समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ… – Naya Bikalpa
May 16, 2024, Thursday

समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…

१. नयाँ वर्ष फेरि सुरु भयो २०८१ । गयो २०८० साल नेपाली पात्रोमा । यस्ता धेरै पात्राका पानाहरु परिवर्तन हुँदै आएका छन् । त्यसो त प्रत्येक दिन नयाँ हुन्छ । प्रत्येक पल नयाँ हुन्छ । यस्तै हामीले समयलाई पात्रोमा समेटेकोले दिन गन्तीका आधारमा समयको गणना गरेका हुन्छौँ ।

समय त समय हो , न त यो कसैको नियन्त्रणमा हुन्छ, न त यसले कसैलाई पर्खन्छ या न त कसैलाई यसले कुनै पुरस्कार दिएर जान्छ, न त कसैलाई कुनै दण्ड दिएर फर्कन्छ । तर समयको निश्चितता दिन हामीले निमेष, विपला, पला, घडी , दिन, सप्ताह, पक्ष, महिना, वर्ष, दशाब्दी, युग, शताब्दी आदि नामले त्यसको गणना गरिरहेका हुन्छौँ ।

अझ घडीको आविष्कार भएपछि हामीले समयलाई सेकेन्ड, मिनेट, घन्टाका हिसाबले समयलाई आफ्ना प्रयोगका लागि वितरण गरेका छौँ र त्यसै तरिकाले आजको समय चलिरहेको छ । त्यसक्रममा इस्वी २०२४को गणनामा छ, विक्रम सम्बत् २०८१मा प्रवेश गरेको छ, त्यस्तै नेपालको मौलिक सम्बत् नेपाल सम्बत् ११४४मा चलिरहेको छ । त्यस्तै संसारमा प्रचलित गणनाका अनेक सम्बत् , अनेक नाममा चलिरहेका छन् । सबैको काम समयको मापन हो ।

२. नेपालको समय मापनमा दुई प्रकारको तरिका सँगसँगै अपनाइएको छ । सौर्यमास र चान्द्रमासको चलन । वैशाख, जेठ, असार आदि महिनाको गणना सौर्यमासको प्रत्यक्ष आधारमा गरिन्छ ।प्रत्येक महिनाको गतेको आधारमा र राशिको आधारमा महिनाको अनुमानित गुण दोषको गरिने गणनाले सौर्यमासको रुपमा मानिएको छ भने तिथिको आधारमा गरिने सांस्कृतिक कार्यको भने चान्द्रमासको आधार गणना गरिएको छ ।

हामी जन्मदिन मनाउँदा सामान्यतः सौर्यमासका आधारमा मनाउँछौँ जस्तो कि कोही कुन महिनाको कति गते जन्मिएको हो ? तर हिन्दू वैदिक परम्परा मान्नेहरुले भने तिथिको आधारमा अष्ट चिरञ्जीवीको पूजा गरेर मनाउने चलन छ । अर्थात् धेरै नेपालीहरुले जन्म दिन दुई प्रकारले मान्ने गरेका छन् सौर्यमासका आधारमा र चान्द्रमासको आधारमा ।

विक्रम सम्बत् साधारणतया सौर्यमास र चान्द्रमास दुवैको समिश्रणबाट तयार भएको मानिन्छ भने नेपाल सम्बत्माचाहिँ बढी चान्द्रमासको प्रभाव देखिन्छ भनिन्छ । तर दुवै सम्बत् या भारतमा समेत प्रचलनमा रहेका अनेक सम्बत्को आधार वैदिकरुपमा विकसित ज्योतिष शास्त्रका आधारमा हुनुपर्छ । छ ।

३.हामी नेपालीले भने अनेक सम्बत्को अभ्यास गरिरहेका छौँ किनभने नेपालमा नयाँ वर्षका कतिओटा विदा दिइरहेका हुन्छौँ । विभिन्न जातिको परम्परागत मनाइने नयाँ वर्षको अवसर या लोसारको अभ्यासले त्यही सन्देश दिइरहेको छ ।

४. नेपाल भौगोलिकरुपमा धेरै ठुलो देश नभए पनि यहाँको परम्परागत शैली र हजारौँ वर्षदेखि बस्ने बासिन्दाहरुको चलनका आधारमा हामी धेरै धनी संस्कृतिका मुलुक हौँ । हामीले प्रचलनमा ल्याएका सम्बत्हरुमध्ये , कुनै सम्बत्ले तिब्बती परम्पराको निरन्तरताको सन्देश दिएको छ भने कुनै परम्पराले वैदिक संस्कृतिको निरन्तरताको सन्देश दिएको छ ।

नेपालको दैनिक प्रयोगमा भने आधुनिकरुपमा विकास गरिएको वैदिक संस्कृतिभित्रको नयाँ परिमार्जनले गरेको पाइन्छ । त्यसो त आफ्ना परम्पराका आधारमा गरिने सम्पूर्ण सांस्कृतिक प्रक्रियाको पनि उत्तिकै प्रभाव छ ।

५. यहीक्रममा विभिन्न उदाहरणले अहिले नेपालमा र भारतका केही प्रान्तमा विक्रम सम्बत् लागू भएको पाउँछौँ । भारतमा तर अंग्रेजी शासनको निरन्तरताका लागि गणनामा इस्वी सम्बत्लाई नै आधिकारिकता दिइएको भए पनि हामी नेपालीले विक्रम सम्बत्लाई आधिकारिक सरकारी गणनामा राखेका छौँ र नेपालको संविधानले अरु परम्परागत अनि जनसंख्याका आधारमा मानिने सम्बत्लाई पनि जनताको सहजताका लागि प्रयोगमा ल्याउने भएका छौँ ।

त्यसका लागि जनताका काममा सरलीकरण गर्न मातृभाषामा दैनिक प्रशासनलाई सम्पादन गर्ने गरी काम पनि हुँदैछन् । समयको मागलाई भन्दै जनताको दैनिकीलाई सहजीकरण गर्नु पनि समयको परिप्रेक्ष्यमा उचित नै मानिन्छ ।

६.अहिले नयाँ वर्ष २०८१सुरु भएको छ । हाम्रो यो सम्बत्को काल गणनाका आधारमा कलीयुगको ५१२५सौँ साल हो । कालयुक्त नामको सम्बत्सर यो हो । वैदिक युगमा गरिएको गणनाका आधारमा सृष्टिको हिसाबले यो वर्ष १९५५८८५१२५औँ वर्ष मानिन्छ ।

शालीवाहनीय सम्बत्को आधारमा यो शाके १९४६ हो । यही २०८१मा नै नेपाल सम्बत्ले ११४४को अन्त्य हुने र ११४५ को सुरुवात दुवै भ्याउँछ । संसारका जुनसुकै समयसारिणीमा पनि ६०अङ्कको भने अत्यन्त ठुलो प्रयोग गर्ने अभ्यास पाइन्छ ।

७. र अन्त्यमा, यसपटक २०८०सालको समीक्षा खासै किन गरिन भने यो अर्कोपटक गरौँला तर नेपाली समाजमा २०८०सालले धेरै कुराको छाप छोडेर गएको छ जसको परिणाम अब बिस्तारै राजनीति, प्रशासन, शिक्षा, परराष्ट्र , व्यापार, उद्योग तथा कृषिमा देखिने छ । कुनै प्रभावले पनि दीर्घकालीन असर दिने हुन्छन् भने कुनै प्रभावले देखाउने परिणाम क्षणिक हुन्छन् ।

नेपालमा विकसित घटनाले दीर्घकालीन असर पार्नेगरी छाप छोडेर गएका छन् जसका दुष्परिणाम या सुपरिणाम अब छिटै देख्न, सुन्न र भोग्न पाइन्छ । समयको मार या पुरस्कारका लागि हामी सधैँ तयार भएर रहनु पर्छ नै ।

समयको प्रतीक्षा गर्नुभन्दा हामीसँग अरु कुनै उपाय छैन किनभने समय , समय हो जसको प्रतीक्षाका लागि पनि समय नै पर्खने हो । समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ र प्रत्येक वर्ष पाना पल्टँदा अर्को वर्षको रुपमा गणना गरिन्छ । समय नै पल हो भने समय नै समग्रमा वर्षको सुरुवात र अन्त हो ।

(नयाँ विकल्प साप्ताहिक बाट)

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०८१ बैशाख ४, ११: ४८

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०८१ बैशाख ४, ११: ४८

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०८१ बैशाख ४, ११: ४८

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...