सबै मिलेर नेपाल बचाउनु नै नयाँ शासन पद्धतिको चुनौती – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

सबै मिलेर नेपाल बचाउनु नै नयाँ शासन पद्धतिको चुनौती

हरिविनोद अधिकारी

१. पहिलो चरणको निर्वाचन सम्पन्न भएपछिको पालो भनेको दोस्रो चरणको निर्वाचनको हो । हाल नेपालमा ७७ जिल्ला भएकाले मार्ग १०का दिन ३२ जिल्लाका ३७ स्थान प्रतिनिधि सभाका साँसदहरुको र ७४ स्थान प्रदेश सभाका साँसदहरुको निर्वाचन भएको छ । मार्ग २१ गते भने बाँकी ४५जिल्लाका प्रतिनिधि सभाका साँसदहरु १२८ जना र प्रदेश सभाका साँसदहरु २५६जनालाई नेपाली जनताले चुन्नेछन् । अनिमात्र मतगणना सुरु हुनेछ ।
२. दुई चरणमा नै सँगसँगै समानुपातिक साँसदहरुको पनि निर्वाचन हुनेछ । प्रतिनिधि सभाका लागि ११० जना साँसदहरुलाई नेपाली जनताले समानुपातिकरुपमा नेपाल नै एउटै भूगोल मानेर छान्नेछन् भने प्रदेश सभामा प्रादेशिक भूगोलका आधारमा ७ प्रदेशमा सबै गरी २२०जनालाई छान्नेछन् ।
३.हाम्रो प्रादेशिक सभा र प्रतिनिधि सभा समावेशी बनाउने हिसाबले समानुपातिक निर्वाचनको व्यवस्था गरिएको बताइएको छ । नयाँ संविधानको घोषणा भएपछिको यो पहिलो प्रादेशिक तथा केन्द्रीय निर्वाचन हो । योभन्दा पहिले स्थानीय तहको निर्वाचन भइसकेको अवस्था छ ।
४.समानुपातिक निर्वाचनको यो पहिलो पटकको प्रयोग भने होइन । संविधान सभाका लागि भएका दुईओटा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको प्रयोग गरिएको थियो । त्यसको अनुभव त्यति सकारात्मक नभए पनि र पहिलो संविधान सभाबाट किचलोका बिचमा नै संविधान नै बनाउन नसकी विघटन भएकाले दोस्रो संविधान सभाको निर्वाचन भएरमात्र संविधान घोषणा हुन सकेको थियो ।
५.निर्वाचन प्रजातन्त्रको प्राणवायु हो । अपरिहार्य हुन्छ । नत्र जनताका विचारहरु थाहा पाउन सकिँदैन । तर दलहरुले निर्वाचनमा के भने र किन मत दिइयो भन्ने कुराको मापन असम्भव हुँदोरहेछ । तर पनि कहिले व्यक्ति हेरेर, कहिले व्यक्तिले प्रतिनिधित्व गर्ने दल हेरेर र कहिले ती दलहरुले प्रतिपादन गरेका सिद्धान्तलाई हेरेर जनताले मतपत्रमार्फत् आफ्नो विचार प्रकट गर्छन् । त्यसैका लागि हामी निर्वाचनको महत्वपूर्ण क्षणमा अहिले छौँँ ।
६.संघीय सँसद दुई सदनात्मक व्यवस्था गरिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा । २७५स्थानको प्रतिनिधि सभा हुनेछ र राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । अप्रत्यक्षरुपमा छानिएका प्रादेशिक प्रतिनिधित्व र राष्ट्रपतिबाट मनोनीत ३ जनासहितको माथिल्लो सदन परिपक्व नागरिकहरुको मानिन्छ र तल्लो सदनलाई बाधा अवरोधका लागि भन्दा पनि तल्लो सदनलाई बाटो देखाउने हिसाबले माथिल्लो सदनको गठन गरिने मानिन्छ ।
७. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि अप्रत्यक्ष तर जनताले चुनेका विभिन्न तहका प्रतिनिधिमार्फत हुनेछ । यसरी अबका दुई महिनासम्ममा नयाँ संविधानले परिकल्पना गरेको शासन पद्धतिको पहिलो चक्र पूरा हुने देखिन्छ ।
८. मुलुक संक्रमणकालको चपेटामा जकडिएको छ । स्थानीय तहको निर्वाचन जसरी सहज तरिकाले भएको थियो, त्यसैगरी केन्द्रीय सँसद र प्रादेशिक सँसदको पनि निर्वाचन होस् भन्ने कामना गरिएको छ । तर स्थिति जटिल पनि छ र निर्वाचन जसरी हुन्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय तरिकाले गर्नु गराउनु जरुरी छ । निर्वाचन आयोग र सरकार दुबै निर्वाचनका लागि कटिबद्ध भएको पाइएको छ । र पनि त्रासको वातावरण भने देखिन्छ । त्यसो हुनुमा निर्वाचन घोषणादेखि निर्वाचनको बेलासम्ममा देखिएका हिँसात्मक गतिविधिले गर्दा पनि हो । स्थानीय निर्वाचनमा जस्तै होला भन्ने अनुमान गलत भएको छ र पनि सरकार जसरी हुन्छ तोकिएको समयमा निर्वाचन गरेर जनताका प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न चाहेको देखिन्छ ।
९.जनताको अभिमतलाई कसैले पनि न्यूनीकरण गर्नु हुँदैन । अपमान पनि गर्नु हुँदैन । जनतालाई निर्वाचनभन्दा पहिले डर त्रास देखाउनु पनि हुँदैन । जनता नै राज्यका भाग्य विधाता हुन् । जनताको परिवर्तनको मत भनेको अहिँसात्मक तरिकाले मतपत्रमार्फत् सुटुक्क बाकसमा हाल्ने क्रान्ति हो । बुलेटले गर्न नसकेको परिवर्तन ब्यालेटले गरेको देखियो हाम्रै नेपालमा । यसलाई दृष्टिगत गरी जनताको उच्च मूल्याङ्कन गर्नुपर्छ ।
१०. र अन्त्यमा, नेपालको स्थिर सरकार भनेको बहुमतको सरकारभन्दा पनि दलीय रुपमा एकता प्रदर्शन गरेर गरिने शासन पद्धति हो । सबै सम्भावित राष्ट्रिय दलहरु एक ठाउँमा बसेर भावी दिनका चुनौतीहरुका वारेमा छलफल गरेर अगाडि बढ्ने काम जरुरी छ । दलहरुलाई लाग्दो हो, बहुमतले सबै रोगको ओखती हुनेछ । मुलुकलाई संक्रमणकालबाट बाहिर ल्याउन पनि सबैको सहमति जरुरी छ । सबैको सहभागिता आवश्यक छ । मोही माग्ने ढुङ्रो लुकाउने काम हुनुहुँदैन । मुलुकको समस्या सबैलाई थाहा छ । मुलुक विदेशीहरुको खेलमैदान भइसकेको अवस्था छ । मुलुकलाई त्यस संक्रमणबाट बचाउन पनि आग्रह पूर्वाग्रहभन्दा माथि उठेर शासन पद्धतिलाई सर्व स्वीकार्यरुपमा लैजान सक्नुपर्छ । प्रजातन्त्रको विकल्प नभए जस्तै मिलेर नेपाललाई बचाउने कामको पनि विकल्प देखिँदैन ।

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ मंसिर ११, ०८: ३०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ मंसिर ११, ०८: ३०

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ मंसिर ११, ०८: ३०

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...