
१.संयमता र सहिष्णुताको राजनीति हुनुपर्ने बेलामा प्रतिशोधपूर्ण अभिव्यक्ति ?
यदि सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गरेन भने आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुनेछ । साँढे दुई महिनाभित्र आम निर्वाचन हुनै लाग्दा पनि मुलुकमा निर्वाचन आएजस्तो वातावरण बन्न सकेको छैन जबकि आफ्नो सरकार गठन भएको १००दिन पुगेको अवसरमा प्रधानन्त्री सुशीला कार्कीले निर्वाचनका तयारी पूरा भइसकेको बताउनु भएको छ । निर्वाचनका लागि आवश्यक प्रक्रियाहरु सुरु भइसकेको अवस्था छ । पुसको दोस्रो हप्तामा समानुपातिक मनोनयनमा पर्ने सांसदहरुको बन्द सूची पेस भइसक्ने छ जसका लागि २०७८सालको जनगणनाको आधारमा निर्वाचन प्रयोजनका लागि समेत निर्वाचन अध्यादेश जारी भइसकेको छ ।
अर्थात् निर्वाचनको तयारी हुन थालेको सामान्य अवस्थाले देखाउँछ, निर्वाचनको तयारी आफ्नो तरिकाले गतिशील छ । तर राजनीतिक दलहरु अझै ढुक्क हुन सकेको देखिँदैन । जेनजीका अनेक समूह देखिएका छन् जसले निर्वाचनका विरुद्ध आवाज दिन थालेका छन् । उनीहरुको असंगठित बोलीले निर्वाचनको अवस्था बिथोल्ने हो कि भन्ने पनि देखिन थालेको छ । यो बेला भने संयमता र सहिष्णुताको राजनीति हुनुपर्ने हो । तर यो बेलामा प्रतिशोधपूर्ण अभिव्यक्ति बारम्बार आउन थालेको पाइन्छ । जेनजीहरुसहित आफूलाई नयाँ दलहरु भन्न रुचाउने समेतले पुराना दलहरुलाई गाली गर्ने प्रतिस्पर्धाजस्तै पनि देखिन्छ । लाग्दैछ कि निर्वाचनभन्दा पहिले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै दलहरु एकअर्कालाई गाली गर्ने दौडमा छन् । जति बढी गाली गर्न सक्यो, त्यति बढी उनीहरुको परम्परागत मतहरु नयाँ दलहरुको पोल्टामा पर्नेछ । अनि पुराना दलहरुले जस्तै सत्तामा हाली मुहाली गर्न पाइने छ । वास्तविकता अलि फरक देखिन्छ किनभने पुराना दलहरु जो सत्तामा पनि रहे, ती संगठित छन् र तिनको संगठनको जरा गाउँगाउँसम्म फैलिएको छ । पुराना दलहरुले मुलुकको राजनीतिलाई प्रदूषित बनाएकै थियो भनेर मान्ने हो भने पनि नयाँ उदित दलहरुको स्थापना हुँदादेखि नै विवादको भुमरीमा जाकिएको देखिन्छ । पुराना दलहरुले पोषित गरेको र अभ्यास गरेको राजनीतिलाई राजनीतिको विकृत रुप मान्ने हो भने अबको राजनीति कस्तो हुन्छ भन्ने खाका अझै नयाँ दलहरुले जनतालाई दिन सकेको अवस्था छैन ।
भदौ २३ र २४गतेको नवपुस्ताको आन्दोलनले दिएको सन्देश नकारात्मक र सकारात्मक दुवै खालको छ । भइरहेको राजनीतिक प्रणालीमा व्यापक परिवर्तन गरेर जनताको जीवन सहज बनाउनका लागि सुशसानको आवश्यकतालाई जोड दिएको छ र भ्रष्टाचारको विरुद्धमा बोलीले होइन, जबर्दस्त अभ्यासको समेत जरुरत र्औल्याएको छ अनि नकारात्मक सन्देशचाहिँ विध्वंशको जबाफदेही लिन कोही तयार छैन अनि प्रहरीले अपराधीहरु सप्रमाण पक्रेर कार्बाही गर्दा उनीहरुलाई तत्काल छोड्न सहमति गरिन्छ र सरकारको आलोचना गरिन्छ । जब समीक्षकहरु, आलोचकहरुले २४गतेका घटनाहरुको विरोधमा बोल्छन्, लेख्छन्, त्यसको विरोधमा नयाँ पुस्ता असंयमित हुन्छ र प्रतिशोधको धम्की दिन्छ । त्यसमा आफ्ना हिजोका कार्यविधिहरुको मूल्यांकन गर्नुपर्ने र आत्मालोचना गरी सप्रने जिम्मा पनि हिजोका सत्ताधारीहरुको पनि हो, हिजोको परिणामलाई पाठको रुपमा लिएर आजको दिनमा मुलुकलाई शान्तिपूर्ण तरिकाले संयमित भएर सञ्चालन गर्ने काम आजका सत्तामा रहेकाहरुको पनि हो । हिजोका दिनलाई सरापेरमात्र न त आम निर्वाचन स्वच्छ, शान्त र ्िनष्पक्ष हुन्छ, न त सुशासन आफैँ टपक्क आकाशबाट खस्छ । भ्रष्टाचारका आधारहरु हाम्रो मानसिकता पनि हो, सुशासनका विरुद्ध लाग्ने हामी सबै हौँ ।
हामीमा त्यो चेतना छैन भन्ने होइन, सुशासनको अभ्यास भएको छैन भन्ने पनि होइन तर प्रक्रियामा रहँदा भएका त्रुटिहरु बारम्बार दोहोरिनु नै भ्रष्टाचारका आधार हुन्, अनि त्यसैले सुशासन हुन सकेको छैन । त्यसैले निर्वाचनको कुरा गर्दा या संसद पुनस्र्थापना हुँदा , जुनसुकै अवस्थामा पनि मुलुक तयारीमा रहनु पर्छ । भ्रष्टाचारको मूलमा हस्तक्षेप गर्नका लागि मानवीय शक्तिकै आवश्यकता पर्छ , सुशासनका लागि पनि सकारात्मक हस्तक्षेप गर्ने भनेको मानवीय चेतनाको स्तरलाई वृद्धि गरेर सबैमा दायित्वबोध आवश्यक पर्छ । गाली, गलौज, असंयमित भएर प्रतिशोधपूर्ण व्यवहारका लागि तयारी हुँदा मुलुक झनझन अस्थिरतातर्फ धकेलिने छ । यसमा सबैको ध्यान जानु जरुरी छ । प्रतिशोधपूर्ण व्यवहारले प्रतिशोधको नै जन्म गराउँछ , संयमताले सुझबुझपूर्ण शान्तिपूर्ण अवस्थाको सृजना गर्दछ ।
२. र अन्त्यमा, बहस सबै अवस्थाका लागि हुनुपर्छ
समाज बाँडिएको छ । २३ भदौको बारेमा कसैको कुनै गुनासो देखिँदैन किनभने आफ्नो विचारको अभिव्यक्ति गर्ने माध्यम भनेको जुलुस, प्रदर्शनी र विरोध व्यक्त गर्न पाउनु हो । त्यसदिन भएको सुरक्षाकर्मीहरुको ज्यादती र प्रदर्शनकारीहरुमाथि भएको बर्बर दमनको विरोध गर्नैपर्छ र त्यसदिन भएको गोलीकाण्डपछि मारिनु भएकाहरुप्रति सबैको सहानुभूति हुने नै भयो । तर २४गते कसरी त्यस्तो परिणाम आयो भन्नेमा समाजका विभिन्न तप्काका आफ्ना आफ्ना विचार छन् तर मुलुकमा धेरै ठुलो विध्वंश भएकै थियो, त्यसको क्षतिपूर्ति कसरी र कहिले हुने भन्ने कुनै निश्चित छैन । अघिल्लो दिनको त झन कुनै क्षतिपूर्ति सम्भव नै छेन । तिनका बारेमा सायद बर्सौँँसम्म बहस भइरहने छ र त्यसले मुलुकको नयाँ बाटो तयार गर्ने गरी परिवर्तनको ढोका उघारेकै हो । त्यसको परिणामस्वरुप निर्वाचनबाट आउने सरकारले कसरी त्यसको व्यवस्थापन गर्नेछ, त्यो पनि संयमित तरिकाले तयारी गर्नुपर्छ अन्यथा यस्तो आन्दोलन पछि पनि हुनेछन् ।
यदि सर्वोच्च अदालतले पुनस्र्थापना गरेमा त्यो बेलामा प्रतिनिधि सभाको नेतृत्व, सरकारको नेतृत्व र त्यो सरकारले गर्ने कामहरुको पनि अहिलेदेखि नै बहस अपरिहार्य छ । त्यस्तो समाजले मात्र भोलिको कुनै पनि समस्याको समाधान खोजेको मानिन्छ । भनिन्छ, सप्रेको घरमा भोलिको योजना राती नै गरिन्छ तर बिग्रेको घरमा सबै उठेरमात्र योजना बनाइन्छ । जस्तोसुकै राजनीतिक अवस्थाको पनि अनुमान गर्नसक्नु पर्छ र त्यसको तयारी बेलैमा गर्नुपर्छ ।
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने...
नेपाली कांग्रेस यतिबेला इतिहासको संगिन मोडमा उभिएको छ, हुन त नेपाली कांग्रेस आफैमा लोकतान्त्रिक पार्टी हो । इतिहासलाई निहालेर हेर्ने...
संसद जनप्रतिनिधि हुन । नेता मात्र नभएर कानुन निर्माता पनि हुन साच्चै भन्नुपर्दा देशको भाग्य निर्माता मानिन्छन् । किनकी, हजारौँको...