नेपाली काँग्रेसको महासमितिले काँग्रेसीजनमा नयाँ उर्जा देओस – Naya Bikalpa
April 29, 2024, Monday

नेपाली काँग्रेसको महासमितिले काँग्रेसीजनमा नयाँ उर्जा देओस

१. लामो विवाद र प्रयासपछि नेपाली काँग्रेसको महासमितिको बैठक सुरु भएको छ र निर्धारित समयमा समाप्त पनि हुनेछ । कुनै पनि राजनीतिक दलको जीवनमा यो सांगठनिक प्रक्रियाको निरन्तरता हो । तर जुनबेलामा दबाबका साथ यो महासमिति भइरहेको छ, त्यसको प्रभावको अनुमान लगाउन भने अलि कठिन छ ।

२. प्रजातन्त्रको परिभाषा र प्रजातन्त्रवादीको परिभाषामा व्यापक हेरफेर र परिवर्तनका लागि विश्वव्यापी दबाब सुरु भएको यो समय संघारमा नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रको पर्याय बनेको नेपाली काँग्रेसको सांगठनिक स्वरुपमा र भावी कार्यदिशामा आउन सक्ने परिवर्तनलाई कांग्रेसले कति आत्मसात् गर्न सक्छ भनेर पर्यवेक्षकहरु हेरिरहेका छन् ।

३. जीवन्त पार्टीमा बहस, छलफल, विवाद, अन्तर संवाद, अन्तर संघर्ष र अन्तर विरोध हुनैपर्छ तर त्यसको निचोडबाट आउने परिणामलाई भने इमान्दारीसाथ पार्टीभित्र कार्यान्वयन गर्ने चुस्त सांगठनिक प्रणाली हुनु जरुरी छ । स्वरुपलाई भन्दा परिणामलाई सबैले देख्छन् र त्यसको नै चर्चा र परिचर्चा गर्दै कठोर आलोचना वा प्रशंसा गर्ने गर्दछन् । यो कुरा नेपाली कांग्रेसमा पनि लागू हुन्छ र अहिले त्यही भएको पनि छ । त्यही आत्मवञ्चना र आत्मालोचनाको भुमरीमा महासमितिको बैठक आयोजित छ र प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्दै बहस र सुझाव दिइँदै छ । यसलाई एउटा जीवन्त संस्थाको भावी जीवनका लागि अमृत रस हो भनेर नाम दिए पनि हुन्छ ।

४. २००३, २००६,२०१२, २०३३, २०४७, २०५३ र २०६४को विकासक्रमबाट नेपाली काँगे्रस आजको गणतन्त्रात्मक र संघीय स्वरुपमा आउन लागेको हो । जस्तोसुकै सांगठनिक प्रक्रिया अपनाए पनि काँग्रेसको अन्तर्यमा प्रजातन्त्रको सुवास हुनु आवश्यक छ चाहे त्यो विश्वव्यापी मान्यताको शासन प्रणालीको स्वरुपमा होस् या आन्तरिक जीवनको संगठनात्मक परिवेशमा होस् । हिजोका दिनमा प्रजातन्त्रका लागि आफ्ना यौवनका उर्वर दिनहरु कारागारमा बिताउन सक्ने, कुनै लोभ लालचमा नफसी मात्र उज्यालो प्रजातन्त्रको किरणका लागि आफूलाई अन्धकारको गुफामा समेत राख्न सक्ने ती काँग्रेसीजनलाई कसैले प्रजातन्त्रको अर्थ बताउनु पक्कै पनि धृष्टता हुन्छ तर प्रजातन्त्र प्राप्तिपछिका दिनहरुमा देखाएका केही गलत नजिरले अप्रजातन्त्रवादीहरुको बिगबिगी बढ्न पाएकोमा नेपालका प्रजातन्त्रप्रेमी तथा विश्वका प्रजातन्त्रप्रेमीहरु अलमलमा छन् – यो भयो के ?

५. संसारभर प्रजातन्त्रका वारेमा नयाँ बहस सुरु भएको छ—अहिलेको संसदीय अभ्यासको प्रजातन्त्र असफल भएको हो वा समय सापेक्ष हुन नसकेको हो ? या प्रजातान्त्रिक परिपाटीले जनताका आकांक्षाको परिपूर्ति गर्न अक्षम हुन थालेको हो ? या जनताका असीमित आकांक्षालाई सम्बोधन गर्न नसकेको हो ? यदि विभिन्न नमुनाका प्रजातन्त्रले जनताको अपेक्षा जनप्रतिनिधित्वका हिसाबले पूरा गर्न नसक्दाको परिणाम के हुनसक्ला ? त्यस्तो बेलामा कस्तो खालको शासन पद्धतिले जनताका अपेक्षा पूरा गर्नसक्ला ?

६. नेपाली काँग्रेस भनेको नेपालको एउटा दलमात्र होइन, यसको इतिहासले के पनि देखाउँछ भने विश्वमा प्रजातन्त्रका लागि बारम्बार एउटै देशमा आन्दोलन भइरहेका छैनन् तर नेपालमा नै एउटा यस्तो विशेष अवस्था आइरहेको छ, त्यसको लागि अर्थात् प्रजातन्त्र स्थापना, पुनस्र्थापना र विकासका लागि अनवरत आन्दोलित र संघर्षरत दल भनेर वास्तवमा परिचित छ । त्यतिमात्र होइन, आफूलाई कम्युनिस्ट भन्नेहरुलाई समेत प्रजातान्त्रिक मूलधारमा समाहित गर्न सफल दलको रुपमा समेत परिचित छ । तर किन आफ्नो जीवनमा प्रजातान्त्रिक परिपाटीलाई शतप्रतिशत कार्यान्वयन गर्न उदासीन भएको हो ?

७.नेपाली काँग्रेसका राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक प्रतिवेदन र प्रस्तावहरुले विश्व प्रजातन्त्रका लागि केही ठोस आधार दिन सक्छन् कि सक्दैनन् भनेर सबैले हेरिरहेका छन् तर नेपाली काँग्रेस भने साधार सदस्यता र सक्रिय सदस्यता, पार्टी कब्जाको रणनीतिमा रुमलिएको देखिन्छ ।

८. यो महासमितिले संघीय ढाँचामा पार्टीलाई लैजाने छ , भावी दिनमा प्रजातान्त्रिक आन्दोलनको स्वरुप कस्तो हुनेछ भनेर किटान गर्नेछ, मुलुकमा तीन प्रकारका सरकार र ती असीमित अधिकारवाला सरकारलाई स्वअनुशासनमा राख्ने विधिको वारेमा ठोस आधारहरु निर्माण गर्ने बाटो खुला गर्नेछ जसमा सामाजिक न्यायको पाटोले अत्यधिक महत्व पाउने छ । कम्युनिस्टहरु कसरी प्रजातान्त्रिक व्यवस्थामा समाहित हुन पुगे भनेर खुसीमात्र मनाएर पुग्दैन, त्यसको सही अनुगमन गर्न आफू पनि सही प्रजातान्त्रिक मूल्यमा अडिने परम्परा बसाउनु जरुरी छ भन्ने कुरालाई महासमितिले जति स्पष्ट र वस्तुगतरुपमा औँल्याउने छ, कार्यान्वयनको आवश्यक संयन्त्र विकास गर्नेछ, त्यति नै यो महासमितिको सफलता देखिने छ ।

९. हिजोका दिनमा भएका ऐतिहासिक सफलताले आजको प्रतिस्पर्धालाई धान्न सक्दैन । तर आजको दार्शनिक तथा व्यावहारिक बाटो खन्न पक्कै पनि त्यसैले साथ भने दिनेछ । सर्पको मुखमा परेको भ्यागुताले झिँगा खान खोजेझैँ गरी आपसमा अर्थहीन लडार्इँले प्रजातन्त्रको विकासक्रमलाई अवरोध नै पु¥याउने छ । बीपी, गणेशमानजी, गिरिजाबाबु, सुवर्णजी, सुशील कोइराला जस्ताले दललाई एउटा विश्वको अनुपम प्रजातान्त्रिक संस्थाको रुपमा विकसित गरेर गएकोमा अब झन नयाँ नयाँ प्रजातान्त्रिक सिद्धान्तको अनुशीलन पो जरुरी छ त ।

१०. नेपाली काँग्रेसको विरोध र समर्थन गरेर मात्र हुँदैन । सत्तामा नहुँदैमा कुनै दल बिग्रेको वा सप्रेको भन्न मिल्दैन । पार्टी सभापति शेरबहादुर देउबा र वरिष्ठ नेता रामचन्द्र पौडेलेका विरोध वा समर्थनले मात्र प्रजातन्त्रका आवश्यक तत्वहरुको विकास हुँदैन । यदि सबैले बेलैमा समीक्षा गरेर चल्ने बानी बसाउन सके हुन्थ्यो भन्नेचाहिँ भन्नैपर्छ ।

११. र अन्त्यमा नेपाली काँग्रेसलाई के गर्ने भनेर धेरै अर्ती उपदेश दिने बेला यो होइन,बरु प्रजातन्त्रका नयाँ नयाँ आयामहरुको खुलासा गरेर यो भेलाले आफैँलाई आफैँले बाटो देखाउनु चाहिँ आवश्यक छ । महासमितिको यो भेलाले विश्व प्रजातन्त्रका लागि कुनै नयाँ ठोस आधार तयार गर्न सक्यो भने नेपाली काँग्रेस र हाल रनभुल्लमा परेको विश्वको संसदीय प्रजातन्त्रको प्रणालीलाई ठुलै गुन लाग्नेछ । यो कुरालाई काँग्रेसीजनले पनि राम्रैसँग बुझेका होलान् । महासमितिबाट घर फर्कने महासमिति सदस्यहरुले आफूलाई काँग्रेस भएकामा गर्व गर्दै नयाँ शक्ति र स्पूmर्ति लिएर जाऊन् ।

सम्बन्धित समाचार

समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
  • २०७५ पुष २, ०६: २८

१. नयाँ वर्ष फेरि सुरु भयो २०८१ । गयो २०८० साल नेपाली पात्रोमा । यस्ता धेरै पात्राका पानाहरु परिवर्तन हुँदै...

राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
राजनीतिक अस्थिरताबाट कसरी छिटै मुक्त हुने ?
  • २०७५ पुष २, ०६: २८

१.प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१गते जुन नयाँ गठबन्धनको पुनरावृत्तिगर्नु भएको छ, त्यसको पछिल्तिर जेसुकै कारणहरु भए पनि एउटा कारण दिइएको...

यो पनि नबिर्सौँ कि प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हो
यो पनि नबिर्सौँ कि प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हो
  • २०७५ पुष २, ०६: २८

१.पोहोर मंसिर ४ गते भएको निर्वाचन लगत्तै नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र कसले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा...