
सञ्चित इतिहास अपूर्ण छन् । साध्य छैन लेखेर । युगौँयुगदेखिको विकासक्रम पृथ्वी, जीव र मानव उत्पत्तिको आदम र हब्बा, मनु र सतरूपादेखि ओढारको घरमा बस्दाको मानिसको दिनचर्य अनि चन्द्र धरातलमा अवतरण गरेको मान्छेको समुन्नति ।
शिक्षा, संस्कृति र सभ्याताले काँचुली फेरको विश्वको अनुहार आजभन्दा फरक देखिन्छ भोलि । अतीतमा गुमे हाम्रा कयौँ महिमाशाली ग्रन्थहरू पुस्तकालयबाट । बुद्धका मूर्ति हराए । पूर्खाले आर्जेको धर्तीको भू–भाग हरायो । शेक्सपियर, बायरन, इलियट र चसरका कविताको शुद्ध अर्थ भेट्न सक्दैनौ आज अनि न्यूटनलाई पागल भन्नेको ठूलो जमात पनि ।
आज २१ औँ शताब्दीमा गतिमान छ समय । आदि र अन्त्य छैन । छालजस्तै छ समुद्रको फर्कंदैन नत थकान नै । धनको धन हो, मूल्यवान छ प्राप्त गर्न सकिन्न मूल्य तिरेर बितेपछि । पारख गर्न नसक्नेका लागि काँचजस्तै हुन्छ हिरा पनि । परिचित हुन नसक्दा समयसँग यथास्थितिमै रहिन्छ । बटन नथिची उभिएझैँ लिफ्टमा ।
समय सबैको हातमा छ चराचर बराबर । दिनको चौबीस घण्टा । समयका दृष्टिमा विपन्न छैन कोही र सम्पन्न पनि । समभावले न्यानो किरण छर्छ रवि । उस्तै रितमा झरी पनि । यत्रतत्र सर्वत्र बहन्छ पवन । समय पर्खंदैन कसैलाई नत क्षमाशील नै ।
समयको साथमा सुहाउनु जरुर हुन्छ । कार्यको मूल्यांकन समय स्वयम गर्छ । शून्यताबाटै पूर्णताको यात्रा शुरु हुन्छ । समयमै गरेका ससाना कार्यहरु आधारभूत हुन्छन् महान कार्यका लागि । सरल र जटिल पानाले परिपूर्ण अनगिन्ती अध्याय हो समय र मानव अनुभूतिको बृहत् शब्दकोष पनि । जो चलिरहन्छ सदा अग्रगामी पथमा । हामी भन्छौँ-मसँग समय छैन । समय कसैसँग पनि छैन । बरु सदा समयसँग हामी छौँ ।
बाँधेको छ प्राणी जगत्लाई बलियो फलामे सिक्रीमा । समय आजको अनमोलता बोध गराउँछ । मानव भोलिको चिन्ता गर्छ । भोलि कुन रुपमा आउँछ ? आजकै रुपमा आउँछ । भेट्न सक्दैनौँ हामी भोलिलाई उत्पत्तिदेखि प्रलयसम्म । यसो भन्छन् कविवर माधव घिमिरे कवितामा
सँधै सँधै आज र भोलि पर्सि
हिँडिरहन्छ्यौ कहिल्यै नपर्खी
मेटिन्न माटो मुटु हुन्न बन्द
टुंगिन बाटो क्रम यही अनन्त ।
समय सँधै रहीरहन्छ । समय कहाँ सिद्धिन्छ र ? हामी भन्छौँ— समय सिद्धिन्छ, समय दौडन्छ यताबाट उता । समय दौडिएर कहीँ जाँदैन । कहाँ जानु छ र समयलाई ? मानिसले पो त दौडनु पर्छ समयको घेराभित्र रहेर ।
यन्त्रबिनानै समय परिवर्तनको जानकारी दिने एकाई दिनरात हो ।
श्रीमद्भगवत महापुराणको तेस्रो स्कन्धको एघार अध्यायमा समय मापनको चर्चा गरिएको छ । सूर्यलाई नै समयको अधिष्ठाता मानिएको छ । समयलाई परिभाषित गर्न पदार्थको सहारा लिइएको छ । जसले समयलाई वस्तु सापेक्ष गरी हेर्ने दार्शनिक आधार दिएको छ ।
सुनौलो क्रान्ति हो समय । आज जस्तो लाग्दैन भोलि ।
नत हिजोजस्तै हुन्छ आज । सजिन्छ बेग्लै सिल्पले हरदिन । अद्भूत छ नियम । सुनिश्चित समय छ घामको उदाउने र अस्ताउने । त्यस्तै जाडो–गर्मीको आवागमन पनि । आफ्नै समयमा वर्षन्छ शीत अनि वर्षात लागेपछि गडगडाउँछ खहरे ।
मैदानका लिली फूलहरु मुस्कुराउँछन् बसन्त आएपछि । अनि गाना भर्छ कोकिल वन प्रान्तमा । आफ्नै याममा टुप्लुक्क आइपुग्छे चरी हाँगामा काफल पाक्यो भन्दै । पृथ्वी घुमेको छ अनवरत रितले । अग्लिन्छ हिमाल शिशिरमा अनि पग्लिन्छ आफ्नै मौसममा सललल्ल बनेर हिमनदी ।
हावाले बहन बिर्सिए के होला ? अनि नबगे पानी ! रोक्यो भने पृथ्वीले गति ! धराशायी हुन्छ मानव अस्तित्व अनि अन्त्यको शुरुवाता पनि । कर्मैको आडमा जीवन्त बन्छ मान्छे । रोकेर बसे गति खुल्दैन फाटक उन्नतिको ।
आव्हान गर्छ समय खोज, आविष्कार र सिर्जनाका निम्ति नवजागरणको शंखनाद । पहिचान गर्न सक्नेहरुका लागि शांकेतिक हुन्छन् अवसरहरु ।
जंगली अवस्थाको मान्छे जंगलमा खाना खोज्न जान्थ्यो । ओढारमा बास बस्न फर्कंदा बाटो भुलिएला भनेर रुखका हाँगा मर्काउँथ्यो ।
कान्ला र ढिस्काहरु भत्काउँदै चिनो राख्थ्यो फर्कनका लागि सजिलो बनाउन । डाँडाको घाम हेरेर रात पर्न लागेको अड्कल काट्थ्यो । यिनै अवस्था पार लगाएर व्यापक परिवर्तनको बिगुल फुकेको छ समयले लम्कँदै छ दिनानु दिन ।
विज्ञान र प्रविधि शिखरतर्फको यात्रामा आवश्यकता नै आविष्कारको जननी हो । सिद्धान्त नै सिकाईको आधारशिला पनि । आज मान्छेले कम्पासदेखि राडरसम्म विकास गर्न सक्यो । आराधनमा समयको अनवरत जुटे प्रयोगशालामा न्युटन, आइन्स्टाइन बालकजस्तै बनिरहे जिज्ञासु । उनकै सिद्धान्त बाँचेका छन् हाम्रा व्यवहारिकतामा सँगै उनीहरु पनि ।
थाक्दैनौ गाएर दृष्टान्त उनको छाडेनन् जसले समयको साथ । माथ गरे अनेक कठिनाई । देवकोटा, सम, शेक्सपियर, टैगोर । उनका उपजिव्य कृति छन् आज हाम्रा हात हातमा ।
दिनको सत्र घण्टा व्यस्त रहन्छन् बिल गेट्स । त्यसैले त धनी कहलाए विश्वकै । एउटा प्रयोगशालाले मानवकै समकक्षी यन्त्रमानव बनाउने क्रममा एउटा जिउँदो र जाग्दो मान्छेको एक सेकेन्ड समय बराबर पचास हजार डलर मूल्य तोकेको छ । जसबाट अवगत हुन्छ समयको मूल्य ।
परिवर्तनशील छ समय । नश्वर छन् सम्पूर्ण संरचना । सेकेन्डमै खसेको लिटिल ब्वई एण्ड फ्याट म्यानले हिरोशिमा र नागाशाकीको सुन्दर संरचना ध्वस्त गर्यो । फेरि मानव आविष्कारले नै पृथ्वीलाई चन्द्र र मंगलग्रहसँग साक्षात्कार गर्न सक्यो । वरदान र विनाश दुवै हो विज्ञान । बराबरी छन् गुण–दोष । समयको देन हो आविष्कार र शिक्षाको उपलब्धी पनि ।
सुकरातले मृत्युदण्ड दिनुभन्दा अघि आफ्ना शिष्यलाई कार्यको निरन्तरता बोध गराएका थिए । समयको पहिचान हो निरन्तरता । बीशौँ शताब्दीका महामानव महात्मा गान्धी समस्या लिएर आउनेहरुका भीडमा घेरिएर समाधान बताउँथे चर्खामा धागो कात्दै । कोल्टे फेरेपछि समयले अर्थहीन हुन्छ रफ्तार । लखेटिन्छ मान्छे झरेको पातलाई हावाले लखेटेझैँ दिशाविहीन भएर ।
समय उड्छ पाइलट हामी नै हौँ । परिस्थितिलाई नियन्त्रण गर्नु पर्छ समयसँग हिँड्न । डोहोरिनु पर्छ मनस्थितिले । कसरी अविराम यात्रा गरिरह्यो कछुवा । अन्ततः खरायोले नै झेल्नु पर्यो पराजयको पश्चाताप । समय नै धारिलो हतियार हो । व्यक्तिलाई प्रमाणित गर्ने आधार पनि । वर्तमान विश्वले भित्र्याएको छ दिनानु दिन नयाँ प्रविधि ।
विकसित मुलुकहरु आविष्कार गर्छन् स्मार्ट वाच, मोबाइल इत्यादि । प्रयोग गर्छौँ हामी । उनीहरु समयको सदुपयोग गर्छन् । भिडियो गेम बनाउँछन् । युट्युब र फेसबुकबाट व्यापार गर्छन् । हामी मनोरञ्जन लिन्छौँ । घण्टौँ खर्चिन्छौँ सामाजिक सञ्जालमा ।
हामीले प्रविध होइन प्रविधिले हामीलाई चलाउन थालेको पत्तै पाउँदैनौ । कम महत्वपूर्ण कार्यमा समय खेर गइरहेको छ । उल्टो बाटो हिँडेर गन्तव्य भेटिन्न । कलिला स्कुले बालबालिकाहरुको सिर्जनाशीलतामा हस हुँदै गइरहेको छ । के होला यसको दीर्घकालीन असर ?
साना–ठूला सबैको मस्त लुटिरहेछ समय वान आइ मन्स्टर रमेर सबैका हातमा । मनोरञ्जक र रमिते मात्र होइन विद्यमान छ नायक बन्ने गुण पनि हामीमा । नितान्त महत्वपूर्ण छ समय । कल्पनाको प्रवाहले पनि नपाए उत्रिन पानाभरि हराउँछ क्षणमै ।
पौरखीहरुका लागि थप हिम्मतको पर्याय बनिदिन्छ समय । उत्साह र शक्ति पनि । शान्ति, कल्याण र अमनचैनको विगुल फुक्छ कहिले उहि यायावर जरासन्ध बनेर खडा हुन्छ फेरि । थुपार्छ अनेकौँ चुनौती । रहँदैन कसैको नियन्त्रणमा पनि ।
युद्ध, महामारी अनेकौँ प्रकोपको चक्करमा धकेल्छ आफ्नो प्रवाहलाई । वर्तमानलाई बेरको छ भाइरसरुपि जालले । विश्वमा कयौँले गुमाए ज्यान । भोकमरीले मरेका छन् कति । संसारका अर्का कुनामा सडेर गइरहेको छ खानेकुरा । कसैले खोला बगाइरहेका छन् ।
कोही एक घुट्को पानीका लागि तड्पिरहेका छन् । ख्याति कमाएका अस्पताल मनाही छ कोभिड संक्रमितका लागि । नजिक नआउन अनुरोध गर्छन् डाक्टरहरु । अभावले दुर्गम बनेको छ सहर । यस्तै विषमताका अनेक दृश्यांशको दर्शक मान्छे स्विकार्न विवश छ निरीह बनेर समको दासत्व ।
भूमि, जल, जाति, धर्मका नाममा चर्किंदा युद्ध अनेक गोता खाइरह्यो युगले । सन् १९३९ को महासमर आत्तिए कयौँ कलिला एन फ्र्याङ्कहरु गुप्त भवनमा तेजावधारा खन्यायो समयले । दिनरात साइरन बजे, बम खसे, गोली चले, ध्वनि वर्जित थियो पाएनन् चिच्याउन समेत ।
कालो समय अस्विच र वैइगेन बेल्सेनका ग्यास च्याम्बरहरुमा यहुदी हत्याको खबर विश्वले सुनिरह्यो आतंकित बनेर । अन्ततः साठी लाख यहुदीको हत्या । निको नभएका घाऊ फेरि दुख्न थाले । धर्मका निम्ति, भूमिका निम्ति प्यालेस्टाइन र इजरायलको अबिराम युद्ध कहिलेसम्म ?
निष्ठूर समयका पखेटामुनि कयौँ भियतनामी बौद्ध भिक्षुहरु ज्युँदै डढे ।
द्वापरको अन्त्यमा सत्य र धर्मको स्थापनाकै नाममा अठार दिनसम्म हस्तिनापुरको कुरुक्षेत्रमा अनवरत चल्यो घमासान । भाइ–भाइ बिचको युद्ध सत्ता प्राप्तिकै खातिर अनेक दुर्दान्त । हेर्ने उही समय जो सजिव छ आज हाम्रा आँखामा ।
समयको रफ्तारमा भवितव्यहरू आकस्मिक हुन्छन् चिर्दै जान्छ मानव स्वयमले नै । सम, विषम, रौद्र र सौम्य परिस्थितिका चुनौतीहरूलाई । अनुभूतिहरू लामो विगतका उपलब्धीहरू हुन् । बौद्धिक उपलब्धी र ज्ञानका पाठहरू आजका लागि गणनायोग्य हुन्छन् ।
समयको सम्बन्ध आज र अहिलेसँग हुन्छ । जसको अधिक से अधिक उपयोगले उन्नत कार्यसिद्धि हुन्छ । आजभन्दा २५ सय वर्षअघि जन्मिएका बुद्ध गुगलमा खोजिने आम हो ।
र, बिक्री हुने मूर्ति पनि उनैको हो । उच्च बौद्धिक चेतनाले महान बन्छ मान्छे जसका ज्ञान र अनुभूतिहरू नै अशेष समयका शेषमा साझा पथप्रदर्शनका मार्ग बनेका छन् । अटाएका छन् आलोक बनेर सबका हृदयमा ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...