संघर्षका पाइला – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

संघर्षका पाइला

सुशीला अंगाईं

संघर्ष भनेको जुध्नु हो । परिस्थितिका सिर्जनात्मक पक्षसँग गन्तव्यमा पुग्न । कहिल्यै कोही हिँडेर कहीँ पुगेको छैन । सदा नै हिँडरहेको छ । जो जहाँ पुग्नु छ त्यही हो उद्देश्य । त्यहाँ पुगेपछि त्यहाँभन्दा परको संसार झनै व्यापक र विस्तृत् हुन्छ । पृथ्वी आँफैमा समग्र र पूर्ण छ तर यहाँका अनेक वस्तु र ज्ञान अपूर्ण छन् र गतिमान । ऋतु, हावा, पानी, घाम, जून, दिन, रात, साँझ, बिहान, तिमिर, प्रभात संघर्ष, ज्ञान र प्रेरणाका अनेक अध्याय हुन् ।
हावा आफ्नो वेग रोकेर कहिल्यै बस्दैन । बगिरहन्छ पानी । कहिल्यै खुम्च्याएर आफ्नो रूप अनकन्टारमा कहिल्यै फैलिएर समतलमा बगेर आउने पहाडदेखि पहिरो र चट्टानलाई वेगवान बनी बगिरहन्छ अनवरत । नवीन आवाहवाको आश्वादन गराउँदै घुमिरहन्छ विधिले ऋतु । घना अन्धकारलाई फारेर चराचर जगत्मा एक्लै उदाउँछ बालसूर्य । चलिरहन्छ दिनरातको चक्र । समग्र पृथ्वीले आफ्नो साँढे चार अर्बको इतिहासमा झेलेको छ अनेक विघ्न । ज्वालामुखी, भूकम्प, हिउँ, ताप, आँधी, तुफान जो यात्राका लागि मार्गदर्शनका पाना पनि हुन् ।


जीवनको पर्याय हो संघर्ष । ती व्यक्ति जो दिनभरि खेतमा काम गर्थे, राती ताप्न राखेको आगोको उज्यालोमा पढ्थे । काठको साबेलमा गोलले लेख्थे । लेखेर भरिँदै जाँदा एकछेउमा मेट्दै फेरि त्यहाँ लेख्न थाल्थे । उनै थिए—अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम् लिंकन । ती आफ्ना गन्तव्यमा कहिल्यै थाकेनन्, हिँडिरहे एक्लै–एक्लै । आँफूले आँफैलाई चिनेर दृष्टिका भरमा होइन, आत्मविश्वासले पाइला चालेर । खाएर हजार चोट गाह्रोमा बसेको चेप्टो ढुंगा र मन्दिरमा पुजिने मूर्तिले झैँ ती महामानव हाँसे दुःखमा बटुले पीडाबाट शक्ति नेल्सन मन्डेला जो २० औँ शताब्दीका महान् पुरूष हुन् । जसले रंगभेदका विरूद्ध आजीवन संघर्ष गरे, २७ वर्ष गोराहरूको जेलमा बिताए । मुक्त भएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका मन्डेलाले प्रतिशोध साँधेनन् गोराहरूसित । अन्ततः उनको सहिष्णुता, सद्भाव र समन्वय वैचारिक दर्शनको धरातल नै सफल बन्यो उनलाई संसारभर चिनाउन ।


उद्यम र पराक्रमले नै लक्ष्य चुम्छ । यसैबाट शक्ति र सहासको प्रार्दुर्भाव पनि । बन्द बाटो देखेर फर्कनु होइन संघर्ष बाटो आँफै खन्नु हो । संकटका कयौँ पहाड खडा हुन्छन् गन्तव्यमा मानौँ ती लाम लागेका छन् एकपछि अर्को तर्नु पर्छ विवेकका भर्याङले । कवि लेखनाथ पौड्याल यसरी पोख्छन् आफ्ना भाव कवितामा—
अघिसम्म एउटा थियो दुःख चर्को
खडा भयो तुरून्त नै महा दुःख अर्को
जहाँ पाउमा घाउको दर्द हुन्छ
उसमै सदा ठेस लागिरहन्छ । (नाटक भर्तृहरि निर्वेद)
चोट, पीडा, संकट अनेक गारो तगारो विवेकका परीक्षा हुन्, चिनारी हुन् धैर्य र सहासका । क्षणक्षणमा परिवर्तनशील छ जगत् । शुक्ष्म ढंगले हामी देख्दैनौ । शुक्ष्म गतिले नै अनेक परिस्थितिको सिर्जना गर्छ । थाहै हुँदैन बिहान उदाउने घामले कस्तो दिन लिएर आउँछ ? समयसँग अञ्जान छ मान्छे । यद्यपि, परिश्रम महत्वपूर्ण हुन्छ उद्देश्का मार्ग प्रशस्त गर्न ।


संघर्ष र प्रेरणाका हस्ती बगाएर भावको गंगा सिंगै सागर दिए जसले विशाल र पवित्र मानसरोवर दिए नेपाली साहित्यलाई । मरूभूमिमा टल्केको बालुवामा तिर्खाले आकुल भएको मृगले पानी खोजेझैँ लोभिएर देवर्षी नारदको हिँडाइमा कयौँ मान्छे खोज्छन् आज उनलाई । प्रकृतिका मुनामुनामा खोजीको लागि उनकै चन्द्रलोक पुगेको आशालु यान उत्तर लिएर फर्कन सकेन कहिल्यै कल्पनाका अद्वितीय श्रष्टा यसो भन्छन् प्रश्नोत्तर कवितामा—
के हो ठूलो जगत्मा पसिना विवेक
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।
आफ्ना पूर्वजहरूको उद्धार गर्ने अभिभारा बोकेका सगर वंशी राजा भगीरथले अनवरत् कठीन साधनाद्वारा स्वर्गकी नदी गंगालाई धर्तीमा झारेका थिए । ‘श्रेयासि वहुविघ्नानि’ । राम्रो काममा हरेक क्षण विघ्न आइरहन्छ । कल्पना होइन जीवन कर्म हो । सुतेको बाघको मुखमा आएर मृग बसेको दृष्टान्त छैन । असल कार्यको नतिजा ढिलै आउँछ । बुद्धले लामो साधनापछि बल्ल ज्ञान प्राप्त गरे । प्राप्ति त केवल झुल्का मात्र हो । जसरी चम्कन्छ बिजुली । तथापि स्थान निर्धारण भने अवश्य हो ।


गति हो जीवन । कर्म नै संघर्ष । कर्मका अगाडि गौण हुन्छ लक्ष्य । आशाले धैर्यतालाई नष्ट गर्छ । विकेन्द्रित गर्छ विवेकलाई । अनवरत् लगनशीलताले संभव बनाउँछ कठीन कार्य दृढ आत्मविश्वासले । भित्रैबाट चम्कने प्रकाशलाई मधुरो बनाउन सक्दैन कसैले । रोकिँदैनन् हिमालका सिर्जना । रोक्न खोजे पनि । जो बग्छन् बगिरहन्छन् । सिर्जनामै हुँदोरहेछ अथाह शक्ति, सामथ्र्य अग्रगामि पथका लागि यथेष्ट, उन्नत आशाका किरण पनि ।


पर्खंदैन समयले भनिरहन्छ—चरैवेति, चरैवेति । कालले कसैलाई माफ दिएको पनि छैन । कर्मठका अगाडि रवाफी, हावादारीहरू त्यसरी नै हार्छन् जसरी व्यर्थको हुन्छ पिनेको पिठोलाई फेरि पिन्नु । नसके जस्तै हुन्छ गरूडको वेगलाई झिँगोले पछ्याउन । परिश्रमीका खातिर ईश्वर पनि झुक्न वाध्य हुन्छन् । अभ्यन्तरबाट प्रस्फुटित दृढतालाई कसैले छेक्न सक्दैन । याने कि आकाशमा पर्खाल लगाउने सामथ्र्य कसैको हुँदैन । अनेक भंगाला तरेर बांगोटिंगो पथ, घुम्ती, मोडमा घुमेर मात्रै पुगिन्छ गन्तव्यमा सहासले ।


कार्यमा निरन्तरता महत्वपूर्ण हुन्छ । अनेक समस्या हुन्छन् साथमै । चिहानको मुर्दा मात्र हुन्छ समस्याविहीन । अनवरत बगिरहने पानीले खियाउँछ कडा चट्टानलाई पनि । चिन्नु पर्छ आजलाई यथेष्ट हुन्छ आजको समस्या आजै । महत्वपूर्ण हुन्छ वर्तमान । यसो भनिएको छ होली बाइबलमा, ‘भोलिका निम्ति फिक्री नगर । किनभने भोलिका दिन आफ्नै फिक्री लिएर आउँछन् । आजका काम आजैका निम्ति यथेष्ट छ ।’ कुनै कार्यमा निर्विकल्प समर्पित हुनुपर्छ जहाँ सफलता आँफै आइपुग्छ ढोका खोल्न । उतार–चढाव जरूंर छ यात्रामा जो ज्युँदो हुनुको प्रमाण हो । मुटुको चाल नाप्ने ईसिजीको लाइन पनि उतारचढावयुक्त हुन्छ । इन्धनको अभावमा उचाइमा उड्न सक्दैन जेट प्लेन । दृढ इच्छाशक्तिको साथमा आफ्नो क्षमता पहिल्याएर काम गर्नु पर्छ । सपना देख्नु, योजना बनाउनु, बहाना गर्नु होइन कर्म समस्याहरूलाई पर्गेल्दै जागरणका साथ कर्ममा समर्पित हुनु संघर्ष र प्राप्ति दुवै हो ।
संघर्ष मानव एक्लैले होइन इतिहासका अनेक छन् घटना । मानवले जुध्नु परेका घडी । वर्तमान पनि एउटा दृष्टान्त हो । सिंगो पृथ्वीमा रहेका सम्पूर्ण मानव जातिको अस्तित्वमाथि नै धावा बोलिरहेको सानो भाइरसले मानवमा फैलाएको संकट र त्रास । सिंगो मानव जाति जुधिरहेको छ उसैसँग । विवेकी मानव, चेतनशील मानव, सम्वृद्ध मानव, आविष्कारक मानव संंघर्षरत छ खोजीमा अनेक सम्भावनाको । नियमित आकस्मिकताको संकटबाट पार लगाउन खोजी गरेको छ भाइरस विनाशक । प्रयोगशालामा जुटिरहेको छ हर्दम ।

कोविड–१९ को संकटले चुनौती मात्र दिएको छैन विश्वलाई अनेक अवसर र सम्भावनाको खोजी गर्ने पाठ पनि सिकाएको छ । आगामी भवितव्यको लागि मार्गदर्शन पनि । हाम्रा पुर्खा मनुले जुधेनन् होला भाइरससँग । उनका समयमा अर्कै थिए व्यवधान । उनैका शाखा सन्तति हामी समयको लामो अन्तरालमा जुधेका छौँ अर्कै व्यवधानसँग समयको पावन्दीमा फेर्छ विघ्नले अनेक रूपरङ्ग, ढाँचा नितान्त फरक ढङ्गले मानवीय क्रियाकलाप र व्यवस्थापन अनुरूप वाचाल बनेर खनिन्छ समय । भोलिका दिनले ल्याउला अँझै जटिल भयावह । सायद् डराउनु पर्ला खुल्ला आकाशमा बहेको हावासँग अनि खोजी गर्ला मान्छे भाइरसयुक्त हावाको गति, बगाव, पत्ता लगाउने संयन्त्र खर्च गरिरहला विवेक । अनेक सम्भावनात्मक भयावहका खातिर ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७७ जेष्ठ २१, १४: ३४

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७७ जेष्ठ २१, १४: ३४

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७७ जेष्ठ २१, १४: ३४

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...