
किन अहिले मुुलुक असफलता तिर मोडिन थालेको भनेर सर्बत्र चिन्ता व्यक्त गर्न थालिएको हो ? सायद विगतको चारवर्षको मुलुकको अवस्थाले प्रजातन्त्र कमजोर बनायो र नेपाली भविष्यको बाटो अन्यौलग्रस्त बनायो । हुन त विकास र स्थिरताका लागि प्रजातन्त्र कति साध्य भन्ने प्रश्न विश्वभर उठ्न थालेको छ तर जनताका भावनालाई मुखरित गर्ने र जनताका आदेशलाई अद्यावधिक गरिरहने माध्यमका रुपमा प्रजातन्त्रलाई नै लिइन्छ, सायद त्यसैले होला मुलुकले नयाँ संविधान पाएर पनि, त्यसको कार्यान्वयन हुन थालेर पनि अस्थिर राजनीतिको सिकार हुनु परेको अवस्था देखिन्छ ।
यसो हुनुमा प्रजातन्त्रका बाटो नै नदेखेका दलहरुले वर्चस्वमा प्रजातन्त्रको अगुवाइ भएपछि जे हुनु थियो, त्यही भएको हो । त्यसैले प्रजातन्त्र र जनताका आकांक्षाहरुलाई सँगै लैजाने नेतृत्वको आवश्यकता छ जसलाई नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेसले मात्र सक्छ भन्ने सिद्धान्त स्वतः बन्यो भन्दा अत्युक्ति हुँदैन ।
सायद यही भावना नेपाली कांग्रेसको महाधिवेशनमा जनताका तहबाट महाधिवेशन प्रतिनिधि भएर आएका युवा,प्रौढ तथा वृद्धहरु सबैको एउटै चाह देखियो, एकढिक्का बनेको नेपाली कांग्रेसले मात्र नेपालको अहिलेको जटिल अवस्थाबाट त्राण दिनसक्छ । नेपाली कांगे्रसको चौधौँ महाधिवेशनले केही सन्देश दिएको छ नेपाली राजनीतिको प्रजातान्त्रिक भविष्यका लागि ।
त्यो हो नेपालको रुपान्तरणको पक्षमा फेरि युवाहरु हस्तक्षेपकारी भूमिकामा देखिएका छन् जसले गर्दा नेपालको प्रजातन्त्रलाई जसरी पनि सुरक्षित गरेर नेपालको सकारात्मक रुपान्तरणका लागि पुनर्जागरणको मसाल बोक्ने कुरामा नयाँ चेतनाको प्रसार भएको छ । कुरो त आन्तरिक निर्वाचनको हो र पनि यसल देखाएको संकेतचाहिँ सकारात्मक र उदाहरणीय छ ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सम्पन्न भएको छ र महाधिवेशनका प्रतिनिधिहरुले वर्तमान सभापति शेरबहादुर देउबालाई नै दोस्रो कार्यकालका लागि पनि सभापतिमा निर्वाचित गरेका छन् । आन्तरिक प्रतिस्पर्धामा कडा टक्कर दिनका लागि अर्का नेता डाक्टर शेखर कोइराला देखिनु भएको थियो । निर्वाचनको अन्तिम बेलामा जुन दृश्य देखियो वरिष्ठ नेता रामचन्द्र पौडेलको अन्यमनस्कताले , ढुलमुल नीतिले गर्दा स्थितिमा नयाँ मोड आएकै हो ।
२०७२ सालको केन्द्रीय समितिको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउबासँग पराजित भएदेखि नै उहाँ पाँचवर्षदेखि आन्तरिक प्रतिस्पर्धीका रुपमा देखिनु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक प्रतिस्पर्धामा चासो नदेखाएर मतदानसमेत वहिष्कार गरेका कारणले र अलमलमा परेका कार्यकर्ताहरुको रुपान्तरणको प्रयासमा बाटो देखाउने नेताको रुपमा कोइराला नै मुख्य प्रतिस्पर्धी हुनुभएको देखिन्छ ।
एउटा अनुमान यो पनि रह्यो कि यदि पहिलो चक्रमा पराजित उम्मेदवारहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिहरुले पुराना बाचा जस्तै गरी नेतृत्व परिवर्तनको प्रश्नमा देउबाको मुख्य प्रतिस्पर्धीलाई सहयोग गर्ने भन्ने जुन थियो, त्यो पूरा भएको भए सम्भवतः देउबाको पनि परिवर्तन सम्भव देखिन्थ्यो । तर अभिव्यक्ति स्वतन्त्रता र नेतृत्वको स्वीकारोक्तिका विषयमा अल्झिँदा र इगो समस्याले शेखरको जित सम्भव भएन भन्नेहरु प्रशस्त छन् र महाभारतको युद्धमा सबै महारथीहरुले अभिमन्युलाई घेरेर चक्रव्यूहभित्रै हत्या गरेजस्तै गरेको भए पनि शेखरको अभ्युदयले नयाँ सन्देश दिन खोजेको छ भन्ने विश्लेषकहरुको धारणा छ ।
पराजय पश्चात् शेखरजीले आफूले पाएको ४० प्रतिशत मतका लागि भागबन्डा नखोज्ने तर विधिको शासन फेरि स्थापनाका लागि पार्टीभित्र आबाज उठाइरहने बताएर नयाँ राजनीतिक सँस्कृतिको पुनरुत्थान गरेको देखिन्छ । त्यतिमात्र होइन , आफू परिपक्व उमेरको भएर पनि युवाहरुको मन जित्न सफल शेखरको क्रियाशीलता सकारात्मकरुपमा लिनुपर्छ ।
आन्तरिक प्रतिस्पर्धामा जोजो चुनावी मैदानमा देखिए पनि निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले दिएको आदेश नै आगामी अवधिभरका लागि औपचारिक र वैध मानिन्छ । यो आन्तरिक निर्वाचनले देखाएका केही संकेतहरु पक्कै अरु दलहरु र नेपाली कांग्रेसको आन्तरिक जीवनका लागि पनि मननयोग्य हुनेछन् । प्रजातन्त्रका विश्वव्यापी मान्यताभित्रै रहेर र वैश्विक परम्पराभित्रै पनि नयाँ बाटो तयार गर्ने भनेर उपसभापतिका विजयी उम्मेदवार धनराज गुरुङ्, महामन्त्रीका विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितको विजित समूहले जुन प्रतिज्ञा गरेको छ, त्यसले फेरि मुलुकमा नेपाली कांग्रेसका पक्षमा नयाँ जनलहर आउने पक्का छ भनिन्छ । यसको असर आगामी स्थानीय , प्रादेशिक तथा संघीय निर्वाचनमा देखिने छ जसको प्रतीक्षा आम जनसमुदायमा अहिलेदेखि नै छ ।
नेपाली कांग्रेसमा केही समस्या बारम्बार देखिएका छन् । इतिहासको सबैभन्दा कठिन समयमा उभिएको र दिशाविहीन भएको मानिएको नेपाली कांग्रेसप्रति आम जनताको पनि चासो थपिएको देखिन्छ । आखिर नेपालका प्रजातन्त्रका पक्षमा जहिले पनि उभिने संस्थाको रुपमा चिनिएको नेपाली कांग्रेसले आफ्नोे नेतृत्व कसरी चयन गर्ला भन्ने जिज्ञासा सर्वत्र देखिन्थ्यो । त्यसको कारण थियो दलभित्रको अव्यवस्था, सामान्य सदस्यतासमेतका कारणले बारम्बार अधिवेशन सरिरहने र अन्तहीन विवादको भुमरीमा सधै जाकिने ।
आफ्नो आन्तरिक व्यवस्थापन र आन्तरिक प्रजातन्त्रलाई बेलैमा समायोजन र व्यवस्थापन गर्न नसकेर ४ वर्षमा गरिसक्नुपर्ने बाध्यकारी आन्तरिक निर्वाचनमार्फत् समितिहरु पौने ६ वर्षमा सम्भव भयो त्यो पनि संवैधानिक बाध्यतका कारणले , १६ वटा जिल्लाहरुका जिल्ला अधिवेशन बाँकी राखेरै । अचम्भ थियो —महाधिवेशनका लागि अन्तिम तयारी भएर सामानहरु भृकुटी मण्डपतिर ओसार्ने बेलासम्म पनि केही कार्यकर्ताहरु आमरण अनसनका पार्टी अफिसको प्रांगणमा सुतिरहेका थिए ।
त्यस्तो अनसनको निरन्तरता सायद ६ महिनादेखि विभिन्न जिल्लाका कार्यकर्ताहरुले सम्पादन गरिरहेका थिए । विधानले भन्थ्यो—निर्वाचनका वर्ष कुनै सदस्यता वितरण गरिने छैन तर त्यही सदस्यता थप घटको कहानीले अझै समाधान पाएको छैन र पनि महाधिवेशन हुनैपथ्र्यो र भयो । राम्रो भयो ।
वहुदलीय व्यवस्थामा दल भनेको छाता हो , अरु उसका अवयव भनेका विभिन्न स्वरुपमा संगठित सहायक तर अति महत्वपूणर् संस्थाहरु हुन्छन् । अरु त अरु, आज निर्वाचित सभापति शेरबहादुर देउबादेखि वडातहसम्म निर्वाचित कांग्रेसी प्रतिनिधि नेपाल विद्यार्थी संघका नर्सरीबाट उत्पादित विरुवाहरु हुन् र आज ती रुख भएर गर्मीमा छाया दिने भएका छन् र पनि त्यो आवश्यक कांग्रेस तयार गर्ने मुख्य नर्सरी उत्पादन गर्ने संस्था नेपाल विद्यार्थी संघ र नेपाललाई संसारमा युवाहरुको देश भनेर चिनाउने युवाहरुको कांग्रेसी संगठन तरुण दलको अवस्था के छ भन्दा एउटा भयानक दृश्य देखिन्छ आन्तरिक प्रजातन्त्रप्रतिको विमोहको तर यो महाधिवेशनले ती सबै कुराहरुको सुधार गर्नका लागि फेरि नयाँ आदेश दिएको देखिन्छ किनभने समकालीन नेपाली दलहरुमा यत्तिको आन्तरिक लोकतन्त्र अरु दलमा देखिएन भन्ने राजनीतिक विश्लेषकहरुको राय देखिन्छ ।
जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्छन्, यसपटकको नेपाली कांग्रेसको महाधिवेशनले देखिएका गुटहरुलाई उछिन्दै प्रतिनिधिहरुले युवाहरुको हस्तक्षेपकारी भूमिकालाई स्थापित गराएका छन् । तिनै नेतृत्वमा आएका युवाहरुले गरेको उद्घोषले के पनि देखाउँछ भने आगामी दिनमा नेपाली कांग्रेसमा परिवर्तन अवश्यंभावी छ ।
त्यहाँ प्रजातन्त्रको विश्वव्यापी सिद्धान्तमा परिवर्तन आवश्यक छैन, त्यहाँ विधिको निर्माणमा कुनै समस्या देखिएन तर विधिको स्वाभाविक कार्यान्वयनमा देखिएको कमीलाई बेलैमा सुधार गर्न सके खासै समस्या पनि छैन । चुनौती छ भावी नेतृत्वमा जसलाई समधान गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने आम चाहना देखिन्छ ।
पर्यवेक्षकहरु चाहन्थे, नेपाली कांग्रेस प्रविधिमैत्री पनि होस् किनभने सञ्चारका प्रविधिहरुको आवश्यकतालाई दृष्टिगत गरी नेपाली कांग्रेसका पूर्ववत सरकारहरुले नै नेपालका सञ्चारका विकासस गराएका थिए, प्रविधिको विकास सुरु गरेका थिए । एमालेले विद्युतीय मतपेटिका मार्फत् निर्वाचन गरेको थियो, भर्खर दलको रुपमा विकसित हुन थालेको राप्रपामा पनि प्रविधिमैत्री हुने रहरले तत्कालै निर्वाचन प्रक्रियामा आधुनिक मतपेटिकाको प्रयोग गरेको थियो ।
नेकांमा त्यो किन गरिएन, त्यसको उत्तर आउँदै गर्ला तर देखिएको स्वस्थ प्रतिस्पर्धा र त्यसको व्यवस्थापन जुन गरिएको थियो र त्यसले आन्तरिक प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने अनुपम उदाहरण भने नेपाली कांग्रेसको आन्तरिक निर्वाचनले देखाएको वडादेखि केन्द्रसम्मको । र सँगै निर्वाचनको परिणामपश्चात् नेपाली कांग्रेसमा आफ्ना लक्ष्यहरुका लागि एकढिक्का भएर अगाडि बढ्ने बचनबद्धता प्रतिस्पर्धीहरुले दिनु नै यसको उदाहरणीय पक्ष हो भन्दा अत्युक्ति हुने छैन ।
यो निर्वाचनमा पारिवारिक विरासतका कुरा पनि उठेका थिए । निरन्तर क्रियाशील तर दिवंगत नेताहरुका परिवारका सदस्यहरुको प्रभाव अप्रत्यक्षरुपमा मात्र देखियो तर प्रत्यक्षरुपमा भने केन्द्रीय निर्वाचन सम्म आइपुग्दा ती सबै छिन्नभिन्न भए । यसले दलको भावी जीवनमा युवाहरुको हस्तक्षेपकारी भूमिकाको निमन्त्रणा दिएको मानिन्छ किनभने अबको कार्य समितिमा देखिने युवाहरुको संख्या र समावेशी स्वरुपले त्यसको संकेत गरेको छ ।
बीपी कोइरालाको दूरद्रष्टी सपनाको नेपाली कांग्रेसले अब कस्तो बाटो समाउने छ भन्ने जिज्ञासाका बिचमा भएको महाधिवेशनले नीतिका बारेमा खासै चर्चा नगरे पनि विश्वव्यापीरुपमा चलेको प्रजातन्त्रका मान्यता नै कांग्रेसका आधारभूत मान्यता हुन् र अझ सामाजिक प्रजातन्त्रका पक्षमा उभिने भएकाले भावी दिनमा नीतिहरुमा नयाँ विचलन नआउला तर पनि युवाहरुको सोचलाई भने र आधुनिक सञ्चार प्रविधिमैत्री दलको रुपमा विकसित हुनका लागि भने नयाँ नीतिको जरुरत पर्छ होला ।
यदि नेपाली कांग्रेस कमजोर भयो भने नेपालको प्रजातान्त्रिक प्रक्रिया कमजोर हुने रहेछ भन्ने यी गत चारवर्षमा देखियो र अन्ततः प्रजातन्त्रको बहाना चलाउनका लागि नेपाली कांग्रेस नै चाहिने रहेछ भन्ने पनि यी प्रकारान्तरमा घटेका घटनाहरुले देखाए । नत्रभने वामपन्थीहरुको मात्र दुई तिहाइको सरकार अनि ७ प्रदेशमध्ये ६ प्रदेशमा एउटै दलको सरकार जुन थियो, त्यो कसरी बालुवको घरझै भत्कियो भन्ने कुरालाई विश्लेषण गर्दा भन्नैपर्ने हुन्छ, त्यसमा कांग्रेसको प्रयास पटक्कै रहेन वामपन्थीहरुको सरकार छिन्नभिन्न पार्न, वामपन्थीहरुले नै कांग्रेसको सरकार बनाउने वातावरण बनाएका हुन्। सायद लाग्यो होला, प्रजातन्त्रको जीजिविषाको रक्षा गर्ने संस्था अन्ततः नेपाली कांग्रेसमात्र रहेछ ।
सायद त्यो परिणामबाट पनि कांग्रेसमा युवाहरुले हस्तक्षेपकारी भूमिका देखाए र विभिन्न पदमा निर्वाचित भएर भावी दिनमा नयाँ रुपान्तरणकारी संस्थाको रुपमा देखिने बेला भएको छ । स्मरणीय छ , २००६ सालमा स्थापना भएदेखि नै नेपालको राजनीतिक फाँटमा रुपान्तरणकारी भूमिका निर्बाह गर्नेमा नेपाली कांग्रेस अग्रणी नै छ भन्ने कुरा इतिहासले प्रमाणित गरेको देखिन्छ । र अन्त्यमा, यस निर्वाचनले नयाँ नेतृत्वको विकास हुने लक्षण देखाएको छ र पुराना परम्पराका नेतृत्वलाई खिया लाग्न थालेको भुत्ते खुकुरीको रुपमा देखाएको छ ।
पदभन्दा बचन ठुलो हो, बचनमा अडिग हुने नेतामात्र भोलिको नेपाललाई नेतृत्वका लागि सक्षम हुन्छ भनिन्छ । यसपटकको वधाइका पात्रहरु विजित नेताहरु त हुँदैहुन्, सबैभन्दा बढी वधाइका पात्रहरु त ती परिवर्तनका भाव बोकेर गाउँदेखि यो चिसोमा आएर मुलुकलाई नयाँ नेतृत्व प्रदान गर्ने समावेशी नेतृत्वको चयन गरे । र सँगै निर्वाचित सभापति शेरबहादुर देउबाजीलाई शुभकामना, निर्वाचित उपसभापतिहरु , महामन्त्रीहरु, सहमहामन्त्रीहरु, सदस्यहरु सबैमा वधाइ र सफल कार्यकालको शुभकामना । सँगै अहिलेको निर्वाचनबाट आफूलाई एउटा प्रजातन्त्रप्रति अविचल र निष्ठावान नेताको रुपमा उभिन सक्षम डाक्टर शेखर कोइरालालाई पनि वधाइ छ जसले युवाहरुको जमातलाई एउटा गन्तव्यको खाका कोरेर देखाइदिनु भएको छ ।
१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...
१. सर्वोच्चको आदेश पालना नेपाली कांग्रेसको आन्तरिक तथा घरायसी विवाद अदालतसम्म पुगेको थियो । २०८२ साल मंसिरभित्र गर्नुपर्ने नियमित अधिवेशन...
१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...