिकहरुदेखि अन्य राजनीतिक दललगायत सम्पूर्ण तह, तप्का, वर्ग, समुदायको इच्छा, आकांक्षा परिपूर्ति गर्नुथियो ।

यति हुँदाहुँदै पनि जनताको चाहना अनुसार काम गर्न सफल भइयो । त्यसमा मेरो कार्यपालिकामा विभिन्न पार्टीबाट जितेर आउनुभएका नगर, वडाका जनप्रतिनिधि साथीहरुबाट ठूलो साथ, सहयोग रह्यो । यी सबै अप्ठ्याराका बाजुद नागार्जुन नगरपालिकाको मेयरको हैसियत ९५ वटा बैठक सबै दलका प्रतिनिधिमाझ सर्वसम्मत ढंगले पारित गराएर विकास अगाडि बढाउन सफल भएँ । अन्य पालिका, नगरमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षबीच कति ठूलो झगडा छ । मेरोमा त्यो झगडा नभइकन सर्वसम्मत ढंगले नगर भेला सम्पन्न भएको छ ।

मेरो नगरपालिकामा भ्रष्टाचारको कुनै गन्ध आएन । अन्य ठाउँमा प्रशासकीय अधिकृत थुनिएका छन्, कतै इन्जिनियर थुनिएका छन् । मेयर, उपमेयरहरुलाई विभिन्न अनियमितताको चार्जहरु लागेका छन् । तर, नागार्जुन नगरपालिका अन्तर्गतका मलगायत सबै जनप्रतिनिधिहरुले एकदम इमान्दारीताका साथ जनताको मन छुनेगरी काम गरेका छौं ।

सबै वडा र नगरवासीहरुले विकास निर्माणको अनुभूति गरेका छन् । नागार्जुन नगरपालिकाको मेयरको हैसियतले सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिकलाई सँगै हिँडाएर सफलतापूर्वक काम गर्न पाउनु नै मेरो कार्यकालको ठूलो उपलब्धी हो भन्न चाहन्छु ।

पहिला पनि लोकप्रिय मत ल्याएर जित्नुभयो, अब फेरि नागार्जुन नगरपालिकाको मेयरमै उठ्नुहुन्छ कि माथिल्लो निकायतिर जानुहुन्छ ?

मैले केही समय अगाडि पार्टीका शीर्षस्थ नेताहरु, पार्टीका जिम्मेवार निकाय बस्नुहुने साथीहरु र आमजनसमुदायसँग मेरो पाँच वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेँ । अब मलाई नगरको राजनीतिबाट अलिकति आराम दिनुहोस् । म अलिकति माथिल्लो निकायतिर जान्छु भनेको थिएँ । तर, आमनागरिक र पार्टीका नेताहरुबाट ‘होइन तिम्रो पाँच वर्षे कार्यकालमा दुई वर्ष कोभिडले समस्या बनायो, एक वर्ष भौतिक पुनर्संचनामै बित्यो दुई वर्षकोबीचमा यति राम्रो काम गरेका छौं ।

तिमीले थालेका केही कामहरु अधुरा छन् । त्यसलाई अरु जनप्रतिनिधि आएर परिपूर्ति गर्न सक्दैनन् । त्यसकारण तिमीले अरु ठाउँमा जान पाउँदैनौं नागार्जुन नगरपालिकाको मेयर नै लड्नुपर्छ भनिसकेपछि म आमजनसमुदाय र पार्टीको निर्णय विपरीत जान नसक्ने भएकाले पुनः एकपटक मेयरमै दोहोर्‍याउने मनस्थिति बनाएर अगाडि बढेको छु ।

त्यसोभए तपाईं फेरि नागार्जुन नगरपालिकामा मेयर लड्दै हुनुहुन्छ हो ?

यो मेरो चाहना भन्दा पनि यहाँका आमजनसमुदाय र पार्टीका नेता, कार्यकर्ता हो । फेरि मलाई पार्टीका नेता, कार्यकता र यहाँका आमजनसमुदायले असाध्यै माया गर्नुहुन्छ । अन्य पार्टीका नेता, कार्यकर्ताले मेरो लामो राजनीतिक यात्रा, समाजसेवी भावना देखेर पार्टीगत स्वार्थभन्दा माथि राखेर हेर्नुहुन्छ ।

उहाँहरुले यो ठाउँमा तिम्रो आवश्यकता छ । तिम्रो पालामा परिपूर्ति हुन बाँकी रहेका धेरै अधुरा कामहरु छन् । यो ठाउँको भावना तिमीले बुझेका छौं । तिमीसँग सबैलाई मिलाएर लान सक्ने क्षमता पनि छ । त्यसकारण तिमीले हामीले भनेको मान्नुपर्छ । यहाँ भौतिकपूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन, फोहोर व्यवस्थापन, न्यायिक समाज निर्माण, पर्यटन प्रवद्र्धन, गुणस्तरीय शैक्षिक संस्था स्थापना सबै ठाउँमा तिम्रो आवश्यकता छ भनेपछि उहाँहरुको भावनालाई समेट्नको लागि मेयरको उम्मेदवारी दिने तयारी गरेको छ ।

यदि मैले उहाँहरुको चाहनालाई कुठाराघात गरेँ भने मप्रतिको हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ । किन भने उहाँहरुले नै जिताउने हो मलाई । त्यहीं अनुसार मैले उहाँहरुको आज्ञा मानेर वैशाखमा हुँदै गरेको स्थानीय निर्वाचनमा आपूmलाई नागार्जुन नगरपालिकाको मेयरको उम्मेदवारमा उभ्याएको छु ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ फाल्गुन ३०, १५: २७

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ फाल्गुन ३०, १५: २७

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७८ फाल्गुन ३०, १५: २७

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...