हरिविनोद अधिकारी
१. नेपालको संविधान तयार गर्न र कार्यान्वयन गराउनका लागि संक्रमणकाल छिचोल्न सफल भएको नेपाली काँग्रेस अबका दिनमा भने नेपालको शासन गर्न वञ्चित भएको देखिन्छ । हुन त कसैले पनि बहुमत ल्याएको प्रत्यक्ष देखिँदैन तर वाम गठबन्धनका नाममा यसरी लज्जास्पद हार भइसकेपछि पनि हामी हारेका छैनौँ र अरु मिलेर हराए भन्नुचाहिँ राजनीतिक बेइमानी हुन्छ नेपाली काँग्रेसका लागि ।
२. एकातिर नीतिगत रुपमा भने नेपाली काँग्रेसको संसदीय व्यवस्थाअनुसारको प्रजातान्त्रिक व्यवस्थाको जीत भएको छ र त्यही अनुसारको राजनीतिक प्रणाली सञ्चालनमा आउन थालेको छ । संघीय स्वरुपको विकेन्द्रित शासन प्रणालीको कार्यान्वयन सुरु भएको छ । काँग्रेसको आवश्यकता भनेको प्रजातन्त्रको पुनर्बहाली, त्यसको व्यवस्थापन र कार्यान्वयन सम्मको नेतृत्वका लागि थियो , अब हामीले पो सञ्चालन गर्ने भन्ने वामपन्थीहरुको भनाइलाई नेपाली जनताले लालमोहर लगाएका छन् स्थानीय तहदेखि, प्रदेश सरकार र संघीय सरकारसम्मको यात्रामा ।
३. नेपालीहरुले तत्कालीन सोभियत संघको मिन्सेभिक र बोल्सेभिकको कथा पनि पढेका छन्, चीनको साम्यवादी शासनको स्थापनाको कथा पनि सुनेका छन् , पढेका छन् । ती देशमा राजतन्त्र कसरी समाप्त भए र कम्बोडियामा कसरी राजतन्त्रको स्थापना फेरि भयो भन्ने पनि बडो ध्यान दिएर जानकारी राखेका छन् । अनि नेपालमा कम्युनिस्टहरुको लागि सहज अवस्था कसरी तयार भएको थियो भन्ने कुरा अबका दिनमा पुनर्लेखन होला, सत्यलाई छोप्दै तर नेपालको राजनीतिका चाख राख्नेहरुले राम्रैसँग बुझेका छन् । त्यसैले कोही पनि डराएका छैनन् किनभने प्रजातन्त्रका जगमा उभिएको शासन प्रणाली आफैँ कहिल्यै पनि ढल्दैन, ढाल्नु पर्छ । त्यो आजको युगमा साह्रै गाह्रो छ भन्ने कुरा म्यान्मारले देखाएको छ । नेपालले पनि त्यसको स्पष्ट जानकारी इतिहासलाई दिएको छ ।
४. बरु मुलुकमा राजनीतिक , सामाजिक तथा आर्थिक स्थिरता भने अझै टाढा देखिँदैछ । अनावश्यकरुपमा विदेसीहरुको हस्तक्षेप निम्त्याइएको देखिन्छ । त्यो कुनै विदेसीहरुको धेरै नजिक गएर र कुनै विदेसीहरुसँग धेरै टाढा बसेर पनि । निर्णायक दलहरुको वारेमा जनतामा सकारात्मक धारणा छैन । बाध्यता हो जनताको, उपलब्ध खराबहरुमध्ये छान्नु जरुरी थियो । वाम गठबन्धनको जिताइ पनि प्राविधिक देखियो भने नेपाली काँग्रेसको लज्जास्पद हार पनि झन प्रायोजितरुपमा मन्चन गरेजस्तो देखियो । वैधरुपमा प्रजातान्त्रिक पक्षलाई हराएर वाम गठबन्धनको शासन प्रणाली थोपर्न चाहँदा पनि सहज तरिकाले शासन चलाउन गाह्रो छ र सधैँ फुट्न बानी परेका नेपाली कम्युनिस्टहरुको पनि आपसका मिलेर स्थायी सरकार दिन पनि त्यति सहज देखिँदैन ।
५.हिजोका दिनमा काँग्रेसलाई सिध्याउन धेरै तरिका अपनाइए तर कोही पनि सफल भएनन् । अहिले काँग्रेसको आफ्नै कमजोरी र आपसमा देखिने अविश्वासले त्यो सफल त भएको देखियो तर प्रजातन्त्रको पक्षमा संघर्ष गर्न एकदम सडकमा आउनचाहिँ काँग्रेसका लागि सामान्य कुरा जस्तो हुँदो रहेछ । जेल बस्न र दुःख खप्नेहरुमात्र फेरि काँग्रेसमा एकपटक जम्मा हुने देखिन्छ किनभने स्वाद खानका लागि मात्र आएकाहरुलाई यी केही वर्षहरु फाप्ने खालका होइनन् । प्रजातन्त्र भनेको धेरै सहिष्णुता देखाएर र धैर्यताका साथ पर्खने र खप्ने व्यवस्था हो । तर यता केही समयदेखि नेपाली काँग्रेसमा देखिएको उत्ताउलो पनले पनि आजको अवस्था आउनका लागि सहज भएको मानिन्छ ।
६.हुन त नेपाली काँग्रेसमा चुनाबी समीक्षा पनि सुरु भएको छ क्यारे , तर अहिलेका कोही पनि निष्पक्षताका साथ आफूलाई हेर्न सक्षम छैनन् । यो पटकको निर्वाचनमा तत्कालै एकदिनमा मात्र आजको अवस्था सृजना भएको होइन,यसका पछिल्तिरको इतिहास पुरानै हो । तर यसभन्दा पहिले नेपाली जनताले विश्वास गर्न लायक नेताहरु थिए र कमी कमजोरीलाई बेलैमा सुधार्ने कोसिस गरेका थिए । किसुनजी, गिरिजाबाबु र सुशील कोइरालालाई दलभित्रैबाट दिएको दुःखसमेत यसपटक अविश्वासको कारक बनेको थियो ।
७. अबको यात्रा भनेको कुन दल कसरी बचाउने भन्दा पनि प्रजातन्त्र कसरी बचाउने भन्ने हो । घर पालुवा खरायोरुपी प्रजातन्त्रलाई गाँज्न सक्ने जंगली बाघबाट कसरी बचाउने भन्ने अबको समस्या हो । त्यो जंगली बाघ भनेको यही व्यवस्थाबाट त जन्मिन सक्दैन तर हामीेले गरेका धेरै प्रयोगमध्ये कुनै प्रयोगमा असफलता देखियो भने पूरै प्रणालीमा अस्थिरता आउने छ र प्रणालीमा कतैबाट पनि आक्रमण हुनसक्छ ।
८. अब छिटै नै प्रदेश सरकारहरुको गठन सुरु हुनेछ । संघीयताको पहिलो र प्रभावकारी खुट्किलो स्थानीय तहको प्रभावकारितामा प्रश्न उठ्न थालेको बेलामा प्रादेशिक सरकारको परीक्षण सुरु हुनेछ र तत्कालै संघीय सरकारको तयारीले र कार्यक्रमले नयाँ अध्याय सुरु हुनेछ । एकपछि अर्को प्रयोगमा मुलुक झन झन टाट पल्टँदै जाने र कुनै पनि तह प्रभावकारी नहुने लक्षण पनि देखिँदैछ । अधिकारको लडाईँले नयाँ उग्ररुप लिने कुरा अस्थायी मुकामको ख्याल ख्यालमा नै देखियो भने साँच्चै सरकारमा जानेहरुले भोलि प्रयोग गर्ने अधिकारले तीन तीन तहमा कस्तो रुप लेला ? सायद यिनै कारणले पनि आगामी दिनमा स्थिरताभन्दा अस्थिरताले पो अप्ठेरो पार्ने हो कि भन्ने डर लाग्न थालेको छ ।
९. र अन्त्यमा, मुलुक झन कठोर संक्रमणतर्फ डोरिँदैछ । जानेर नजानेर प्रजातन्त्रका लागि लड्नेहरुले नै त्यसको लागि बाटो तयार गरिरहेका देखिन्छन् । अहिलेको काँग्रेस र एमालेका बिचको कटुताले नयाँ संक्रमणका लागि बाटो तयार गरेको छ । माओबादी केन्द्रले देखाएको मध्यमार्गलाई कसरी एकाकार पार्टीले सहजीकरण गर्ला, अहिल्यै अनुमान गर्न सकिँदैन । जानेर नजानेर मुलुकमा स्थिरताभन्दा अस्थिरता प्रभावी नहोस् भनेर सहकार्यमा जानु काँग्रेस र एमालेका लागि आगामी दिनमा चुनौती र अवसर दुवै हुनसक्छ ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...