जनप्रतिनिधि भनेको साँचो अर्थमा जनताको सेवक बनेर काम गर्ने व्यक्ति हाे – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

जनप्रतिनिधि भनेको साँचो अर्थमा जनताको सेवक बनेर काम गर्ने व्यक्ति हाे

जनताको कामप्रति सधैं दत्तचित्त भएर लाग्ने नेता हुन् मोहन बस्नेत । काठमाडौंको फर्पिङमा जन्मिएका उनी दक्षिणकाली नगरपालिकाका नगर प्रमुख पनि हुन् । बस्नेत सधैं नगरवासीको समस्याप्रति आवाज बुलन्द गर्ने इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिले राजनीतिभन्दा माथि उठेर नागरिकको समस्या समाधानका लागि समान रुपले लाग्नुपर्ने ठान्दछन् । उनै बस्नेतसँग नगरको विकास निर्माण र स्थानीय निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः

——————————————————————————————————————–

दक्षिणकाली नगरपालिका बारेमा छोट्करीमा बताइदिनुस् न ?

काठमाडौंको दक्षिण क्षेत्रमा पर्ने दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका रुपमा चिनिन्छ । यस नगरपालिकाको पूर्वमा ललितपुर, पश्चिममा मकवानपुर जिल्ला पर्छ भने उत्तरमा कीर्तिपुर र चन्द्रागिरी नगरपालिका फेरि दक्षिणतिर मकवानपुर जिल्ला रहेको छ । दक्षिणमकाली नगरपालिका साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर बनाइएको हो । देशको राजधानी काठमाडौंदेखि करिव १८ कि.मी.को दुरीमा यो नगरपालिका अवस्थित छ । काठमाडौंको नजिक भएर पनि यो नगरपालिका भौगोलिक दृष्टिले विकट मानिन्छ ।

तपाईं दक्षिणकाली नगरपालिकाको मेयर भएर के÷कस्ता काम गर्नुभयो ?

हाम्रो पहिलो कार्यकाल लगभग टुंगिन लागेको छ । हिजो चुनावका बेला बाँडिएका सपनाहरुलाई डीपीआरको रुपमा बनाएर विकास निर्माणका काम सबै वडाहरुमा गर्दैछौं । त्यसरी काम गर्ने क्रममा दक्षिणकाली नगरपालिकाको पहिचान भनेको पर्यटन नै हो । धार्मिक पर्यटनदेखि विभिन्न सांस्कृतिक धरोहमर भएका कारणले पर्यटन प्रर्वद्धनबाटै नै हाम्रो नगरमा आर्थिक समृद्धि हुन सक्छ भन्ने हाम्रो ठम्याइ हो ।

हामीले चुनावी घोषणापत्र, अनौपछारिक भेटघाट त्यहीं भन्यौं । अन्य गफगाफमा यहाँका नगरवासीसँग पनि त्यहीं कुरा गर्‍यौं । भनेर मात्रै छोडेनौं त्यसैको परिकल्पना अनुसार काम पनि गरेका छौं र गर्ने क्रममा पनि छौं ।

धेरै काम गरेको बताउनुभयो, त्यसको अनुभूति जनताले गरेका छन् ?

पहिलो कुरा त हाम्रो प्रयासमा दक्षिणकाली नगरपालिका बन्न सफल भएको छ । त्यो सबै नगरवासीलाई जगजाहेर छ । त्यसमा राजनीतिकर्मी, सामाजिक अभियान्तादेखि सबै नगरवासी खुसी छौं । हिजो गाविसमा सीमित दक्षिणकाली नगरपालिका बन्न सफल भएको छ । यहाँ पहिला २४ हजार दुई सय हाराहारी जनसंख्या थियो,अहिले २५ हजार हाराहारी पुगेको छ ।

त्यसमा संघीय र प्रदेश सरकारले पठाएको बजेटले हामीले नगरवासीसँग गरिएको जुन–जुन वाचा छ । त्यसलाई परिपूर्ति गर्ने काममा अगाडि बढिरहेका छौं । हामी महानगरसँग जोडिएका नगरपालिका भए तापनि महानगरले दशौं अर्ब खर्च गरिरहँदा हामी ८०, ८५ करोडको सीमिति बजेटबाट हामी काम गरिरहेका छौं ।

हाम्रो नगरपालिकामा एउटा वडाबाट अर्को वडामा जाँदा ३ घण्टासम्म लाग्ने भौगोलिक अवस्था छ । त्यो भूगोलमा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाई राम्रोसँग विकास गर्ने हो भने एउटै वडामा अर्बौं रुपैयाँ खर्च हुने देखिन्छ । त्यति हुँदाहुँदै पनि किसान, महिला, बालिका, बृद्धबृद्धा र विद्यार्थीहरु निरास नहुने गरी काम गर्न हामी धेरै कठिन छ । त्यसलाई कठिन रुपमा नलिएर सहजीकरण गर्दै प्रत्येक वडामा पक्की नभएपनि कच्ची बाटो घरदैलोमा पर्‍याउन सफल भएका छौं ।

महानगरसँग जोडिएको भएपनि बत्तिमुनिको अँध्यारो जस्तै दक्षिणकाली नगरपालिका तपाईं नेतृत्वमा आएपछि उज्यालोतिर उन्मुख भएको हो ?

यस विषयमा मैले भन्नुभन्दा पनि नगरवासी नै जानिफकार हुनुहुन्छ । उहाँहरुले विवेक पु¥याएर नै मलाई नगर प्रमुख बनाउनुभएको हो । उहाँहरुले विवेकपूर्ण ढंगले मलाई नगर प्रमुख बनाइसकेपछि उहाँहरुको इच्छा, आकांक्षा र भावनामा कतै तलमाथि नहुने गरी मैले काम गरिराखेको छु । काम गरेँ भन्नाले कुवै वडामा ठूलो भवन बनाएर विकास गरेँ भन्नृु भन्दा पनि यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टीले मलाई जेसुकै दिएको भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर नगरवासीको भावना र पार्टीको घोषणापत्रलाई पनि समेटेर काम गरिरहेको छु ।

जनप्रतिनिधिहरुले पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

मलाई टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा पार्टी आफ्नो ठाउँमा सम्मानित छ । त्योभन्दा पनि सम्मानित भनेको त्यस क्षेत्रका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म नगर प्रमुख भइहाल्ने होइन । म मेयर बन्नको लागि मेरो नगरवासीको भावना समेट्न सक्नुपर्छ भनेर अलिकति विकसित भएर काम गरिरहेको छु ।

कम्युनिस्टहरुको दबदबा भएको ठाउँमा दक्षिणकालीमा चुनाव जित्न कसरी सफल भएँ जस्तो लाग्छ ?

दक्षिणकाली नगरपालिका साविकको ६ वटा गाविस हुँदाको राजनीतिक परिदृष्यभन्दा मैले नगरवासीलाई केही कुरा बझाउन सकेँ । एउटा प्रक्रियाको लागि पार्टीको टिकट चाहिन्छ । तर, सफलता हासिल गर्नको लागि नगरवासी नै चाहिन्छ ।

त्यसकारण नगरवासीको भावना अनुसार काम गर्ने भएकाले मैले चुनाव जित्न सकेको हुँ । चुनाव जित्नु मात्रै ठूलो कुरा भएन । त्यसको दायित्व बहन गर्न सक्नु पनि चुनौतिपूर्ण काम रह्यो । त्यसको पार्टीको घोषणापत्र भन्दा नागरिकको भनाइ र आवश्यकता अनुसार काम गर्न सक्नुपर्छ भनेर म अहिले परिवर्तित ढंगले अगाडि बढिरेको छु ।

तपाईं फेरि नगर प्रमुख उठ्न खोज्नुभएको हो ?

पत्रकारहरुसँग भेट भएपछि तँ फेरि उठ्छस् कि उठ्दैनस् भनेर सबैले सोधिरहेका छन् । तपाईंपनि त्यसमा पछि पर्नुभएन । मेरो प्रश्नको उत्तर तपाईंसँगै छ । मैले उठाएका कामहरु धेरै गर्न बाँकी छन् । ती अधुरा काम पुरा गर्नलाई उमेर जतिसुकै भएपनि अभैm जोस, जाँगर छ । नगरवासीको चाहना पनि त्यहीं छ ।

मोहन बस्नेत उमेरले पनि परिपक्को छ, यसबाटा चाहीं यी काम पुरा गर्न सकिन्छ । यसले दक्षिणकाली नगरपालिकाको गरिमालाई सिरोपर गरेर इज्जत बढाउने काम गर्छ भन्ने नगरवासीको जुन विश्वास छ । त्यो विश्वासलाई संस्थागत गर्दै जानको लागि त मैले फेरि नगरवासीसँगै अनुरोध गर्नुपर्छ ।

त्यसको उहाँहरुसँग मैले फेरि उठ्न लागेको छु भन्नुपर्छ । मैले त्यसोभन्दै गर्दा मेरो कुरा बेठिक छ, मैले गरेका कामहरु राम्रा छैनन् भने मेरो कुरा नलाग्नपनि सक्छ । जनप्रतिनिधि भनेको साँचो अर्थमा जनताको सेवक बनेर काम गर्ने व्यक्ति हो । जनताको साशक बनेर काम ग¥यो भने त्यो क्षणिक हुन्छ । पहिला पनि मैले निरन्तर दुई पटक गाविसको अध्यक्ष हुँदा जनताको सेबक बनेर काम गरेँ । त्यो बेलाको ज्ञान र सीपलाई अहिले नगर प्रमुख हुँदा पनि त्यहीं प्रयोग गरेर काम गरिरहेको छु ।

मलाई पार्टीले टिकट दिनेबेलामा घोषणापत्र पनि दिएको थियो होला तर सबैभन्दा साँचो घोषणापत्र भनेको नगरवासीले दिएको वचन र विश्वास चाहीं मेरो घोषणापत्र हो । मैले नगरवासीको आवश्यकता अनुसार काम गर्ने हो । त्यतिबेला मैले घोषणापत्र पल्टाएर हेर्ने होइन, उनीहरुको माग अनुसार काम गर्नुपर्छ । जनताले माग गरेको कुरा मेरो घोषणापत्रमा रहेछ भने पनि राम्रै हो होइन भने मैले जनताको काम गरेँ भन्नुपर्छ ।

हिजो चुनाव लड्ने बेलामा नेपाली कांग्रेसले टिकट दिएको साथै पार्टीको घोषणापत्र पनि थियो हो । तर, जनप्रतिनिधि भइसकेपछि म नेपाली कांग्रेसको नेता, कार्यकर्ता मात्रै होइन । यस नगरपालिकाका सम्पूर्ण नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।

त्यसोभए आगामी चुनावमा पार्टी नगरप्रमुख उठ्न भनेर अह्रायो भने उठ्नुहुन्छ हो ?

मलाई आगामी निर्वाचनमा नगर प्रमुख लड्न पार्टीले पनि अह्रानुप¥यो, सँगै जनताले पनि अह्राउनुपर्‍यो । पार्टीले त्यस नगरमा तिमीले गरेको काम राम्रो छ, फेरि उठ भनेर टिकट दिनुपर्‍यो । जनताले पनि तिमीले गरेको काम ठीक छ, हामी साथ दिन तयार छौं भन्ने हो भने म फेरि नगर प्रमुख दोहोर्‍याउन तयार छु ।

आफुले रहर गरेर मात्रै जनप्रतिनिधि हुन पाइँदैन । पार्टी सिस्टम भयको मुलुक मेरो पार्टी नेपाली कांग्रेस हो । उसले टिकट दिनुपर्‍यो। फेरि म दक्षिणकालीका जनताको लागि नगर प्रमुख हुने भएकाले उहाँहरुको साथ, सहयोग पनि चाहियो ।

जनप्रतिनिधि भइसकेपछि पार्टीको घोषणापत्र मात्रै आकर्षित हुँदैन, नागरिकको आवश्यकता अनुसार समान रुपमा काम गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

यस नगरपालिकामा बसोबास गर्ने विभिन्न जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, अल्पसंख्यक, दलित, उत्पीडित, पिछडा वर्गलगायतको मेयर भएकाले मेरो पार्टीको घोषणापत्र मात्रै आकर्षित हुँदैन । जनप्रतिनिधि भइसकेपछि यी सबैको घोषणापत्र आकर्षित हुन्छ । म त्यहीं आधारमा काम गरिराखेको छु ।

पुर्खौदेखि चल्दै आएका धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाजलाई बँचाउने काममा पनि त्यत्तिकै लागिपरेको छु । परम्परा जोगाउनका लागि पैसाको कारण नरोकिने गरी काम गरिएको छ ।

तपाईंको कार्यकालमा देखिने र जनताले पनि अनुभूति गर्नेगरी के के महत्वपूर्ण काम गर्नुभयो ?

जस्तोसुकै दूर्गममा पनि खोलाको पानी टुप्पामा पु¥याएर खुवाउने काम गरिएको छ । शिक्षाको क्षेत्रमा टिनको छानो हटाएर २१ वटा राम्रा विल्डिङ बनाइएको छ । कच्ची भनेपनि सबै वडा र टोलवस्तीमा सडक पुर्‍याइएको छ । स्वास्थ्यका क्षेत्रमा हरेक वडामा स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

गुणस्तरीय शिक्षाको लागि योग्य शिक्षक दर्बन्दीसहित व्यवस्था गरिएको छ । शिक्षकहरुलाई भूगोल सुहाउँदा विभिन्न तालीमको व्यवस्था गरिएको छ । व्यवसायिक र सीपमुलक शिक्षालाई जोड दिइएको छ । आधुनिक शिक्षाले मात्रै विद्यार्थीहरु व्यवहारिक हुँदैनन् भनेर हाम्रो नगरपालिकाभित्र रहेका सबै चिज, वस्तुको महत्व बुझ्ने गरी पाठ्यपुस्तक नै तयार गरेर पठनपाठन नै सुरु गरिसकेका छौं । पढिसकेपछि हाम्रो विद्यार्थीहरुले देश, विदेशका कुरा बुझ्छन् नै ।

देश विदेश बुझ्नुभन्दा पहिला आफैलाई बुझुन् भनेर आफ्नो नगरभित्र भएको धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, जत्रापर्व, भौगोलिक बनावटलाई समेटेर कक्षा ५ सम्मको लागि पुस्तक तयार गरिएको छ । यसले पहिला आपूmलाई चिनेर अन्य देशका कुरा बुझुन् भनेर त्यसो गरिएको हो । त्यसको लागि एउटा ‘रमाइलो’ नामक पाठ्यपुस्तक तयार गरेका छौं ।

त्यो पाठ्यपुस्तक सरकार, निजी र धार्मिक विद्यालयहरुमा पु¥याइसकेका छौं । त्यस पुस्तकले विदेशमा जाँदा पनि आफ्नो नगरपालिकाको सबैखाले महत्व भन्न सकुन भनेर पुस्तकै प्रकाशन गरेर लागु गरिएको हो । कृषि उपार्जनको लागि आवश्यक कामहरु गरिएको छ । विकासको लागि पहिला बाटो त्यसपछि बिजुलीको आवश्यकता हुने रहेछ । त्यसको परिपूर्ति गर्ने काम पनि भएको छ ।

धेरै काम गरेको बताउनुभयो, नयाँ काम के हो र चुनौतिहरु के के छन् ?

सबैभन्दा पहिला त दक्षिणकालीलाई हामीले सरकारलाई घचघच्याएर नगरपालिका बनाउन लगाएका हौं । हाम्रो नगरपालिका समेटिएका ६ वटा गाउँपालिकालाई सरकारले कीर्तिपुरमा लगेर गाभ्न खोजेको बेलामा त्यसो गर्न पाइँदैन । हाम्रोमा जनसंख्या कम भएपनि भौगोलिक बनावटको आधारमा ठूलो क्षेत्र छ ।

हाम्रो भूगोल हेरिरहँदा मकवानपुरसँग जोडिएको केराबारी, शान्तिपोखरी, डाँडिखेल, मानेभन्ज्याङ जस्ता बिकट–बिकट ठाउँहरु भएका कारणले त्यहाँका सेवा ग्राहीले कीर्तिपुरको वडामा गएर सेवाका लागि ढुक्नुप¥यो भने यी मान्छेहरुको रुवा वासी हुन्छ त्यसैले हामीलाई छुट्टै नगरपालिका चाहिन्छ भन्यौं ।

त्यसमा सबै राजनीतिक दलबाट सहयोग भयो । अन्यको तुलनामा दक्षिणकालीमा जनसंख्या थोरै भएपनि नगरपालिका दिन सरकार वाध्य भयो । यसरी दक्षिणकाली नगरपालिका हुनुपर्छ भन्नेमा म अभियान्ता थिएँ । पछि गएर म यस नगरको प्रमुख बन्न पनि सफल भएँ । जनताले पनि मलाई त्यहीं आधारले विजयी गराउनुभएको हो । यसको चुनौति भनेको २५ हजार हाराहारी जनसंख्यामा विकासको पैसा अत्यन्तै न्यून आउँछ ।

किनभने छिमेकी नगरपालिकाले दशौं अर्बको बजेट पाउँदा बल्ल यसपालि हामीले ९२ करोड बजेट पाएका थियौं । अहिले पनि हामी १६ करोडजति घाटामा छौं । भौगोलिक दृष्टिकाणे हेर्दा एउटा वडा नं. ८ को छैमलेमा मात्रै विकास गर्न दर्श अर्ब रुपैयाँ खर्च गर्दा पनि काम देखिने गरी हुँदैन ।

यति थोरै साधन, स्रोतबाट सबैलाई सन्तुष्टी दिलाउनु भनेको एकखालको चुनौति नै हो । त्यो चुनौतिको सामना गर्दै सबैको चित्त बुझाएर अहिलेसम्म काम गरिराखेका छौं । ‘समृद्ध पर्यटकीय नगर, कृषि, प्राकृति र सांस्कृतिक शहर’ दक्षिणकाली नगरपालिकाको पहिचान हो । यो माता दक्षिणकालीको मन्दिरमा दर्शन गर्नेदेखि घुमघामका लागि लाखौं पर्यटकहरु आउने ठाउँ हो । हिन्दू, बुद्धिष्टलगायत लाखौं धर्माबलम्बीहरु आउने ठाउँ हो ।

क्रिस्चीयन, मुस्लिमलगायत सबै जातजाति, धर्म, वर्ग, समुदायका मानिसहरुको यो ठाउँमा बसोवास भएकाले सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्छ । सबैको उच्च सम्मानका साथ हामीले काम गर्दै आएका छौं । पर्यटकीय दृष्टिकोणले सबै जातजाति, वर्ग, समुदायका मानिसहरुको यहाँ आगमन हुने गर्दछ ।


सबै दृष्टिकोणले महत्व बोकेको दक्षिणकालीमा तपाईं नगर प्रमुख भएपछि यायाताको सुविधा कत्तिको मजबुद बनाउनुभएको छ ?

यातायातको कुरा गर्नुपर्दा हामी हिजो नगर प्रमुख उठिरहँदा “काठमाडौंबाट दक्षिणकाली जानुप¥यो भन्दा बाटो अप्ठ्योरो यहाँबाट २, ३ घण्टा लाग्छ पछि जाउँला” भन्ने अवस्था थियो ।

अहिले तपार्इंहरु दक्षिणकाली आउनुभयो भने काठमाडौंबाट हिँडेको एक घण्टाभित्र मन्दिरमा दर्शन गरेर फेरि काठमाडौं पुग्ने बनाइएको छ । यसरी काठमाडौं–दक्षिणकालीको सकडलाई चुस्तदुरुस्त बनाइएको छ । नगरपालिकाको पैसाले त्यो बाटो बन्ने त कल्पनै गर्न सकिँदैन । सोभैंm भौतिक तथा पूर्वाधार मन्त्रालयसँग हामीले आग्रह गरेर यो सडक फराकिलो र कालोपत्र गर्ने काम भएको छ ।

अहिले प्रदेश सरकारको राजधानी जाने बाटो पनि यहीबाट भएकाले दक्षिणकालीलाई महत्वका साथ हेरिएको छ । काठमाडौं–दक्षिणकाली, छैमले हुँदै मकवानपुर जाने । काठमाडौं– भुवानी भञ्ज्याङ्ग हुँदै मकवानपुर पुग्ने दुवै बाटो सुचारु गर्न यथेष्ट प्रयास भइरहेको छ । यी सडक कालोपत्रे गराउन प्रदेश सरकारले तयारी गरिसकेको छ ।

यसरी मुख्य सडकसँगै वर्षामा बिग्रिए, भत्किएका भित्री सकडहरु मर्मत सम्हार गरी किसानका कृषि उत्पादनहरुलाई समयमै बजारसम्म पुर्‍याउनका लागि व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७८ फाल्गुन ९, १२: ३५

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...

सर्वोच्च अदालतले बोल्यो,अब दलभित्र एकताको मौसम आवश्यक पर्छ
सर्वोच्च अदालतले बोल्यो,अब दलभित्र एकताको मौसम आवश्यक पर्छ
  • २०७८ फाल्गुन ९, १२: ३५

१. सर्वोच्चको आदेश पालना नेपाली कांग्रेसको आन्तरिक तथा घरायसी विवाद अदालतसम्म पुगेको थियो । २०८२ साल मंसिरभित्र गर्नुपर्ने नियमित अधिवेशन...

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०७८ फाल्गुन ९, १२: ३५

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...