‘काठमाडौं महानगरपालिकामा गठबन्धन्धभित्र कुनै मनमुटाभ छैन’ – Naya Bikalpa
March 28, 2024, Thursday

‘काठमाडौं महानगरपालिकामा गठबन्धन्धभित्र कुनै मनमुटाभ छैन’

नेपाल विद्यार्थी संघबाट पार्टीमा राजनीतिमा उदाहाएका नेता हुन् मुकुन्द रिजाल । उनले विद्यार्थीकालमा नेपाल कांग्रेसले उठाएका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनीसँग मानव अधिकार सम्बन्धी काम गरेको अनुभव छ । मानव अधिकारमा रहेर काम गर्दा माओवादी विद्रोहका बेला राज्यपक्ष र विद्रोही पक्षबाट कसरी मानव अधिकार उल्लंघन भएको थियो भन्ने राम्रो ज्ञान छ । सधैं जनता र पार्टीको कामप्रति दत्तचित्त उनी कर्मठ नेताका रुपमा चिनिन्छन् । उनै नेता मुकुन्द रिजालसँग स्थानीय निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं पुनः काठमाडौं महानगरपालिका वडा नं. १६ को अध्यक्षमा प्रत्यासी बन्नुभएको हो ?
हो । म काठमाडौं महानगरपालिका वडा नं. १६ मा पुनः नेपाली कांग्रेसको तर्पmबाट अध्यक्ष प्रत्यासी बनेको हुँ । मेरो मात्रै इच्छा र चाहनाले होइन उठेको हुइन । यस वडाअन्तर्गत नेपाली कांग्रेसका अग्रज नेता, कार्यकर्ता र सर्वसाधारण नागरिकको माग र आवश्यकता अनुसार म कामनपा १६ बाट पुनः अध्यक्षको प्रत्यासी बनेको हुँ ।

तपाईं नै दोहोरिएर वडा अध्यक्ष हुनुपर्ने कारण के हो ?
सबैभन्दा पहिलो कुरा यहाँका नागरिकको चाहना हो । त्यसपछि अघिल्लो कार्यकालमा विभिन्न समस्याका कारण हामीले गर्न चाहेका कतिपय कामहरु अधुरा रहे त्यसलाई परिपूर्ति गर्न हो । किन भने हाम्रो देशमा एउटा समस्या छ । त्यो जति अघिल्लो कार्यकालमा जति राम्रो कामको थालनी भएपनि अर्को कार्यकालमा व्यक्ति परिवर्तन हुनेबित्तिकै त्यसलाई थाती राख्ने चलन छ ।

त्यो हुँदा विकासयोग्य धेरै कामहरु धेरै रहेका छन् । हाम्रो अघिल्लो कार्यकालमा धेरै राम्रा कामको थालनी भएको छ । कतिपय पुरा भएका छन्, गर्न बाँकी छन् । त्यो पुरा गर्न पनि यहाँका नेता, कार्यकर्ता र सर्वसाधरण नागरिकले तपाईं नै दोहोरिनुपर्छ भन्ने इच्छा राखेकाले नै म पुनः उम्मेदवार बनेको हुँ ।

पाँच वर्षे कार्यकालमा तपार्इंलाई काम गर्न केले छेकेको थियो र ?
हाम्रो मुलुक संघीय संरचनामा गएपछिको पहिलो स्थानीय सरकार थियो । त्यसको लागि स्थानीय कानुन बनाउनै एक डेढ वर्ष लाग्यो । त्यसलगत्तै विश्व मानव सभ्यतामाथि प्रश्न चिन्ह खडा गर्ने गरी कोरोना कहरले मुलुक आक्रन्त बन्यो ।

जनप्रतिनिधिहरु त्यसबाट जनता जोगाउन विभिन्न जनचेतनाका काम गर्ने, स्वास्थ्य सामाग्री वितरण, राहतवितर जस्ता काममा व्यस्त हुनुपर्दा विकास निर्माणका कामहरु अलमलियो । त्यसका बाबजुद पनि काम गर्न खोज्ने जनप्रतिनिधिलाई नियमित बजेटभन्दा बाहेक नयाँ काम गर्न महानगर प्रमुख एमालेको भएको र हामी कांग्रेसको भएकाले रोकियो ।

त्यसलाई चिरेर पनि हामीले धेरै काम गर्न सफल भएका छौं । केही दीर्घकालीन विकास निर्माण कामहरु थाती रहेका छन् । त्यो पनि छिट्टै सम्पन्न हुने अवस्थामा छन् । त्यसको लागि पनि यस वडाका जनताले मलाई आह्वान गरेका हुन् ।

काठमाडौं विकास निर्माणका खासै काम छैनन् तपाईंका चुनाव जित्ने एजेन्डा के त ?
मेरो खास एजेन्डा भनेको काठमाडौंलाई धुलो, हिलोरहित, वातावरणमैत्री, सुव्यवस्थित, सुशासनयुक्त, सफा, स्वच्छ र हरित शहर बनाउने । त्यसकालागि हरेक टोल–टोलमा सीसीक्यामेरा जडान गर्ने, ट्राफिक जामलाई व्यवस्थित गर्ने, पार्किङको व्यवस्था गर्ने, बालबालिका, जेष्ठनागरिक र अपाङ्कतामैत्री सडक व्यवस्थापन गर्ने ।

वडा कार्यालयलाई नागरिकमैत्री बनाउने, त्यसको लागि जनप्रतिनिधि, कर्मचारीबीच समन्वयकारी भूमिका निर्वाह गर्ने । वडा कार्यालयबाट हुने जनताका कामलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउने । हुने कामलाई ढिलासुस्ती नगर्ने नहुने कामको प्रलोभन नदेखाउने–नपर्ने । दर्ता, सिफारिस जस्ता तत्काल गर्ने । महिला, बालबालिका, जेष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिको कामलाई प्राथमिकता दिनेलगायत छन् ।

तपाईंले त्योसो भनिरहँदा स्थानीय जनप्रतिनिधिहरुले जनचाहनाअनुसार काम नगरेको गुनासा त छन् नि ?
अरु गाउँ, नगर, वडामा के÷कस्ता गुनासा छन् मलाई थाहा भएन । तर, मेरो वडामा जनताका गुनासा होइन उहाँहरुले ‘तपाईं फेरि यस वडाको अध्यक्षमा आएर हाम्रा सबै समस्याको समाधान गरिनुपर्छ’ भनेर मलाई भनिरहनु भएको छ ।

त्यसकारण पनि म भन्न सक्छु मेरो कार्यकालको परिस्थिति, उपलब्ध साधन स्रोत र बलबुताले भ्याएसम्म काम गरेको छु भनेर ।
यसअघि महानगरको मेयर एमालेको भएकाले काम गर्न अप्ठ्योरो भयो भन्नुभयो, यसपालि मेयरलगायत सबै वडा जित्नुहुन्छ ?
त्यसमा त संकै छनै ।

यसपालि काठमाडौं महानगरपालिकाको मेयरलगायत सबैं वडामा हाम्रो गठबन्धनको जित सुनिश्चित छ । त्यो घोषणा हुन मात्रै बाँकी छ । पहिला हामी नेपाली कांग्रेस एक्लै चुनाव लड्दा २५ भोटदेखि बढीमा पाँच सयको अन्तरमा धेरै वडा अध्यक्ष हारिएको थियो ।

त्यसमा अहिले गठबन्धनका साथीहरु आइसकेपछि महानगरसहित सबै वडाका सबै साथीहरुको जित सुनिश्चित भइसकेको हामी दावीका साथ भन्न सक्छौं । अघिल्लो चुनावमा हामीले हारेका ठाउँमा ठूलो मतान्तर भनेको पाँच सय हो । अरु वडामा २०, २५, ५० र कतै पाँच भेटलेसमेत हामी पछाडि परेका थियौं । यसलाई आँकलन गर्दा हाम्रो जित भइसकेको खाली मत गन्न मात्रै हो ।

गठबन्धनभित्र पनि असन्तुष्टिको बाढी चलेको छ त यहाँ इमान्दारपूर्वक भोट आउँछ भनेर कसरी दावी गर्ने ?
काठमाडौं महानगरपालिकामा गठबन्धन्धभित्र कुनै मनमुटाभ र असन्तुष्टि छैन । यहाँको गठबन्धन इमान्दारपूर्वक चुनावी अभियानमा लागिपर्ने छौं । अबको एजेन्डा भनेको कुनै सैद्धान्तिक लडाइँ भन्दा आर्थिक समृद्धि हो । अब काठमाडौंलाई विश्वको नमुना शहर बनाउने अभियानमा हामीहरु जुटिसकेका छौं ।

सधैं राजनीतिक क्रान्तिले मात्रै हामीले सोचेजस्तो परिवर्तन आउँदैन । अहिलेको युग भनेको आर्थिक क्रान्तिको हो । त्यसको लागि स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिलगायतलाई कसरी आर्थिक क्रान्तिसँग जोड्ने भन्ने मूल विषय हो ।

त्यसको लागि सामाजिक सुरक्षा, फुटपाथ, ट्राफिक जामको समस्या, व्यवस्थित शहर र प्रदुषणमुक्त शहर निर्माणका कुराहरु लिएर चुनावी अभियानमा लागेका छौं । यो गठबन्धन खाली चुनाव जित्नका लागि मात्रै होइन । काठमाडौं महानगरलाई विश्वको नमुना नगर बनाउने गरी सुन्दर, प्रदुषमुक्त, हरितयुक्त, वातावरणमैत्री र स्वच्छ, सफा, हराभरा र मानव बस्नयोग्य शहर निर्माणका निमित्त हामीहरुले गठबन्धन गरेका हौं ।

अहिले सरकारी शिक्षालयहरु ओझेलमा परे स्थानीय सरकारले पनि खासै ध्यान दिएनन् भन्ने गुनासो छ नि यसलाई कसरी व्यस्थित गर्नुहुन्छ ?
त्यसको लागि सरकारी विद्यालयहरुको पढाइलाई गुणस्तरीय बनाउने । निजी विद्यालयहरुलाई व्यवस्थित गर्ने । त्यसबाट सरकारी निजी विद्यालयहरुलाई समान हैसियतको पढाइमा स्तरोन्नति गरी गुणस्तरीय, सीपमुलक र जनउत्तरदायी शिक्षा आजको आवश्यकता हो ।

यसो भनिरहँदा फेरि सामुदायिक विद्यालयहरु सबै कमजोर छन् भन्न खोजिएको होइन । निजीजत्तिकै राम्रो, व्यवस्थित सामुदायिक विद्यालयहरु पनि धेरै छन् । शिक्षालाई व्यापारमुखी नभएर सेवामुखी बनाउनुपर्छ भन्ने अभिप्रायका साथ हामीहरु अगाडि बढेका छौं ।

स्वास्थ्य संस्थाहरु सेवामुखी हुनुपर्नेमा व्यापारमुखी भए भन्ने गुनासो छ के भन्नुहुन्छ ?
स्वास्थ्य संस्था नितान्त सेवामुखी हुनुपर्छ । सबैको पहुँचमा हुनुपर्छ । पैसा नभएकै कारणले उपचारबाट बञ्चित भएर ज्यान गुमाउन वाध्य हुनुहुँदैन । चाहे सरकार होस् चाहे निजी सबै नागरिकको लागि पहुँचमा हुनुपर्छ । त्यसैले स्वास्थय व्यापारमुखी नभएर सेवामुखी हुनुपर्छ । सबैको पहुँमा हुनुपर्छ । सबैले नागरिकले उपचार पाउनुपर्छ भन्ने एजेन्डाका साथ हामीहरु अगाडि बढेका छौं ।

तपाईंको वडा नेपालको पर्यटकीय हब मानिन्छ त्यसबलाई व्यवस्थित गर्न कस्तो योजना बनाउनुभएको छ ?
नेपालको आर्थिक समृद्धिमा गतिलो खम्बामध्ये पर्यटन क्षेत्र पनि एक हो । त्यसको लागि पर्यटकमैत्री वातावरणको आवश्यकता छ । जसमा शान्तिसुरक्षा, व्यवस्थित पर्यटन गन्तव्य, स्वच्छ, सफा, हरियालीयुक्त वातावरण बनाउन हामी लागिपर्ने छौं । पर्यटन व्यवसायलाई सुरक्षित, व्यवस्थित र विश्वासनीय बनाउन हाम्रो योदान रहने छ ।

पर्यटकका आकर्षणका केन्द्र भनेको काठमाडौंका पुरातात्विक कला, संस्कार, संस्कृति, रितिरिवाज, मठमन्दिर पनि महत्वपूर्ण मानिन्छन् । तिनलाई पुनर्संरचना, संरचना र व्यवस्थित गर्ने हामीले प्रण गरेका छौं । होटल व्यवसायलाई मर्यादित, व्यवस्थित र विश्वासनीय बनाउन अभिप्रेरित गर्ने छौं । अन्य व्यापार, व्यवसाय गरेर जीवीकोपार्जन गर्नेहरुको लागि पनि लगानीयोग्य वातावरण निर्माणमा लागिपर्ने छौं ।

सामाजिक सुरक्षाका विषयमा के गर्दै हुनुहुन्छ ?
सामाजिक सुरक्षाका विषयमा भन्नुपर्दा अहिलेसम्म हामीले जेष्ठनागरिक, एकल महिलालाई मात्रै भत्ताको व्यवस्था गरेका थियौं । अब हामीले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था हुनुपर्छ भनेका छौं ।

कम्युनिस्टले गर्न नसक्ने कांग्रेसले गरेर देखाउने के त्यस्ता काम छ ?
नेपाली कांग्रेस घर बनाउने काम गर्दैन । जे बोल्छ त्यो गर्छ, जे गर्छ त्यो बोल्छ । हामीले विष्णुमतिमा ढुंगा चलाउने कुरा गरेका छैनौं । सपनाको संसार देख्ने परिकल्पना गरेका छैनौ ।

खानेपानीको व्यवस्थापन गर्ने । जसको लागि पुराना पाइपहरुको सरसफाइ तथा पुनर्संरचनाको आवश्यक छ । अहिले काठमाडौंमा चराचुरुङ्गीहरु नबाच्ने अवस्थामा पुगिसकेका छन् । त्यो किन भयो भन्दा रुख रोप्ने काम गरिएन । सार्वजनिक स्थलहरुमा भएका रुखहरु सबै काटिए । भएका सार्वजनिक स्थलहरु साँघुरिँदै गए ।

ती पन्छीलाई समेत बस्न योग्य काठमाडौं बनाउने नेपाली कांग्रेसको रहर हो । पशुपन्छी, चराचुरुङ्गीले पानीखाने, बस्ने ठाउँ छैन । तिनको व्यवस्थासमेत काठमाडौं महानगरपालिकाले गर्छ भन्ने ठहरसहित गठबन्धन गरिएको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । त्यसको लागि ‘जसको नेतृत्व उसको नीति’ भन्ने नारालाई सार्थक बनाउन हामीहरु लागिपरेका छौं ।

काठमाडौंलाई सुन्दर बनाउने काम करिडोरले गरेको छ, त्यो काम त कम्युनिस्टहरु हामीले गरेको भन्छन् नि त्यसमा के भन्नुहुन्छ ?
बागमती, विष्णुमति लगायतका शाखा नदीहरुमा करिडोरको निर्माण गर्ने अवधारणा नेपाली कांग्रेसका नेता काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहले ल्याउनुभएको हो । पीएल दाइको पालामा पनि म काठमाडौं महानगरपालिकामै थिएँ । त्यसैबेला नदी छेउका सार्वजनिक जग्गामा कोरिडोर बनाउनुपर्ने अवधारणा तत्कालीन मेयर पीएल सिंहले ल्याउनुभएको हो ।

त्यसको व्यवस्थापन हामीले गरेका हौं । त्यो कुरा हामी गौरवका साथ भन्छौं । पहिला काठमाडौंवासीका घर, आँगनलाई सडक बनाइयो, त्यसलाई पीच गरियो । त्यसको विरोध स्वरुप हामीले नदी छेउका सार्वजनिक जमीनको उपयोग गरेर करिडोर बनायौं । काठमाडौंको ट्राफिक जामलाई व्यवस्थित गर्नुपर्छ भनेर हामीले पीएल दाइको नेतृत्वमा करिडोरको परिकल्पना गरेका हौं ।

त्यही काम अहिले सम्पन्न भएको हो । हामीले थालनी गरेकोबाहेक एककिलोमिटर बाटो बनेको मलाई थाहा छैन । त्यसैले यी काम नेपाली कांग्रेसका नेता पीएल सिंहको पालामा थालनी भएको हो । कम्युनिस्ट साथीहरु आउँदा पनि ती काम निरन्तर भइरहे अहिले पुरा भएका छन् ।

त्यसकारण उहाँहरुले हामी गरेको भन्नुभएको होला । त्यसको सुरुआत पनि हामीले गरेका हौं र सम्पन्न पनि हामीले नै गरेका हौं । बाँकी रहेका ठाउँमा पनि अब कांग्रेसले पुरा गर्छ । सुनधाराको धरहरापनि इन्जिनियर, डकर्मी, सिकर्मीहरुले बनाए तर नाम त भीमसेन थापाको आउँछ नि अहिलेपनि ।

त्यस्तै करिडोर पनि बीचमा ज–जसको सरकार भएपनि परिकल्पना र थालनी पीएल सिंहको हो । उहाँका पालामा थालनी भएका धेरै राम्रा कामहरु त कम्युनिस्ट साथीहरुले लुकाएर राख्नुभएको छ । त्यसैगरी काठमाडौंमा मेलम्चीको पानी ल्याउने अवधारण नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले ल्याउनुभएको हो ।

अहिले सम्पन्न भएर काठमाडौंलगायत उपत्यकावासीले उपभोग गर्न योग्य भएको छ । बीचमा आएका वापन्थी सरकारबाट बरु त्यसलाई अलमल्याउने काम भयो । अहिले सञ्चालन भइसकेको छ ।

अध्ययन र रोजगारीको सिलसिलामा विदेसिने युवालाई नेपालमै रोक्न के गर्नुपर्छ ?
नेपाली कांग्रेसले स्कुल, कलेज खोल्ने काम ग¥यो तर त्यसभित्र व्यापार कहिल्यै गरेन । अब काठमाडौं महानगरपालिकाले नै टेक्निकल कलेज खोज्नुपर्छ । इन्जिनियरिङ कलेजहरु खोल्नुपर्छ । महानगरीय सहकारी बैंक वित्तिय संस्थाहरु चलाउनुपर्छ । व्यवसायिक शिक्षाको लागि महानगर आफैले सीप मुलुक टेक्निकल विश्वविद्यालय खोल्नुपर्छ ।

त्यसमा नगरवासी युवाहरुलाई निःशुल्क सीपयुक्त तालीम तथा व्यवसायिक शिक्षा उपलब्ध गराउनुपर्छ । बालाजु औद्योगिक क्षेत्रमा स्वीस सरकारले टेक्निकल इसाइन्स विद्यालय चलाएको थियो । पीएल दाइको पालामा महानगरपालिकाले चलाउनुपर्छ भनेका थियौं ।

त्यसैगरी महानगरपालिकाले अस्पताल खोल्नुपर्छ । काठमाडौैंवासीलाई पाँच भागमा वर्गिकरण गरी आर्थिक अवस्थाअनुसार निःशुल्क स्वास्थ्य सेवा दिनुपर्छ । सम्भावनाको खोजीमा विदेशिने युवाहरुलाई काठमाडौंमै रोकेर व्यवसायिक सीपयुक्त शिक्षाद्वारा रोजगारमुखी बनाउनुपर्छ ।

अहिले नेपालमा बसेर विश्वका कुनाकाप्चामा आइटीमार्पmत काम गर्न सकिन्छ । गाउँगाउँबाट सुन्दर भविष्यको खोजीमा काठमाडौं पसेका युवाहरुलाई मेरो भविष्य, मेरो, घर, मेरो काठमाडौं भन्ने अनुभूति हामीले चुनाव जितेका केही वर्षमा दिलाउँछौं । त्यो काम नेपाली कांग्रेसले गरेरै छाड्छ ।

सम्बन्धित समाचार

राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
  • २०७९ बैशाख १९, १३: ४४

१.प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१गते जुन नयाँ गठबन्धनको पुनरावृत्तिगर्नु भएको छ, त्यसको पछिल्तिर जेसुकै कारणहरु भए पनि एउटा कारण दिइएको...

भारत–नेपाल साँस्कृतिक सम्बन्ध मनाउन पोखरामा ओडिसी नृत्य
भारत–नेपाल साँस्कृतिक सम्बन्ध मनाउन पोखरामा ओडिसी नृत्य
  • २०७९ बैशाख १९, १३: ४४

काठमाडौं । भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै...

जेष्ठ वर्ण महाविहार भवन उद्घाटन
जेष्ठ वर्ण महाविहार भवन उद्घाटन
  • २०७९ बैशाख १९, १३: ४४

ललितपुर । ऐतिहासिक शहर ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवनको शहरी विकास मन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत...